• असार २२ २०८१, शुक्रबार

विद्यालयको वार्षिक उत्सवमा मासिक फी १० हजारदेखि ८० हजारसम्मका कुरा

फाल्गुन २८ २०७९, आईतवार

घोराही । राम्रो विद्यालयमा पढाउन सकिनँ भन्ने धेरै अभिभावकमा पीर छ । बाबा आमाले मलाई पढाइ खर्च दिएनन् भन्ने बच्चाहरुमा चिन्ता छ । शिक्षामा व्यापारीकरण भयो, अभिभावकलाई लुटे अगुवाहरु भन्ने गर्छन् । यस्तो कठिन अवस्थामा प्याब्सनका नेताहरुले मन्तव्यका क्रममा पढाई खर्चको हिसाब सुनाए ।

म माघ १४ गते मेरील्याण्ड पब्लिक एकेडेमी घोराही-१३ को दोस्रो वार्षिक उत्सवमा समाचार संकलनका लागि पुगेको थियो । संयोगले निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन) दाङका अध्यक्ष मधुसुधन केसीले बच्चाको पढाई खर्च बारे बोल्दै गरेको बेला पुगेछु । उहाँले विद्यालय पुगेपछि लेखापालसँग हिसाब मागेको भन्दै मन्तव्यमा सुनाउनु भयो । उहाँका अनुसार त्यस विद्यालयमा नर्सरीमा पढ्ने बच्चाको मासिक फी एकहजार एक सय रुपैयाँ रहेछ ।

उहाँले सुनाउनु भयो,‘यति शुल्क तिरेवाफत् ३० दिनसम्म तपाईंको बच्चा स्याहार सुसारको जिम्मा विद्यालयलाई हुन्छ । बच्चाको उज्वल भविष्यको जिम्मा पनि लिनुपर्छ । एक दिनको करीब ३७ रुपैयाँ पर्न आउँछ । व्याचलर्स वा माष्टर्स पढेका शिक्षकले न्यूनतम ६ घण्टा विद्यार्थी स्याहार गर्नुहुन्छ । त्यसो गरेवाफत् प्रतिघण्टा ६ रुपैयाँ तपाईंले तिर्नुभएको छ । बजारका सार्वजनिक शौचालयमा जानुभयो भने, एक पटकको १० रुपैयाँ तिनुहुन्छ अनि कसरी भयो महँगो ?’

उहाँ बोलिरहँदा सैयौँ अभिभावक शान्त भएर सुनेका देखिन्थे । त्यही शैलीमा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २२औँ वार्षिक उत्सवमा पनि उहाँले हिसाब निकाल्नु भएको थियो । माघ ११ गते घोराही-१४ स्थित बहुउद्देश्यीय सभागृहमा भएको भव्य समारोहमा केसीले सुनाउनु भयो, ‘नर्सरीमा पढ्ने एकजना विद्यार्थीको एक हजार चार सय फी तिर्नुपर्दो रहेछ । तपाईंको बच्चा विद्यालय पठाएको दैनिक ४६ रुपैयाँ तिर्नुपर्छ । उसलाई विद्यालयमा एम.ए पास गरेका शिक्षकले कम्तीमा ६ घण्टा स्याहार सुसार गनुहुन्छ । उहाँहरुलाई एक घण्टाको करीब आठ रुपैयाँ लगानी गर्नुहुन्छ । यसलाई कसरी महँगो भन्नुहुन्छ ?’ उहाँले थप्नुभयो, साँझ बिहान र विदाको दिनमा आफूसँग बच्चा रहँदा कति दुःख दिएको भन्नुहुन्छ ।

