• मंसिर ११ २०८१, मंगलवार

कमरेड प्रचण्डको प्राथमिकता के हुनुपर्छ ?

फाल्गुन १७ २०७९, बुधबार

भयानक भेल उर्लिरहेको नदीमा डुङ्गा पसेर गन्तव्य पुग्नु अघि डुङ्गा ढलपल ढलपल हुन्छ भने त्यो खतराको संकेत हो । ढुङ्गा पल्टन पनि सक्छ जुन कारणले ढुङ्गाका मान्छेहरूका ज्यान र जीवन जान सक्छ । दुरुस्तै नेपालको वर्तमान राजनीति ढलपल ढलपल गरिरहेछ नदीको बिच धारमा । जसलाई अनिश्चयको संकेतको रुपमा बुझ्न सकिन्छ ।

जस्तो गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादीहरू नेपाली कांग्रेस र नेकपा (एस) लगायत पाँच पार्टीहरू वामपन्थी लोकतान्त्रीक संयुक्त मोर्चा चुनावी तालमेल गरेर नेकपा (माओवादी केन्द्र) तेस्रो पार्टी बन्यो । तर पौष १३ मा सरकार बनाउने बेलाचाहिँ प्रतिनिधि सभाको ८४ सिटको दोस्रो दलसँग गठबन्धन गरेर नेकपा (माओवादी केन्द्र) को अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । फेरि अहिले २५ फाल्गुणमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने विषयमा एमालेसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग मत नमिल्दा धाँजा फाटिसकेको छ ।

आज राष्ट्र र जनताको मूल सवाल र समस्याहरू के के हुन् ? भन्ने विषयमा ध्यान केन्द्रित नभई आ–आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ र सवालहरू प्राथमिकतामा परेपछि जिम्मेवार पार्टीका जिम्मेवार नेताहरू गैरजिम्मेवार व्यवहारहरू प्रदर्शन गर्छन् ।

शेरबहादुरलाई ज्योतिषीको आर्शीवाद पूरा गर्न सात पटक प्रधानमन्त्री हुनुपर्ने महत्वकांक्षा, गम्भीर विषयहरूमा गम्भीर अन्तरविरोध भएर पार्टी, खड्ग ओली र विद्यादेवी भण्डारीको प्रतिगमन कदमविरुद्ध दुई दुई पटक जनआन्दोलन गरेको भर्खरको पाइला पनि नमेटिदै उनै खड्ग ओलीहरूसँग सरकार बनाउन प्रचण्डले साहरा लिनु, मूल वैशाखी टेक्नु, अनि उता खड्ग ओली चाहिँ प्रधानमन्त्री प्रचण्ड भए पनि आफू सर्वेसर्वा भएको दुनियाँलाई प्रदर्शन गर्नु र प्रचण्ड सरकारको मूल लगाम आफ्ना हातमा भएको दम्भ गर्नु भनेको देश र जनताको उज्वल भविष्यको पथबाट दश कोस पर भाग्नु हो । अयोग्य र असक्षम नेतृत्वहरू र अदुरदर्शी प्रवृत्ति प्रदर्शन गर्ने नायकहरू र तिनका पिछुवाहरूले नेपाल र नेपाली जनतालाई कुन स्तरको रछ्यानमा पु¥याउने हुन् ? गम्भीर सोचनीय विषय हो ।

कुर्सी, पद र प्रतिष्ठाका लागि सिद्धान्त र आदर्शलाई बलिदान दिन तयार थुप्रै इतिहास बोकेका नेताहरू रहेछन् भनेर झलनाथ खनालको घटनाले बताउँछ । गत स्थानीय र संसदीय निर्वाचन प्रचारप्रसारका क्रममा केपी ओली नेतृत्वको एमाले सिद्धान्तहिन, आदर्शहिन, अन्धकारपथमा दौडिरहेको पार्टी भनेर हरेक दिन बोल्ने र भाषण गर्ने झलनाथ निर्वाचन परिणाम एमाले पक्षमा उच्च र आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को न्यूनतम र पद पाएपछि हतास मनस्थिति बनाउँदै एमाले पार्टीमा मिल्न जानुको विकल्प छैन भन्नु अदुरदर्शीताको पराकाष्ठा हो । जुन पार्टी र पार्टी नेतृत्वलाई तानाशाही, प्रतिगमनका बाहक, अन्धकारपथमा डो¥याउने भनेर आरोप लगाइन्छ, त्यही पार्टीमा विना शुद्धिकरण र आत्माआलोचना नगरी मिल्न जानुको विकल्प छैन भनेर भन्नु कुन स्तरको नैतिकता हो ?

झलनाथ खनाल मात्र हैनन् नेपाली कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा, एमालेका खड्ग ओली, ईश्वर पोखरेल, सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य, शंकर पोखरेल, पृथ्वी सुब्बा, नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र बाबुराम भट्टराई लगायत थुप्रै नेताहरूका बोली व्यवहार र क्रियाकलापहरू विश्वासयोग्य लाग्दा छैनन् । को, कतातिर र कतिखेर फर्कन्छन् के गर्छन् ? अनुमान नै गर्न सकिन्न । राष्ट्रका जिम्मेवार पार्टीहरू र ति पार्टीका महत्वपूर्ण हस्तीहरुको प्रवृत्ति ढुलमुल–ढुलमुल हुनु भनेको सिङ्गो राष्ट्रको हविगत पनि त्यस्तै हुनु हो । आज देश र जनताको मूल सवाल र समस्याहरू के के हुन् भनेर प्रश्न गर्ने हो भने निम्न कुराहरू स्पष्ट भन्न सकिन्छ । जुन कुराहरूमा पार्टीहरू र व्यक्तित्वहरू लाग्नुपर्छ ।

प्रथम
खाद्यान्न उत्पादन गर्न र राष्ट्र खानाजस्तो महत्वपूर्ण कुरामा आत्मनिर्भर हुन हरेक किसानहरूलाई र कृषि फर्महरूलाई १ बिघादेखि १० विघासम्म जग्गा–जमिनहरू उपलब्ध गराउन पर्छ, जग्गा बाँझो नराख्ने शर्तमा । अनि उक्त किसानलाई बिउ, मल, प्रविधि, प्रशिक्षण, आवश्यक कुराहरू उपलब्ध गराउनु पर्छ । साथै उत्पादित वस्तुहरू राज्यले सिधै त्यही दाम गनेर उठाउन पर्छ र शहर बम्परका टोल टोलमा डिपोहरूमा झार्नुपर्छ । तब विचौलियाप्रथा अन्त्य हुन्छ र किसान साथै उपभोक्ताहरूलाई ठूलो राहत पुग्छ । स्मरण रहोस् आज कृषिप्रधान मानिएको देश नेपालले वार्षिक झण्डै ३०० अरबभन्दा बढी चामल, मैदा, माछा, खसी बोका, राँगा–भैँसी, तरकारी, फलफूल, मसला इत्यादि आयात गरिरहेछ ।

यहाँको शासकवर्गहरूको गलत भूमिनीति मात्र हैन कमिसनको लागि विदेशी खाद्यान्न आयातमा तिनको प्रोत्साहन हुन्छ र नेपाली किसानहरूलाई दुरुत्साहन । पार्टी नेतृत्वहरू नीति निर्माता र नोकरशाहहरू त्यसमा जवाफदेही छन् ।

द्वितीय
नेपालमा झण्डै ४० लाख गाडी वाहन छन् । त्यसमा १५ लाख बस, ट्रक र साना गाडीहरू र २५ लाख दुई पाङ्ग्रे मोटाबाईक, स्कुटरहरू छन् । यी गाडीबाहनले प्रतिदिन औसत २.५२ पेट्रोलियम प्रयोग गर्छन् जुन दैनिक १ करोड लिटर हो । जसको वार्षिक मूल्य ५४८ अरब हुन आउँछ । नयाँ गाडी बाहन र तिनका पार्टपूर्जाहरूमा पनि वार्षिक खरोबौ लगानी हुन्छ ।

