काठमाडौं । साहित्यकारहरु राजेन्द्र घिमिरे ‘सागर’ र निश्चल घिमिरेका २ कृति ‘इसारा’ र ‘अस्त्र’ एकै समारोहका बीच विमोचन भएका छन् । नाताले राजेन्द्र बाबु हुन् भने निश्चल छोरा ।
बाबु राजेन्द्र घिमिरेको मुक्तक संग्रह ‘इसारा’ र छोरा निश्चल घिमिरेको मुक्तक संग्रह ‘अस्त्र’ को नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव जगत उपाध्याय लगायतका दर्जन अतिथिहरुले एकसाथ विमोचन गरे ।
विमोचन समारोहमा साहित्यकारहरु नारीरत्न प्रा. गार्गी शर्मा, प्रा.डा सत्यराज थपलिया, प्राज्ञ कौसिला रिसाल, नाट्य तथा संगीत प्रतिष्ठानका प्राज्ञ सदस्य पुरु लम्साल, प्रा. दामोदर पुडासैनी‘किशोर’, साहित्यकार तथा उद्योगपति तारा पोखरेल, समाजसेवी तथा गणतन्त्र लिथवानियाका वाणिज्य दुत शोभाकर‘हरि न्यौपाने’, लगायतले मन्तव्य राखेका थिए ।
निश्चल घिमिरेको कृति ‘अस्त्र’ माथि साहित्यकार आरएम डंगोलले टिप्पणी गरेका थिए भने राजेन्द्र घिमिरेको ‘इसारा’ माथि साहित्यकार गिरिराज पोखरेलले टिप्पणी गरेका थिए । साहित्यकार तारा केसी र रामकाजी कोने लगायतका स्रष्टाले विमोचित मुक्तक संग्रहमा संग्रहित मुक्तकहरु सुनाएका थिए ।
सो अवसरमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव जगत उपाध्यायले समाजमा रहेका विकृतिहरुलाई घुमाउरो तरिकाले प्रहार गर्न सक्नु नै साहित्यको मूल दायित्व भएको कुरा बताए । साथै उनले जनता जगाउँदै चमत्कारपूर्ण स्वाद दिने रचना मात्रै सफल बन्न सक्नेमा जोड दिए ।
साथै उनले बाबु र छोराका कृतिहरु एकैसाथ विमोचन भएको यो नै पहिलो सन्दर्भ हुनसक्ने भन्दै यो सन्दर्भलाई गिनिज बुक अफ वर्ल्डका लागि पनि पहल गर्न सुझाव दिए । राजेन्द्रको ‘इसारा’मा ११३ वटा मुक्तक रहेका छन् भने निश्चलको ‘अस्त्र’मा पनि ११३ वटै मुक्तक रहेका छन् ।
राजेन्द्र घिमिरे मुक्तक मञ्च काठमाडौं शाखाका अध्यक्ष र त्रिशुली वाङ्मय प्रतिष्ठानका महासचिव समेत हुन् । ‘इसारा’ मुक्तक संग्रहका रचनाकार राजेन्द्र घिमिरेले यो विषयलाई आफूले विश्व रेकर्ड राख्न सकिन्छ कि भनेर अनुसन्धान गर्ने र विश्व रेकर्ड राख्न सक्ने अवस्था देखिएमा अगाडी बढ्ने बताए ।
यसअघि प्रगतिवादी साहित्यकार अशोक सुवेदी र उनका पिता हितप्रसाद उपाध्यायका २ वटा कृति पनि एकैसाथ विमोचन भएको इतिहास रहेको तर सो समारोह भन्दा अघि नै अशोकका बाबु हिप्रसादको भने मृत्यु भइसकेकोले बाबु उपस्थित हुन नसकेको सन्दर्भ थियो ।
यसपालीको राजेन्द्र र निश्चलको भने बाबु-छोरा नै पुस्तक विमोचन कार्यक्रममा उपस्थित रहेको सन्दर्भ हो । विमोचन समारोहको सभापतित्व मौनता अधिकारीको रहेको थियो । कार्यक्रममा पुस्तक प्रकाशन गर्न सहयोग गर्ने सहयोगी हातहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । २ वटै मुक्तक संग्रहको प्रकाशनको जिम्मेवारी देवी पन्तले निभाएकी छिन् । आजको कार्यक्रमको सञ्चालन रविना घिमिरे‘जिज्ञासु’ले गरेकी थिइन् ।