काठमाडौं । कांग्रेस सांसद विनोद चौधरीले अस्पताल निर्माणका लागि भन्दै सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० कराड रुपैयाँ उपलब्ध गराउन भन्दै अर्बपति चौधरीले पत्र पठाएका छन् । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमाणर्का बजेट मागेका हुन् ।
आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षीय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गर्न पत्रमा उल्लेख छ । अस्पतालको स्वामित्व भने बर्दघाट नगरपालिकाको रहने र चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना र विकास गर्ने पत्रमा उल्लेख छ । उनले अस्पतालको अनुमानित लागत ५० करोड (तत्काल पहिचान र परियोजनाको पूर्वाधार तथा कार्यक्रम) का लागि मागेका छन् ।
‘यस आयोजनाहरुलाई मन्त्रालयले प्राथमिकतामा राखी आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षीय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गरी यस क्षेत्रका जनताकाृ समृद्धिको आकाक्ष र प्रयासलाई सघाउ पुर्याउन हुनेछ भन्ने अपेक्षा गरेको छु,’ पत्रमा भनिएको छ ।
अस्पताल निर्माणको काम तीन वर्षभित्र सकिने पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयसँग उनले मागेको बजेटले उनको नियतिको माथि प्रश्न उठेको मन्त्रालयका अधिकारीहरू बताँउछन् ।
‘सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माणमा लागेको छ । आवश्यकता परेको अवस्थामा स्थानीय तहले आफैले बजेट माग गर्न सक्छन्,’ मन्त्रालयका ती अधिकारीले भने, ‘तर, पहुँचको आधारमा आफ्नो नाम भजाएर बजेट माग्नु उचित देखिंदैन ।’