काठमाडौं । नेपाली टिमका कप्तान रोहित पौडेलले यूएई विरुद्धको जित त्यति सहज हुने अनुमान नगरेको बताएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम त्रिदेशीय शृंखलाको खेलमा नेपालले आइतबार युनाइटेड यूएईमाथि १७७ रनको जित दर्ता गराएको थियो ।
यो जितसँगै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता सुनिश्चित गरेको छ । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले यूएईविरुद्ध यति सहज नतिजा आउनेबारे नसोचेको बताए ।
‘यति सहज नतिजा आउँछ भन्ने सोचेका थिएनौँ तर, २५० रक्षा गर्न सक्छौं भन्ने विश्वास थियो तर, यति सजिलै जित निकाल्छौं भन्ने चाहिँ कल्पना गरेका थिएनौं,’ रोहितले भने । रोहितले एकदिवसीय मान्यता जोगाउन सबैले आ-आफ्नो तर्फबाट शतप्रतिशत दिएको बताए ।
‘एकदमै खुसी लागिरहेको छ । यो यात्रा सुरु गर्दादेखि नै त्यो योजना थियो र सबैजनामा विश्वास पनि थियो । आज त्यो पूरा भयो तर, यही समयमा हामीलाई विश्वकपको छनोट हुन अब बाँकी दुई खेलको अवसर छ । अब हामी बाँकी खेलमा केन्द्रित हुनेछौं,’ रोहितले भने ।
‘मोन्टी सर आउनु भएदेखि एकदमै सजिलो भएको छ । उहाँले टिमको वातावरणदेखि सबै कुराहरू राम्रोसँग विचार गरिरहनु भएको छ र, तीनवटै शृंखलामा सबै खेलाडीहरूले राम्रो योगदान दिएका छन् । विशेषगरी आसिफ, कुशल, सन्दीप । सबैले आ-आफ्नो तर्फबाट शतप्रतिशत दिएका छन् । एक टिमले प्रदर्शन गरिरहेको छ । श्रेय टिमका सबैलाई जान्छ । एकदिवसीय मान्यता हाम्रो लागि निकै महत्वपूणर् थियो । चार वर्षमा सबैजना व्यस्त पनि हुन्छन् । र, क्रिकेट पनि हुन्छ ।’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलामा नेपालसँगै यूएई र पीएनजी सहभागी छन् । आइतबार टस जितेर ब्याटिङमा आएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रनको योगफल खडा गरेको थियो । २४९ रनको लक्ष्यसहित मैदान उत्रिएको यूएई ७१ रनमै समेटिएपछि नेपालले १७७ रनको फराकिलो जित निश्चित गरेको थियो ।
यो जितसँगै एकदिवसीय मान्यता जोगाएको नेपालले अबका दुई खेलमा जित निकाले लिग-२ को शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउनेछ ।