भूकम्प पेथ्वीमा जहाँकही गए पनि ज्वालामुखी विष्फोटन भने निस्चित ठाउँमा मात्र हुने गरेका छन् । केही ज्वालामुखी जीवन्त छन् र निरन्तर निस्किइरहेका पनि छन् । तर प्रशान्त महासागरको वरिपरि भने सिंगो आगोको घेराको रूपमा ज्वालामुखी विष्फोट हुने गरिरहेको छ ।
प्रशान्त महासागीय यो हलचलको क्षेत्रलाई वैज्ञानिकहरूले एक अग्नि घेराका रूपमा चित्रित गरेर अध्ययन गर्न र बुझ्न सजिलो बनाएका छन् । त्यहाँ भूकम्पीय हलचल र ससाना बिष्फोटनहरू नियमित रूपमा नै हुने गर्दछन् । तटीय इलाकामा बस्ने मानिसहरू यी ससाना भूकम्पीय गतिविधिसँग निकै चिरपरिचित र मैत्रीपूर्ण रहेका पनि छन् ।
यसरी यस्ता प्राकृतिक प्रकोपहरूलाई सहज रपमा लिंदा कहिलेकाँही ठूल्ठूला दूर्घटनाहरू पनि निम्तने गरेका छन् । तर पनि भूकम्पमापन यन्त्रहरू, संकटपूर्वका सूचना संयन्त्र र प्रणालीहरूले तटीय इलाकाका मानिसहरूलाई निकै ठूलो सहयोग गरिरहेको छ ।
प्रशान्त अग्निको घेरा आफैमा प्रशान्त महासागरको वरिपरिको तटीय इलाका हो, जुन न्युजिल्याण्डदेखि, इन्डोनेसिया, फिलिपिन्स, जापान र रसियादेखि अलास्कासम्म २५ हजार माइल लामो रहेको छ । यसले उत्तर अमेरिका र दक्षिण अमेरिकालाई पनि छाडेको भने छैन ।
भूगर्भविदका अनुसार टेक्टोनिक प्लेटहरूका कारणले हुने यो डरलाग्दो तटीय हलचल ससाना टेक्टोनिक प्लेटहरूका कारणले झन् बढी हुने गरिरहेको छ । यी सहायक टेक्टोनिक प्लेटहरूमा फिलिपिनो प्लेट, जुआँ डे फुका प्लेट, कोकोस क्यारिबियन प्लेट र नाज्का प्लेटहरू मुख्य रहेका छन् ।
फिलिपिनो सहप्लेटको अस्थिरताका कारणले फिलिपिन र जापानलाई निकै सताइरहेको छ । यहाँको अवर्णनीय र अत्यासलाग्दा घटनाहरू यसैको कारणले हुने गरेको छ ।
त्यसैगरी जुआँ डे फुका सहप्लेटको हलचलका कारणले संयुक्त राज्य अमेरिका बढी नै प्रभावित छ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, ओरेगन र वासिंगटन बढी प्रभावित हुने गरेका छन् ।
यसपछिको बढी प्रभाव कोकोस तथा क्यारिबियन सहप्लेटले निम्त्याएको पाइन्छ । यसको प्रत्यक्ष प्रभाव मेक्सिको र मध्यअमेरिकी महदेशसम्म रहने गरेको देखिन्छ । यस अतिरिक्त नाज्का सहटेक्टोनिक प्लेटले दक्षिणी अमेरिकी महादेशका पश्चिमी देशहरूलाई सताउने गरेको छ ।
महासागरीय तरलताको चापमा आउने फेरबदल, पानीको भेदन, तथा चलयामान सहटेक्टोनिक प्लेटका कारणले निरन्तर ज्वालामुखी विष्फोटन र भूकम्पीय हलचलका साथै सुनामी यो अग्नि घेराको आफ्नो स्वत्व र पहिचान हो । यो प्राकृति र नियमित भएकाले स्वाभाविक बनिसकेको छ ।
पहाडी इलाकाहरूमा जाने पहिरो, तराईमा सताउने बढी र डुबान जस्तै प्रशान्त महासागरको तटीय इलाकाहरूका मानव वस्तीमा पनि यी प्राकृतिक आग्नेय गतिविधिलाई स्वभाविक रूपमा लिइन्छ । क्षति हुँदा विलाप गर्ने र नहुँदा स्वभाविक रूपमा पचाउने मानिसको प्रवृत्ति नै हो ।
तर पनि मानिसहरू यी सबै कुरा ‘राम भरोसे’ हुनुभन्दा पनि वैज्ञानिक र वस्तुगत हिसाबले थाह पाए भने त्यसबाट हुने क्षति कम गर्न र बचाउका लागि उपायहरूको विकास र अवलम्बन गर्न सक्ने छन् ।
महासमुद्रको तटीय इलाकामा एकातिर जमिनको साह्रो भाग र अर्कातिर पानीको तरल भागमा पर्ने चुम्कीय तथा गुरूत्व बलको असर भिन्दा भिन्दै हुने गर्दछ ।
पूर्णिमाको रातमा चन्द्रमा नजिक हुनाले पर्ने असर समुद्रमा पनि प्रष्ट देखा पर्दछ । पूर्णिमाको दिन समुद्रमा ठूलाठूला ज्वारभाटाहरू उठ्ने र तटीय इलाकामा पानीको सतह बढ्ने हुनछ ।
समुद्रको पानीको भाग गुरूत्वाकर्षणका कारणले बढी तानिने र जमिनको भाग नतानिने भएकाले यसले टेक्टोनिक तथा सहटेक्टोनिक प्लेटहरूमा प्रत्यक्ष प्रभाव पार्दछ ।
यही दबाब र प्रभावका कारण समुद्रको सतह कहींकतै फाट्न जाने वा भासिने गर्नाले लाभा निस्किएर ज्वालामुखी बिष्फोट हुन गई भूकम्प पनि आउने र समुद्री सुनामीले सताउने हन्छ ।