हामी कहाँ पठाईदिए पछि दिनभरी हाईसक्क पर्नुहुन्छ । महँगो कसरी भयो ?’ उहाँले यसो भनेपछि आफै भित्र नघोत्लिने कोही पनि नभए जस्तै शान्त थियो । यसरी बोल्दा सुन्नका लागि आठ सय कुर्सी अटाएको एक हजारे क्षमताको सभाहल भरीभराउ थियो । त्यहाँ वक्ताहरु पनि धेरै थिए । उहाँको मन्तव्यलाई कसैले पनि खण्डन गरेनन् । उहाँले थप्नुभएको थियो, ‘यही घोराहीमा मासिक १० हजार शुल्क लिने विद्यालय पनि छन् । नेपालमा मासिक ८० हजार रुपैयाँ फी लिने विद्यालय पनि छन् ।’

यो कुरा मलाई नौलो पनि लाग्यो । त्यसै दिनदेखि म विद्यालयहरुले असुल्ने शुल्क बारेमा घोत्लिन थालेको हुँ । यसरी आफूहरुलाई लुटेको आरोप लाग्ने गरेकोप्रति नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्दले पनि उसैगरी खण्डन गर्नुभयो । उहाँले लालिगुराँस बोर्डिङ स्कुल घोराही-१८ को १८औँ वार्षिकोत्सवका दिन माघ १२ गते भन्नुभयो ।

‘मैले यहाँको लेखालाई मासिक फी कति लिनुहुन्छ भनि सोधेँ । कक्षा नर्सरीमा एक हजार एक सय र कक्षा १० मा तिन हजार तिन सय रुपैयाँ मासिक फी लिन्छौँ भन्नुभयो । यसलाई भाग लगाएर प्रति घण्टामा लैजाँदा नर्सरीको ६ रुपैयाँ र १० को १० रुपैयाँ आउँछ । त्यही रकमले विहानदेखि साँझसम्म विद्यार्थीलाई विद्यालयमा राख्नुपर्छ । तपाईंको बच्चालाई बसमा विद्यालयमा ल्याउनुहुन्छ । घर नजिक लगेर छोड्नु हुन्छ । दिनभरीको जिम्मा लिनुहुन्छ । बच्चाको भविष्य बनाउने जिम्मा लिनुहुन्छ । उसको जिन्दगी बनाउने अविभारा विद्यालयको हुन्छ । यति रुपैयाँ कसरी महँगो भयो ? निजी विद्यालयहरुले ब्रम्हलुट गरेको कसरी ठहर्छ ?’ उहाँको हिसाबले पनि मानिसलाई गम्भिर बनाएको देखिन्थ्यो ।

उहाँले सुनाएकोे विद्यालयले असुल्ने फीको वास्तविक हिसाब थियो । यसपटक धेरै विद्यालयमा वार्षिकोत्सव मनाउने पुगियो । गेटदेखि नै बेलुनहरुले सिंगार्नेदेखि ध्वजापताका टंगाउने र विद्यालय रंगाउने गरेको देखियो । कतिपय विद्यालयले सजावटमा मनग्य खर्च गरेको जस्तो लाग्थ्यो । बालबालिकालाई अनेक खेलमा पुस्कार दिइएको थियो ।

त्यो इतिहास हो । अझ नियमित विद्यालय आउने शिक्षक विद्यार्थी, सरसफाई स्वच्छतामा उत्कृष्ठ, अनुशासित, स्मार्ट स्टुडेन्ट लगायतका अनेक उपाधीले सम्मानित गरेको देखियो । यसले पनि विद्यार्थीको व्यक्तित्व विकास र अभिभावकको खुशीलाई उचाई दिएको महशुस भयो । सबै विद्यालयले यसरी नै सम्मान गर्ने संस्कार बसाल्दा उत्तम हुन्छ भन्ने महसुस गरेको छु ।

यसरी जीवन उपयोगी विधामा उत्कृष्ट हुने र पुरस्कृत गर्ने सबै विद्यालयलाई स्यालुट छ । बच्चाहरु डोर्याउँदै धेरै अभिभावक त्यसदिन विद्यालय आए । समभवतः वर्षमा एकदिन आउने धेरै अभिभावक थिए । फी तिर्न आए होलान् । कतिपय विद्यालयले कक्षागत रुपमा शिक्षक अभिवभावक र विद्यार्थीबिचमा छलफल चलाउने गरेका छन् ।

