• मंसिर ७ २०८१, शुक्रबार

नेपाली सेनाको डेटा चोरी भएर टर्की पुग्नु एकदम नराम्रो कुरा हो : आर्जु राणा

फाल्गुन १६ २०७९, मंगलवार

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन् । मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा डिजिटल प्रणाली शुरूआत गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताइन् ।

उनले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरूरी रहेको औंल्याइन् । उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुञ्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उल्लेख गरिन् ।

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताइन् । ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौं, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो ।

जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ’, उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’