सुकबहादुर घले, कास्की । लिःल फङ घले समाज गण्डकी प्रदेशको गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक महिने घले भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम घले समाज कास्कीको भवनमा सम्पन्न गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्काले दिप प्रज्वलन गरि कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खड्काले भाषा भनेको आमा जस्तै हो भन्दै भाषा नै भएन भने जातिको पनि अस्तित्व नहुने बताए । उनले मातृभाषा नजानेमा संसारको अरु कुनै भाषा सिकेपनि जातीय पहिचान गुम्ने बताए ।
साथै उनले घले भाषा गण्डकी प्रदेश भरी नै सञ्चालनमा लयाउनुपर्नेमा जोड दिए । खड्काले सबै जिल्लाहरुमा भाषा प्रशिक्षण सञ्चालन गर्न प्रज्ञा प्रतिष्ठनाले सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी विशेष अतिथि प्रज्ञा प्रतिष्ठानका भाषाविद कृष्णप्रसाद पौडेलले भाषा भनेको जातित्वको पहिचान हो भन्दै यसको पहिचान संरक्षण र सम्वद्र्धनमा लागेकोमा घले समाजलाई धन्यवाद दिए । साथै उनले भाषा प्रशिक्षणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
विशेष अतिथि लिःल फङ घले समाजका केन्द्रिय सदस्य गणेश घलेले एक महिने घले भाषा प्रशिक्षणमा प्रशिक्षण दिएर सहयोग गरेकोमा प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद दिए । प्रशिक्षार्थीहरुलाई भाषा सिक्नेमा मात्र सिमित नभई आफ्नो घरमा बोलीचालीमा पनि प्रयोग गर्नु पर्ने उनको सुझाव थियो ।
लिःल फङ घले समाज गण्डकी प्रदेशका अध्यक्ष मिनबहादुर घलेको अध्यक्षतामा भएको एक महिने भाषा प्रशिक्षण कार्यक्रममा ४० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रमको प्रशिक्षण आशाराम घलेले गरेका थिए भने कार्यक्रम सञ्चालन लिःल फङ घले समाज कास्कीका सचिव तिलप्रसाद घलेले गरेका थिए ।