• मंसिर ११ २०८१, मंगलवार

७५ हजार तिरेर छुटे विन्दवासिनी म्यूजिकका मालिक सुवास रेग्मी

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौं । विन्दवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा छुटेका छन् । विद्युतीय कारोबार ऐन-२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतले तोकेको धरौटी रकम तिरेर उनी रिहा भएको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए ।

थाइल्याण्डबाट नेपाल आउँदै गर्दा फागुन ८ मा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । रेग्मी विरुद्ध सांगीतिक क्षेत्रका महेशचन्द्र आचार्यले जाहेरी दिएका थिए । आचार्य गीत रचनाकार हुन् ।

रेग्मीले सामाजिक सञ्जाल (फेसबुक)मा समग्र स्रष्टा विरुद्ध घृणा फैलाउने सामाग्री पोष्ट गरेको आचार्यको आरोप छ । दिवंगत कलाकारहरुलाई पनि रेग्मीले होच्याएर पोष्ट गरेको र कलाकारहरुलाई जनावरसँग तुलना गरेर पोष्ट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आचार्यलाई पनि आरोपीले जनावरसँग तुलना गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । काठमाडौँबाट सञ्चालित एक अनलाइनमा आफ्नो संस्थाबारे ‘घुस्याहा संस्था’ भन्दै नकारात्मक लेख प्रकाशित भएपछि आवेगमा त्यस्तो पोष्ट गरेको रेग्मीले प्रहरीसँगको बयानमा बताएका छन् । उनले भनेका छन्-‘ती पोष्ट मैले पछि हटाइसकेको छु ।’