• मंसिर १३ २०८१, बिहीबार

रक्सीले मानिसको कलेजाे कसरी खाइदिन्छ ?

फाल्गुन १६ २०७९, मंगलवार

मानव शरीरका सबै अंगका आआफ्नै काम छन् । सबै अंगले राम्रोसँग काम गरेको खण्डमा मात्र हामी स्वस्थ्य रहन सक्छौं नत्र कुनै न कुनै रोगले हामीलाई पिरोलिरहेको हुन्छ । शरीरका सबै अंग महत्वपूर्ण छन् तर कलेजो कति महत्वपूर्ण अंग हो भन्ने कुरा कमैलाई थाहा होला । दिमागको काम हो सोच्ने, मुटुको काम हो रगत पम्प गर्ने, आन्द्राको काम हो खानालाई पचाउने तर कलेजोको काम के हो ?

हाम्रो शरीरको भित्री अंगको रुपमा रहेको कलेजो त्यस्तो अंग हो जुन काटेर फाले पनि फेरि पलाउँछ र पहिलाको जस्तै काम गर्न थाल्छ तर यसलाई धेरै दुःख दिइयो भने मानिसको मृत्यु पनि हुनसक्छ ।

कलेजो हाम्रो पाचन प्रणालीसँग जोडिएको हुन्छ । हामीले जे खान्छौं त्यसको पोषणतत्व र विकार सबै अन्ततः कलेजोमै पुग्ने हो । कलेजोमा नै सबै हर्मोन र भिटामिनको पुनः प्रयोग गर्ने काम हुन्छ । कलेजोले शरीरलाई चाहिने भिटाभिन्स, मिनिरल्स र रगतलाई पनि सञ्चय गरेर राख्छ र आवश्यक परेको बेलामा प्रदान गर्छ ।

शरीरमा हुने हानिकारक तत्वलाई कलेजोले सजिलै न्यूनीकरण गरिदिन्छ । साथै यसले हरेक दिन जुस तयार गर्छ, जसले आन्द्रामा गएर पाचन प्रक्रियामा मद्धत गर्छ । यसरी यसले शरीरको ब्लड सुगरलाई पनि सञ्चालन गर्छ । हामीले खाना खाएपछि कलेजोले आवश्यक शक्ति सुगरको रुपमा सञ्चित गरेर राख्छ र मानिस थाकेको बेला रगतमा पठाइदिन्छ ।

कलेजोको काम भनेको शरीरलाई शुद्धीकरण गर्ने हो । शरीरमा रहेको विकार पदार्थलाई हटाउने हो तर कलेजोलाई धेरै बोझ दिँदा यो थाक्छ र यसले गर्ने महत्वपूर्ण कामहरू पूर्ण गर्न सक्दैन । यसपछि मानिस बिरामी पर्ने सम्भावना बलियो भएर जान्छ । रक्सी खाने मानिसको कलेजो बिग्रन सक्छ भन्ने कुरा हामीले सुन्दै आएका छौं तर रक्सीले मानिसको कलेजोलाई कसरी बिगार्छ त ?

कलेजोले अल्कोहललाई पहिला एसेडिक एसिड, कार्वनडाइअक्साइड र अन्तिममा पानीमा बदलदिन्छ । एक घुट्को रक्सीले नै शरीरमा असर पुर्याउन सुरू गर्छ । पेटमा रक्सी पुगेपछि ग्यास्ट्रिक एसिडसँग जुध्छ र पाचन प्रक्रियामा प्रभाव पार्छ ।

जब मानिसले लगातार रक्सी पिउन थाल्छ तब एक दिन त्यस्तो दिन आउँछ जहाँ कलेजोले रक्सीलाई नै बोसोको रुपमा जम्मा गर्न थाल्छ र कलेजोमा बोसो जम्न थाल्छ । कलेजोको वरिपरि बाक्लो बोसो जम्दै गएपछि यसलाई हटाउनेतिर लागिएन भने कलेजोले आफ्नो काम गर्ने क्षमता गुमाउँदै जान्छ र अन्तिममा शरीरको सबै प्रणाली नै खत्तम पारिदिन्छ ।

विश्वमा अहिले कलेजोमा बोसो जम्ने मानिसको संख्या बढ्दै गएको छ । यसमा मानिसको खानपान नै महत्वपूर्ण मानिन्छ ।
एक अध्ययन अनुसार महिलाले प्रतिदिन १२ ग्राम भन्दा बढी अल्कोहल पिउन हुन्न र पुरुषले २४ ग्राम भन्दा धेरै अल्कोहल लिन हुन्न । स्वादको लागि कहिलेकाहीँ अल्कोहल लिँदा त खासै फरक पर्दैन तर लत नै बनाइयो भने यसले अकालमै मृत्यु हुने प्राय निश्चित हुन्छ ।