• फाल्गुन २६ २०८१, सोमबार

माओवादी केन्द्रको पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान अलपत्र

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौं । देशकै तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को दुई महिने पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान अलपत्र परेको छ । सत्ताको बागडोर सम्हाल्न, गठबन्धन तोड्न र जोड्नमा व्यस्त माओवादी केन्द्रको दुई महिने उक्त अभियान अलपत्र परेको हो ।

२०६४ सालको निर्वाचन यता आकार घटाउँदै गएपछि माओवादी केन्द्रलाई पुरानै आकार ग्रहण गर्न निकै हम्मेहम्मे परेको छ । उसलाई आगामी निर्वाचनहरूमा अस्थित्व जोगाउन समेत मुस्किल पर्ने देखिन्छ ।

यहीँ मुस्किलतालाई नजिकबाट बुझेका प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थित्व रक्षाका लागि नेकपा (एमाले)सँग दलगत एकता नगरेका होइनन् । तर, सत्ता र शक्तिको लिप्साले एमाले–माओवादीको एकता दीर्घजीवी बन्न सकेन ।

त्यसपछि भर्खरै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रले देशका ७७ वटै जिल्लामा दुई महिने पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । गत माघ २९ मा बसेको पार्टी स्थायी समिति बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको थियो ।

उक्त अनुसार पार्टीका शीर्ष नेताहरू स्वयं फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरू बस्ने र रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको थियो । त्यस्तै गत निर्वाचनमा अन्तर्घात भएको भन्दै जनतामाझ पुगेरै रिपोर्ट तयार गर्ने समेत बैठकले निर्णय गरेको थियो । पार्टीले गरेको निर्णय बमोजिम दुई महिने अभियानलाई फागुनदेखि चैतसम्म निरन्तरता दिने भनिए पनि शुरुवात नै गरिएको छैन ।

माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि बैठक जारी छ । विशेषगरी सुदूरपश्चिम र मधेस प्रदेशमा पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान सञ्चालनका लागि उसले यो अभियान चलाउने निर्णय गरेको थियो । सोही बमोजिम फागुन र चैत महिनाभित्रै उक्त अभियान चलाइ सक्नुपर्ने छ ।

तथापि माघ २९ को निर्णय यता माओवादी केन्द्रले सत्ताको बागडोर सम्हाल्नुपर्ने बाध्यता र गठबन्धन फेरबदलको कोभाजनमा पर्नुले यो अभियान अलपत्र परेको देखिन्छ । तर, दुई महिने सो अभियान पार्टीले सञ्चालन गर्ने उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उनी भन्छन्, ‘पार्टी विस्तार र संगठन सुदृढीकरणका लागि पार्टीले देशव्यापी अभियान चलाउने छ । त्यसका लागि पार्टीभित्र केही प्राविधिक कठिनाइ नभएको होइन, त्यसलाई हाम्रो पार्टीले हल गरिसकेको छ । अब यो अभियान लिएर हामी जनतामाझ जान्छौँ ।’

अभियान अलपत्र पर्नुको कारणबारे माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भन्छन्, ‘हाम्रो पार्टीले सत्ताको मुख्य नेतृत्व गर्नुपर्ने मौका पाएको बेला अध्यक्ष कमरेड प्रचण्ड व्यस्त हुनुभयो । त्यसयता हामीले पार्टी भित्रको छलफललाई केही मथ्थर गरेका मात्रै हौँ । यद्यपि दुई महिने अभियानको एक महिनालाई गुग्रिसकेको छ । तर, समय थपेर पनि यो अभियानलाई हामी सार्थकता दिन्छौँ ।’

शीर्ष नेताले सत्ता सम्हाल्नुलाई दोष दिए पनि दुई महिने अभियानप्रति माओवादी केन्द्रका नेता नै इच्छुक देखिँदैनन् । यसको संकेत हो, पार्टी उपमहासचिव मातृका प्रसाद यादव नै बैठकमा उपस्थित नहुनु ।

माओवादी केन्द्र मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा यादव उपस्थित भएनन् । मधेस प्रदेशमा विवाद हुँदा प्रदेश कमिटीसमेत बन्न सकेको छैन । प्रदेशका इञ्चार्ज गणेश साह बाहेक अरू केही सदस्य थप गरएको छ ।

मधेसका अधिकांश जिल्ला र स्थानीय तहमा नेतृत्व नहुँदा माओवादी केन्द्र कमजोर बन्दै गएको छ । जसले गर्दा संघीय संसदमा माओवादीको उपस्थिति शून्य छ । मधेस नेताहरूको विवादले गर्दा दुई महिने अभियान प्रभावित बनेको छ । अभियान छिट्टै सञ्चालन गरेर प्रदेश, जिल्ला र स्थानीय तह कमिटीलाई पूर्णता दिने माओवादी केन्द्र मधेस प्रदेश कमिटीले तयारी गरेको छ ।

माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने अभियान अन्तर्गत पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान चैत शुरु हुन एक दिन बाँकी रहँदा पनि सुरसार छैन । तथापि यो अभियान सञ्चालनका लागि एक महिना अगाडि नै निर्णय भईसकेको थियो ।