• मंसिर १७ २०८१, सोमबार

अमेरिकी नागरिकसहितबाट ३९ करोड ठगी प्रकरणमा पृथ्वी शाहसहित ६ जना जेल चलान

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौं । शंकास्पद कारोबार गरेको आरोप लागेका अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो। जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन् ।

प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् । फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् ।

उनीहरुले ठगीबाट आर्जित गरेको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ। उनीहरुबाट कूल ५६ जना ठगीमा परेको मध्ये २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत् उजुरी दिएका छन्। केही क्यानेडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ। पीडितले आफूहरुको २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी भएको बताएका छन् ।

उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए। ठगीमा पर्नेहरुमा प्रायः बृद्धबृद्धा रहेको खुलेको थियो।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सीआईबीको अनुसन्धानमा उल्लेख गरिएको छ।