काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।
यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई २२.५ ओभरमा ७१ रनमा समेटिएको हो । यो नेपालको एकदिवशीय अन्तर्राष्ट्रिय इतिहासमा सबैभन्दा ठूलो रनअन्तरको जित हो ।
नेपाली टिम आईसीसी क्रिकेट विश्वकप लिग टूमा चौथो स्थानमा उक्लिएको छ । योसँगै नेपालको एकदिवशीय अन्तरर्माष्ट्रिय मान्यता सुरक्षित भएको छ । सन् २०२१ को सेप्टेम्बरमा नेपालले पपुवा न्युगिनीविरुद्ध १५१ रनअन्तरको जित हासिल गरेको थियो । यसपल्ट १७७ रनको जित निकालेको हो ।
यूएईका लागि पनि यो एकदिवशीय अन्तर्राष्ट्रियमा यो सबैभन्दा न्यून योगफल हो । यसअघि सन् २०१८ को मार्चमा विश्वकप छनोट प्रतियोगिताका क्रममा आयरल्याण्डसँग यूएई ९१ रनमा अलआउट भएको थियो ।