काठमाडौं । हरेक वर्ष मार्च १५ मा विश्वभर उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ । नेपालले पनि विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । देशमा उपभोक्ता अधिकारका कुरा जति नै गरेपनि हरेक क्षेत्रमा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । उपभोक्ता सधैं अधिकारबाट बञ्चित भइरहेका छन् ।
सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गर्नुभएको थियो । त्यसैको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ ।
नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख गरेको छ । गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था गरेको छ । विश्व उपभोक्ता दिवस मनाइरहँदा नेपालमा भने उपभोक्ता सधैं ठगीमा पर्ने गरेको पाइएको छ । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैं मारमा पर्ने गरेका समाचारहरू सार्वजनिक भइरहेका हुन्छन् । स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो । राज्यको नीतिअन्तर्गत अर्थ उद्योग र वाणिज्यसम्बद्ध नीतिमा कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना तथा प्रतिस्पर्धा नियन्त्रणजस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्र्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेको गुनासो गर्दै उपभोक्ताले मूल्य तिरे अनुसारको सेवा, गुणस्तरीय सामान पाउनुपर्ने अधिकारबाट बञ्चित हुन परेको छ ।
कानुनमा स्पष्ट व्यवस्था गरिएकोमा पनि कार्यान्वयनको पक्ष सुदृढ हुन सकेको छैन । उपभोक्ता अधिकार र क्षतिपूर्तिको कार्यान्वयन कमजोर रहेको छ । बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा वित्तीय संस्था, खाद्यान्नलगायत वस्तु तथा सेवा लिने क्रममा ठगी बढ्दै गएको छ भने उपभोक्ता हित संरक्षण विभागबाट बजारको व्यवस्थापन, अनुगमन र नियमन हुने भए पनि सक्रियता देखिदैन । अझ चाडपर्वको बेला उपभोक्ता अझ बढी मारमा पर्ने गरेको पाइन्छ ।