• मंसिर ७ २०८१, शुक्रबार

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने चालकलाई जहाज उडाउन रोक

फाल्गुन १५ २०७९, सोमबार

काठमाडौं । विमान परिचारिकामाथि  दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुव्र्यवहार गरेको उजुरी परेको थियो ।

विमान चालकद्वारा परिचारिकामाथि दुर्व्यवहार गरेका विषयमा उजुरी परेपछि प्राधिकरणले सो चालक दलका पाइलटलाई उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनले भने, ‘विमान परिचारिकामाथि दुव्र्यवहार गरेका विषयमा उजुरी परेको छ, यस विषयमा सत्यतथ्य बुझ्न हामीले वायुसेवा निगमलाई खबर गरेका छौँ, छानविन नसकिञ्जेल त्यो उडानका पाइलटको उडानमा रोक लगाएका छौँ ।’

उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारीसमेत गराइएको जनाएको छ । छानविन नसकिञ्जेलका लागि प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक नगर्ने जनाएको छ ।