काठमाडौं । नेपाली व्यवसायीहरुले चिनियाँ व्यवसायीहरुसित व्यवसायीक सम्बन्ध बढाउन पहल गरिरहेका छन् । यसैबीच नेपाली व्यवसायीहरुले चिनियाँ सरकारी अधिकारीहरुलाई निमन्त्रणा गरेका छन् ।
चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ साओगाङ चार दिने नेपाल भ्रमणमा आउने भएका छन् । नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्ति अनुसार झाङ मार्च १२ देखि १५ गतेसम्म नेपाल भ्रमणमा रहनेछन् ।
उपाध्यक्ष झाङ नेपाल उद्योग परिसंघको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले सिएनआइका अधिकारीसँग भेटघाट गर्नुको साथै नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रि र चिनियाँ उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।