• मंसिर १२ २०८१, बुधबार

लिजेन्ड्स क्रिकेट लिगमा एसिया लायन्सको जित

फाल्गुन २७ २०७९, शनिबार

काठमाडौँ। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आवद्ध टोली एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगको पहिलो खेलमा जित निकालेको छ ।

शुक्रबार भएको खेलमा लायन्सले इन्डिया महाराजसलाई ९ रनले हराएको हो । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा लायन्सले जितको लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १५६ रन बनायो ।

इन्डियाका लागि भारतका पूर्व कप्तान गौतम गम्भीरले ५२ रनको अर्धशतकीय पारी खेले । मुरली विजय २५ र सुरेश रैना ३ रनमा आउट भए । एसियाका सोहेल तनविरले ३ विकेट लिए । अब्दुल रजाक, इसुरु उडाना, तिलकरत्ने दिलशान र थिसेरा परेराले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

एसियाका मिस्बाह उल हकले ७३ रनको अर्धशतकीय पारी खेलेका थिए । नेपालका पूर्व कप्तान पारस खड्का भने २ बलमा ३ रन हान्दै अविजित रहे ।

उपुल थरंगाले ४० रन बनाए । इन्डिनका लागि प्रविन्दर अवाना र स्टुअर्ट बिन्नीले दुई–दुई विकेट लिए । इफरान पठान र अशोक डिन्डाले एक एक विकेट लिए ।

एसिया लायन्सले अव वल्र्ड जायन्ट्ससँग सोमबार खेल्नेछ ।