• आश्विन १४ २०८१, सोमबार

उपराष्ट्रपतिद्वारा मगर अगुवाको सालिक अनावरण, बुद्धको सालिक संगै राखिएकोप्रति भने जनाए आपत्ति

फाल्गुन २० २०७९, शनिबार

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले मगर अगुवा र गौतम बुद्धको सालिक अनावरण गरेका छन् । एक कार्यक्रमका बीच शनिबार काठमाडौंको कलंकीस्थित मगर संघको केन्द्रिय कार्यलयमा उपराष्ट्रपति पुनले सालिक अनावरण गरेका हुन् ।

२०७२ सालको भूकम्पले क्षतविक्षत पारेको भवनको पुनः निर्माण गरिएपछि बनाइएका मगर अगुवाहरुका सालिकहरु उपराष्ट्रपति पुनको हातबाट अनावरण गराइएको हो । उनले एक समारोहका बीच बुद्ध दर्शनका प्रवर्तक गौतम बुद्ध, नेपालका प्रथम सहिद लखन थापामगर, मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनमगर र पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको सालिकमा  फूलमाला लगाई अनावरण गरे ।

समारोहमा सहिदहरुले दिएको बलिदानले नै अहिलेको लोकतान्त्रिक समाज स्थापना भएको भन्दै सहिदहरुको स्मरण गरियो । कार्यक्रमको सुरुमा ज्ञात-अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुनले आफूलाई पुर्खाको सालिक अनावरण गर्ने अवसर दिएकोमा मगर संघप्रति आभार व्यक्त गरे । उनले मगर समुदायको पुर्खाको प्रतिमा निर्माण गर्ने निणर्य ऐतिहासिक भएको बताए । पुनले पुर्खाको देवी-देउराली पुज्न पाएकोमा आभार व्यक्त गरे ।

उनले मगर संघ अवश्य पनि आन्दोलन र मगरहरुको राष्ट्रिय एकतालाई सुदृढ गर्ने प्रक्रियामा जानेमा आफू विश्वस्त रहेको बताए । उनले सालिक अनावरण कार्यक्रममा गौतम बुद्ध, प्रथम सहिद लखन थापामगर, मगर संघका संस्थापक अध्ययक्ष हेमबहादुर पुनमगर र पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको सालिक संगै राखिएकोमा भने आपत्ति जनाए । उनले गौतम बुद्ध र मगरमा पुर्खाहरुको मूर्ति संगै राख्नाले केही प्रश्न उब्जन सक्ने भएकाले यसलाई सच्याउन आग्रह गरे ।

कार्यक्रमका मगर संघ केन्द्रिय समितिका पूर्वअध्यक्ष महेनद्र थापामगरले पुर्खाले पुर्याएको योगदानले नै आज नेपाली समाज संस्कृतिमा अब्बल भएको विचार  व्यक्त गरे । भवन पुनः निर्माण तथा सालिक अनावरण कार्यक्रमका संयोजक गंगा खासुमगरले उपराष्ट्रपति पुनको हातबाट पुर्खाहरुको सालिकको अनावरण गर्न पाएकोमा उपराष्ट्रपति लगायतलाई धन्यवाद व्यक्त गरिन् ।

उनले सालिक निर्माण गर्ने निणर्य मगर संघ केन्द्रिय समितिका पूर्वअध्ययक्ष नवीन रोकामगरको अध्यक्षतामा बसेको बैठकले गरेको भन्दै पूर्वअध्यक्ष रोका मगरलाई स्मरण गरिन् । उनले सालिक निर्माणमा इजरायलका निवर्तमान अध्यक्ष विष्णु पुनमगरको पनि योगदान रहेको जानकारी गराइन् ।

आर्थिक संयोजक पुनले सहयोगको लागि धेरै देशमा रहेका मगर समुदायका सहयोगदाताहरुलाई आग्रह गरिएकोले यो उद्धेश्य सफल भएको भनाई राखिन् । उनले कार्यक्रममा आर्थिक  सहयोग गर्ने  सम्पूर्ण व्यक्ति तथा दातृ निकायलाई धन्यवाद ज्ञापन पनि गरिन् ।

सो क्रममा मगर संघ केन्द्रिय समितिका आर्थिक संयोजक विष्णु पुनमगर इजरायलमै भएका कारण भिडियो सम्बोधनमार्फत् आर्थिक सहयोग गर्ने  सम्पूर्ण सहयोगतदाताको नाम वाचन गरियो । उनले एकदमै कम साथीको पहलमा संस्थाको वैदेशिक शाखा इजरायलमा स्थापना गरेको बताइन् ।

उनले आगामी दिनहरुमा पनि मगर संघको उन्नतीका कामलाई निरन्तरता दिने बताइन् । कार्यक्रमका सभाध्यक्ष मगर संघ केन्द्रिय समिति अध्यक्ष ज्ञानेन्द्र पुनमगरले प्रमुख अतिथि उपराष्ट्रपति पुनलाई पगरी गुथाई खादा ओढाएर सम्मान गर्नुका साथै मगर संघको संकेतात्मक खुर्पेटो मायाको चिनो स्वरुप प्रदान गरे ।

सभाध्यक्ष पुनले आफ्नो व्यस्त समयको बाबजुद पनि समय प्रदान गरेकोमा उपराष्ट्रपति पुनलाई धन्यवाद ज्ञापन गरे । उनले गतवर्ष मगर संघका सदस्य जगबहादुर र यमबहादुरको दुःखद निधनले गर्दा सालिक अनावरण कार्यक्रम स्थगित गरेको जानकारी दिए ।