• मंसिर ११ २०८१, मंगलवार

अन्तराष्ट्रिय चिया प्रतियोगितामा नेपालको चिया बन्यो चीन र भारतको भन्दा उत्कृष्ट

फाल्गुन १८ २०७९, बिहीबार

काठमाडौं । चीनबाट नेपालका लागि खुशीको खबर आएको छ । चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ सर्वोत्कृष्ट घोषित भएपछि नेपालका लागि खुशीको खबर आएको हो । नेपालसहित चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को एउटा नमूना सर्वोत्कृष्ट घोषित भएको हो ।

उक्त नमूना इलामस्थित ‘तीनजुरे चिया उत्पादक सहकारी संस्था’ ले उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । उनले नेपालकै अन्य पाँच वटा ‘ब्ल्याक टी’ का नमूनाले स्वणर् पदक र चार वटा नमूनाले रजत पदक जितेको बताए ।

‘हामीले १६ वटा ‘ब्ल्याक टी’ का नमूनाहरू प्रतियोगिताका लागि चीन पठाएका थियौं । तीमध्ये १० वटाले ऐतिहासिक पदक जित्यो,’ निर्देशक खनालले भने, ‘एउटा त प्रतियोगिताकै सर्वोत्कृष्ट भयो । बाँकी ५ वटाले स्वर्ण र चार वटाले रजत पदक जिते ।’

पछिल्लो समय चीनले नेपाली चिया आयात गर्नेबारे चासो देखाएसँगै नेपालले गत भदौ २३ गते अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १६ वटा ‘ब्ल्याक टी’ का नमूना चीन पठाएको थियो । निर्देशक खनालले चीन, भारत, श्रीलंका र केन्या चियाका लागि विश्वमै ख्याति कमाएको देश भएकाले यो नेपालका लागि ऐतिहासिक उपलब्धि रहेको बताए ।