• असार २२ २०८१, शुक्रबार

ब्रम्हकुमारी राजयोगको कार्यक्रममा पृथ्वीनारायण र बल्लभ भाईको चर्चा चलेपछि….

फाल्गुन २६ २०७९, शुक्रबार

घोराही, २५ फागुन । नेपाल र भारत अनेक टुक्रामा विभाजित थिए । दुवै देशलाई पछि एकीकरण गरिएको हो । भारतबाट घोराही आउनुभएका साइन्टिस्ट एवं इञ्जिनियरीङ विभाग ब्रम्हकुमारीज ई. भारत भुषणले भन्नुभयो, ‘एक था पृथ्वीनारायण, अर्का सरदाई बल्लभ भाई पटेल ।’

घोराही उपमहानगरपालिकाको हलमा सहभागीले तररर ताली बजाएर उहाँको भनाईलाई सम्मान गरेका थिए । उहाँका अनुसार त्यसलाई सकारात्मक सोच्नुपर्छ । नेगेटिभ माइन्ड म्यान मेड डिजाष्टर हो । त्यसले विपद ल्याउँछ । नेपालको इतिहासको कदर गरिदिएकोप्रति सहभागीको प्रशन्नता व्यक्त भएको थियो । ‘टेन्सनमा निर्णय गरे डिजाष्टर हुन्छ’, उहाँले थप्नुभयो, ‘शान्तिसँग निर्णय गरे शान्ति हुन्छ ।’

उहाँले यति भनिरहँदा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य र जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीतर्फ इंगित गर्नुहुन्थ्यो । उहाँले कहिले कसैको, कहिले कसैको कुरा काट्ने, टिकाटिप्पणी गर्नुले पनि डिजाष्टर हुने बताउनु भयो । सबै भन्दा ठूलो समस्या इगो राख्नु हो । नीति निर्माता एवं प्रशासकको नेतृत्वले कसैलाई पनि इगो राख्ने गरी निर्णय गर्नु हुँदैन । त्यसले समस्याको समाधान होइन ।

झन झन हिंसा र बिपत्ति ल्याउने खतरा रहन्छ । प्राकृतिक विपद न्यूनिकरण गर्न पूर्व तयारी हुन्छ, सुनामी आउँदैछ, बाढी आउँदैछ भने जोगिन सकिन्छ । सरकारले सावधानी अपनाउँछ र बच्नका लागि पूर्वतयारी पनि गरेको हुन्छ । उहाँका अनुसार मानव निर्मित विपद त्यस्तो हुँदैन । नकारात्मक दिमाग भयो नै विपद हुनसक्छ । लापरवाहीका कारण विपद हुन्छ । सावधानी घटे विपद हुन्छ । सबैलाई सुन्दर देखे शान्त हुन्छ ।

यसरी प्रवचन दिइरहँदा धेरैले मुन्टो ढक्काएर समर्थन जनाउँथे । बेलाबेलामा ताली बजाएर ऊर्जा दिन्थे । उहाँले ठूला उद्योग तथा सडकमा मानवीय क्षति बढि हुने गरेको बताउनु भयो । ‘दुनियाँका कुनै पनि सरकारले कर नलिने दुई कुरा छन्, जसबाट भरपुर आनन्द लिन सक्नुहुन्छ’ राजयोग शिक्षिका ब्रम्हकुमारी शिवानी हरियाणा पानीवतले भन्नुभयो, ‘मुस्कुराउन र ताली बजाउन कर लाग्दैन ।’

घोराही उपमहानगरपालिकाको सभाहलमा उपस्थित सबैजना मुस्कुराए । ‘आँखा चिम्लिनिुस्, छोटो समय ध्यान गर्नुस्’ शिवानीले भन्नुभयो, ‘कल्पना गर्नुस् रंगीचंगी बगैचामा हुनुहुन्छ, अनेकथरी फूल फुलेका छन् । त्यसको सुगन्धमा आनन्द लिनुभएको छ ।’ यसरी भन्दै जानुभयो । धेरै संख्यामा उपस्थित राप्ती इन्जिनियरीङ कलेजका विद्यार्थी र अरु अतिथिले त्यसै गर्दै गए । मुस्कुराउनेका सामु आउनेहरु पनि मुस्कुराउँछन् ।

ताली बजाउँदा हातको एक्सरसाइज हुन्छ, निद्रा हट्छ र झनझनाहटले आनन्द दिन्छ । त्यसैले जोडले ताली बजाउनु पर्छ । अरुलाई सिकाउने तर आफैले व्यवहारमा नदेखाउने समस्या रहेको उहाँको भनाई थियो । ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, घोराही शाखाले बुधवार विपद व्यवस्थापन एवं जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

त्यसमा प्राकृतिक विपद भन्दा मानव निर्मित विपदका बारेमा बढी चर्चा भएको थियो । त्यसलाई घटाउने उपाए मेडिटेसन हो भनियो । त्यसले गलत बाटोतिर गएको मनलाई नियन्त्रण गर्छ । मन र बुद्धिलाई प्रयोग गर्न सिकाउँछ । जस्तो सोचाई उस्तै जीवन सिकाउँछ । तन र मन संगै राख्न सिकाउँछ । मानिस आफूसँगै आफैले गर्ने लडाइँमा हार्छ तर मेडिटेसनले जित्न सिकाउँछ । आफ्नो जीवनमा धारण नगरेसम्म अरुलाई सुनाएको प्रवचन आफ्नो हुँदैन । बच्चाको दिमाग जस्तै हुनुपर्छ जसको दिमागमा बोझ हुँदैन ।

एकसाथ ताली बजाएर धेरैलाई चित्त बुझेको संकेत गरे । यति गरिरहँदा हलुको महसुस गरेजस्तै उत्साहित देखिन्थे । दुई घण्टा चलेको कार्यक्रम अवधिभर सबैजना मुस्कुराई रहेका थिए । त्यहाँ रहेकाले घर परिवार तथा कामकाजमा मन डुलाउन पाएनन् । ज्यान र मन संगै राखेर कार्यक्रममलाई उपलब्धि मुलक बनाए ।

ब्रम्हकुमारी राप्ती क्षेत्रीय प्रमुख गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय पालिकाका विपद संयोजकहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहजीकरण माधव तिमिल्सेनाले गर्नुभएको थियो । यतिबेलाको आर्थिक मन्दी, विभिन्न संकट र त्यसबाट उत्पन्न हुने तनाव व्यवस्थापनमा अत्यन्त उयोगी हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको भनाई थियो ।