त्यहाँ आउँदा शिक्षकले के गर्न बोलाए भन्दै धुकचुक धुकचुक भएर आए होलान् । खुशीहुँदै बच्चा डोर्याउँदै विद्यालय आउने दिन त्यही रहेछ । आज बालबालिकाको लागि भनेर दिनभरी विद्यालयमा बिताउने अवसर पनि त्यही रहेछ । उनीहरुका कलाकृति, स्वभाव शैली र हासिल गरेका ज्ञान र सीप देख्ने मौका पनि त्यही रहेछ । यसकारण विद्यालयले जति सकिन्छ, त्यति देखाउनु र अभिभावकलाई खुशी तुल्याउनु पर्छ । त्यो अवसर धेरै विद्यालयले प्रदर्शनीमार्फत् उपयोग गरेको देख्न पाइयो । विज्ञान प्रयोशाला, कला र यस्तै अन्य गतिविधिले स्वागत गरेका देखिन्थे ।

प्याब्सनका अगुवाले हिसाब निकालेर अभिभावकलाई सुनाइदिए । उनीहरुले भनेजस्तै बच्चाको रेखदेख गर्नु सजिलो छैन । असजिलो भए र घाटा लाग्छ भने त्यही काम गर्नुपर्छ भन्ने कर पनि छैन । म कार्यरत संस्थाका बजार व्यवस्थापक भएकाले पनि बेलाबेलामा विद्यालयमा जानुपर्छ । त्यहाँ शिक्षकहरुले बच्चा स्याहारेको दृश्य मलाई निकै  बिझ्छ । यति ध्यान दिएका हुन्छन् कि सबै बच्चाहरु तिनकै आँखामा खेलाएका छन् । साना कक्षामा दुईजना शिक्षक बच्चासँग हुन्छन् ।

बच्चाले कता हेरेको छ, मुहार कस्तो बनाएको छ र के गर्न खोजेको छ त्यो जान्छन् । स्कुल रहँदासम्म शिक्षकहरु घर परिवार आफन्त सुखदुख सबै भुलेर बच्चामा केन्द्रित हुन्छन् । कतिपय सामुदायिक विद्यालयमा गएका शिक्षक स्वीटर बुनेर बिताएको, टिकटक बनाएको, कार्यालयमा बसेर आफ्ना बालबच्चाको प्रगतिका कथा हालेर बसेको भेटिन्छ । कोही शिक्षक जग्गा दलाल, कोही एनजियो र आइएनजियो, कतिपय संघ-संस्थाका अगुवा भएर कुँदिरहेका हुन्छन् ।

पार्टीका कार्यकर्ता बनेर विद्यालय नजाने शिक्षक झन साँढे बनेका हुन्छन् । यस्ता गतिविधिमा संलग्न हुन संस्थागत विद्यालयका शिक्षकलाई छुट छैन । पुरै समय शिक्षकले बालबालिकामा केन्द्रित गर्नुलाई शिक्षकको दायित्व र विद्यालयको जिम्मेवारी ठान्नैपर्छ । यस मानेमा विद्यालयमा कार्यरत बौद्धिक शक्ति सम्मानित छ । थोरै तलबमा धेरै काम गर्नुपरेको पनि सुनिन्छ तर संगठित रुपमा कहीँ कतै विरोध भएको भेटिंदैन ।

गुरु र गुरुआमा बन्न पाउने अवसर ठानेर पनि थोरै तलबमा सन्तुष्ट हुन्छन् होला । चेलाचेलि बनाउँदाको असिम खुशीले थोरै तलबको पीडा लुकाउँछ जस्तो लाग्छ । दुख्यो नभन्दासम्म कसैका घाउ कोट्याउन जाने र दुख्यो होला नि भनेर हौस्याउनु मैले जरुरी ठानेको छैन । केहीका बाहेक धेरैका बच्चाले अभिभावक टेर्दैनन् । उनीहरुलाई काबुमा राख्न घरमा निकै मेहनत गर्नुपर्छ । त्यसरी पनि नसक्ने भएपछि बोर्डस राखेर सुध्रिन्छ कि भनि प्रयास गरिएको पाइन्छ । कतिपयले शिक्षक र गार्डको आँखा छलेर छात्राबासमै पनि गलत काम गरेका छिटफुट कुरा सार्वजनिक हुन्छन् ।