६० लाखभन्दा धेरै नेपालीहरू श्रमिकहरू खाडी र मलेसियामा रगत, पसिना र आँसु बगाएर वार्षिक ८.२० खरब पठाउँछन् तर नेपालको अर्थतन्त्र नै डामाडोल हुने गम्भीर वायु प्रदुषण हुने, हरितगृह प्रभाव बढ्ने र दुर्घटनामा हजारौं मृत्यु हुने यो दुश्चक्रलाई तोड्न सकिन्न ! हामीसँग प्रचुर विद्युत उत्पादन हुनसक्छ । ७७ जिल्लाहरू हरेक शहर बजारहरूमा विद्युतबाट चल्ने बस ट्रकहरू चलाउने नीतिले वार्षिक खरबौँ रूपैयाँ बाहिर जाने कुरा रोकिने छ । यो क्रमशः गर्न सकिन्छ ।

तृतीय
नेपालमा वार्षिक ३६.५ अरबको खाना पकाउने LP ग्यास भारतबाट आयात हुन्छ । काठमाडौँ, पोखराजस्ता शहरहरूमा शत प्रतिशत र गाउँ गाउँमा पनि ग्यास सिलिण्डर पुगिरहेछन् । भारतले नाकाबन्दी गरे नेपालका शहर बजारको चुलो तात्दैन र भोकै बस्न पर्ने अवस्था आउने छ । यसको विकल्प गर्नको नेपाली जनतालाई न्यूनमूल्यमा विद्युत उपलब्ध गराउने नीति अपनाउनु पर्छ, जनतालाई व्यापक प्रोत्साहन गर्न पर्छ ।

मुलुकलाई खाद्यान्न, ऊर्जा, इन्धनजस्तो महत्वपूर्ण कुराहरूमा पराधीन, र पराश्रित तुल्याउनु र देश र जनतालाई आर्थिक रूपले जर्जर पार्नुमा राज्यको नेतृत्व गर्ने राजनैतिक पार्टीहरू र यहाँको मेरुदण्डरूपी नोकरशाही वर्ग पूर्ण रूपले जिम्मेवार र जवाफदेही छ ।

नेपालमा कुनै देशभक्त र जनताप्रति माया हुने कुनै पनि पार्टी नेताहरूले माथिका सवाललाई आधारभूत विषय (button line) मानेर क्रियाशील हुनुपर्छ । कमरेड प्रचण्डको लागि यो एक ऐतिहासिक अवसर हो कि माथिका सवालहरूमा सहयोग र समर्थन जनाउने पार्टीहरूसँग मिलेर राज्यको नेतृत्व गर्ने अवधारणा बनाउन पर्छ, अरु कुराहरू भनेका गौण विषयहरू हुन् ।

कमरेड प्रचण्ड र अन्य कुनै पार्टीहरूले त्यस्तो कदम चाल्दैनन् भने तिनलाई चुनौती दिँदै मैदानमा पछार्ने आँट र हिम्मत लिएर जो रणभूमिमा उत्रन्छ, नेपाली आम जनताले ढिलो छिटो तिनैलाई साथ दिनेछ । आजका बादशाहहरू घोडाबाट अवश्य नै खस्नेछ र भुईको धुलो चाट्ने छ । नेपाल भन्ने देश हरेक कुराहरूमा आत्मनिर्भर बन्नु प¥यो, पराधीन र पराश्रित हैन । देशको नेतृत्व गर्नेहरू अक्षरस देशभक्त हुनुप¥यो । भारतको बुई चढेर सिंहदरबार र शितल निवासमा आरोहण गर्ने इरादा लिनु भएन ।