• मंसिर ११ २०८१, मंगलवार

एक कप कालो चिया र ४ फक्लेटा विस्कुटमा सम्पन्न विहे…..

फाल्गुन २६ २०७९, शुक्रबार

काठमाडौं । खाली रहेको मञ्चमा एकजना महिला उक्लेर कार्यक्रम सञ्चालन गर्न थालिन् । उनी थिइन्, जनयुद्धमा सहभागी भएर आएकी जाजरकोटकी अम्बिका चन्द । सबैलाई सम्बोधन गर्दै उनले कार्यक्रम सञ्चालन गर्दै गइन् । केही समय कार्यक्रमको भूमिका बाँधेर उनले मञ्चमा सो कार्यक्रमका नायकहरु रोहित ढकाल र शारदा केसीलाई आसन ग्रहण गराइन् ।

आसन ग्रहणकै निरन्तरतामा उनले नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश वली‘सुदर्शन’ लगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई अतिथिको आशन ग्रहण गराइन् । सो समारोह थियो, भोजपुरका रोहित ढकाल र प्यूठानकी शारदा केसीबिचको प्रगतिशील वैवाहिक कार्यक्रम ।

अनामनगरस्थित संवाद डबलीको मञ्चमा भएको सो वैवाहिक समारोह परम्परागत विहे भन्दा नितान्त फरक थियो । सो विहे कार्यक्रमका वर रोहित ढकाल ३ वर्षको जेल जीवन बिताएर गत कार्तिकमा मात्रै रिहा भएर आएका थिए भने वधु शारदा भने प्रकृति-मानव केन्द्रित अभियानकी एक अभियान्ता ।

अर्को तरिकाले भन्दा रोहित तत्कालिन विप्लव नेकपाका कार्यकर्ता (हाल नेकपा(बहुमत)का कार्यकर्ता) थिए भने शारदा चाँही आजको पुँजीवादी व्यवस्थाले मानव र प्रकृति नष्ट गरिरहेकोले पृथ्वीलाई बचाउनु पर्छ भन्दै देशव्यापी चेतनामूलक अभियानमा संलग्न एक प्रगतिशील र साहसी महिला ।

जे होस् एकजना समाजवादी व्यवस्था स्थापना गर्ने अभियानका सारथी र अर्की पनि यो पृथ्वीलाई पुँजीपतिले दोहन गर्नबाट रोक्ने अभियानमा संलग्न अभियात्री । रोचक थियो, विहेको सन्दर्भ र वैचारिकता । उनीहरुले पालैपालो आफ्नो चिनजान, प्रेम सम्बन्धका बारेमा र आफ्नो प्रेमलाई विहेमा रुपान्तरण गरिदिन पार्टीमा हालेको निवेदनको प्रस्ताव र स्वीकार पत्र तथा आफ्नो ३ वर्षे प्रेमकहानीको बेलिविस्तार सुनाए ।

रोहित र शारदाको विहेमा आमन्त्रित सबैलाई भतेरको रुपमा एक कप कालो चिया र ४,५ टुक्रा विस्कुट खान दिइयो । सबै खुशी भएर भोजमा समावेस भए । सो समारोहमा वर र वधुलाई खादा, माला र अबिर लगाएर सबैले उनीहरुको विहेमा सहभागीता जनाए । माहोल अलि बेग्लै थियो । कलाकारहरुले केही गीतहरु पनि सुनाए ।

सो समारोहमा बोल्दै नेकपा बहुमतको संयोजक धर्मेन्द्र बास्तोलाले विहे भनेको मानव जीवनको महत्वपूर्ण अंग भएको बताए । उनले मानव समाजमा महिला र पुरुष हुने भएकोले उनीहरुका बिचको भावनात्मक तथा शारिरीक सम्बन्धलाई वैधानिकता दिनका लागि यस्ता विहेको आयोजना गरिने गरेको बताए । उनले विहेलाई दाइजो र सम्पति देखाउने आडम्बरको रुपमा नभइ मानिस-मानिसबिचको भावनालाई कदर गर्न र मानव जीवन सहज बनाउनका लागि सरल तरिकाले गर्नुपर्नेमा जोड दिए ।

अर्का वक्ता सो पार्टीका प्रवक्ता हेमन्तप्रकाश वली‘सुदर्शन’ले कयौं पुराना साँस्कृतिक मान्यताहरुलाई छोडेर नयाँ मान्यताको विकास गर्नुपर्ने बताए । उनले चीनमा माओ त्सेतुङले पूरानो सत्ता फालेर नयाँ सत्ता स्थापना गरेको धेरै समयपछि पनि साँस्कृतिक क्रान्ति गर्नु परेको सन्दर्भ कोट्याउँदै नेपाली समाजमा पनि पुराना र अन्धविश्वसमा आधारित साँस्कृतिक मान्यताहरुलाई भत्काएर नयाँ मान्यता स्थापित गर्नुपर्नेमा जोड दिए ।

वलीले जनयुद्धको नेतृत्व गरेको माओवादी नेताहरु आज कम्युष्टि विचारबाट धेरै पर पुगिसकेकोले जनयुद्धमा भएका हजारौं जनवादी विहेहरु विघटन भएको बताए ।

जनसाँस्कृतिक महासंघका अध्यक्ष खेम थपलियाले विहे नामको संस्था भत्काएर नयाँ बनाउनु पर्नेमा जोड दिए । उनले ‘विहे’ शब्दको सट्टा ‘सहजीवन’ शब्द प्रयोग गर्नुपर्ने सुझाव दिए । संस्कृतिकर्मी अशोक सुवेदीले विहेको भारीभर्कम शैलीलाई विस्तारै छोडेर सस्तो र सरल शैली अपनाउनु पर्ने बताए ।

अर्का वक्ता उक्त कँडेलले हिजो जनयुद्धमा भएका जनवादी विहेहरुलाई पार्टीले सही तरिकाले व्यवस्थापन गर्न नसक्दा अलपत्र परेकाले आगामी दिनहरुमा यस्ता समस्या आउन नदिन कम्युनिष्ट पार्टीका नेताहरुलाई सचेत गराए ।

अर्का वक्ता किरण केसीले आफूले देखेका विहेहरु बन्धनमा बाँधिएको देखेको तर आजको विहे त स्वतन्त्रता प्राप्त गरेको अनुभव भएको बताए । उनले रोहित र शारदाको विहेपछिको सम्बन्ध पनि सुमधुर रहने आशा व्यक्त गरे ।