विद्यालयका नजिक रहेका होटलहरुमा जाने हो भने सबैकुरा बुझ्न पाइन्छ । आफू फुर्सदिलो हुन पनि बच्चालाई विद्यालयमा पठाइन्छ । कडा अनुशासन भएको भनेर पनि मानिसहरु निजी विद्यालय रोजेका हुन्छन् । त्यहाँ त लुज छ भनेर सामुदायिकमा नपठाएको पानि भेटिन्छ । कतिपयमा बोर्डिङले महँगो फी मात्रै लिन्छ मेरो बच्चा हेरेन भनेर गुनासो गर्नेहरु पनि छन् । उनीहरुले बोर्डिङबाट निकालेर सामुदायिकमा भर्ना गरेका धेरै उदाहरण छन् ।

हामी हिसाब विहीन छौँ । त्यसैले नामी व्यवसायीहरु व्यपत्ता हुने गरेका छन् । घर किनेका, जमिन संग्रह गरेका र कार चढी हिंड्नेहरु एकाएक गाएब हुन्छन् । बजारभरी फलाना भाग्यो रे भन्ने हल्ला छन् । सुन्ने र देख्नेहरुलाई मात्रै अपर्झट जस्तो भएको हो । खासमा लामो समयका अन्तरसंघर्षपछि हारेर निस्केका हुन्छन् । बिग्रिंदै बिग्रिंदै थेग्नै नसकिने अवस्थाले भाग्छन् । त्यसको प्रमाण भागेपछि मानिसहरु मेरो यति लिनु थियो, उति लिनु थियो भनेर प्रचार गर्छन् । त्यसो हुन नदिन जमिन, घर गाडि किन्नु अघि आफूसँग कमाई कति छ भनेर हिसाब राख्नु पर्दथ्यो ।

साहुको सम्पती पसलमा र गोदाममा हुलेर महाजन बन्नु कमजोरी हो । म एउटा विद्यालयका लेखापालसँग चिया गफ गरेको थिए । हाम्रो विद्यालयको ६० लाख फी उठ्न बाँकी छ भन्नुभयो । केहिले त चार वर्षभयो फी नदिएको पढाईबाट निकाल्न पनि मिल्दैन, कसरी पढाउने हो ? उहाँका अनुसार फारम भर्न पनि आउँदैनन् । पटक पटक फोन गरेपछि म्याद सकिने बेलामा आइपुग्छन् ।

यसको कारण अभिवावकले फी बुझाएका हुँदैनन् । त्यहि सुन्न झ्याउ मानेर विद्यार्थी समयमा आइपुग्दैनन् । उनीहरु मानसिक यातना सहनुपर्छ । अब सबैले हिसाब निकालौँ । आय कति व्यय कति ? त्यहि अनुसार आफ्नो गृहस्ती सम्हालौँ । जे जति सकिन्छ त्यति गरौँ । ऋण काढेर दालभात खाने, स्कुल फिस तिर्ने, जाँड रक्सी खाने, फेसन लगाउने, पर्व तथा भेजा जमघटमा फुर्ती लगाउने जस्ता कामहरु सबैले बन्द गरौँ ।

कमाई कति हो कहाँ लगानी कति गरेको छ उपब्धि के हो हिसाब गरौँ । प्याब्सनका अगुवाले बच्चाको हिसाव मात्रै देखाइदिए । घरमा अरु खर्चको शिर्षक होलान् सबैले मनन गरौँ । कमाईबाट बाँचेर सुखी र सन्तुष्ट जीवन बिताऔं । त्यसैले पढाई खर्चको हिसाब सही लाग्यो, सर ।