मगर समाजमा पितृपूजा परम्पराको विशेष स्थान र प्रभाव रहेको पाइन्छ । पितृहरूलाई बराह, बराही, भरानी, बराज्यू, बज्यू–बराज्यू, बाजे–बजै, मण्डली, करवाकेली, भूमे, सिद्ध, भैरम, कुल, पिटर, कुलामी, कुलपितृ आदि अनेकौं नामबाट सम्झने र पूजाआजा गर्ने परम्परा रहेको छ । कुलपितृ सम्बन्धमा गाउँघरमा विभिन्न खाले किंवदन्तीहरू पनि सुन्न पाइन्छन् । राप्तीक्षेत्रको मगर समाजमा बाह्रभाई बाज्यू (बराह) र बाइस बहिनी बज्यू सम्बन्धी किंवदन्ती प्रचलित रहेको छ ।
यसैगरी डोल्पाली मगर समाजमा सातभाई र दुईबहिनी पितृहरूलाई पुज्ने गरिन्छ । समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वास समेत मिश्रित घटना वा जनश्रुतिलाई किंवदन्ती भनिन्छ । समाजमा भए गरेका कतिपय महत्वपूर्ण घटनाहरूलाई पुस्तौंपुस्तादेखि मौखिक परम्पराबाट सुन्दै र सुनाउँदै जानेक्रममा असामान्य, अलौकिक तथा प्रतिकात्मक बन्न पुगेका हुन्छन् । हरेक समाजका संस्कृतिमा यस्ता किंवदन्तीहरूले विशेष स्थान लिएको पाइन्छ । लिखित इतिहासको अभावमा यस्ता किंवदन्तीहरूको समाजशास्त्रीय विश्लेषणबाट पनि तथ्यको नजिक पुग्न सकिने सम्भावना रहेको हुन्छ ।
किंवदन्तीका सम्बन्धमा विलियम पी. स्कट (सन् (१९९९) ले लेखेका छन् “A highly symbolic account or story of a supernatural or extraordinary event within a culture or subculture. The myth is continually retold and contemplated for its wisdom, philosophy, inspiration or practicality.”
किंवदन्ती अनुसार रोल्पा जिल्लाको साविक थबाङ, जेलबाङ, धबाङ, मिरुल र उवा गाविसको केन्द्र तथा शिरमा रहेको जलजला लेकलाई बज्यूबराहको थलो मानिन्छ । यो स्थान समुद्र सतहबाट ३,१९३ मिटर उचाईमा रहेको छ । जलजला स्थित भामापुप (बामा कुखुरां पुरपुप) ओडार अर्थात् (माउ कुखुराले चल्ला ढाकेर बसेजस्तो देखिने ओडार) मा बाह्रभाई बाज्यू र बाइस बहिनी बज्यूलाई पुज्ने गरिन्छ । जलजलाको समथर भागमा कैलु बराह, सतदेव बराह (सिद्ध बराह), झांक्री आदिको देवस्थल समेत बनाइएको छ । यो धार्मिक स्थललाई ‘जलजला बज्यूबराह’ भन्ने गरिन्छ । ‘बज्यू’ शब्दले बाइस बहिनी बज्यू (बजै) र ‘बराह’ शब्दले बाह्रभाई बाज्यू (बाजे) अर्थात् पितृहरूलाई जनाउँदछ ।
मगर भाषामा १२ अंकलाई ‘बार्हाङ’ भनिन्छ । ‘बार्हाङ बाज्यू’ (बाह्रभाइ बाजे) भन्दाभन्दै कालान्तरमा बार्हाङ–बर्हाङ–बरहाङ–बरहाहुँदै जनजिब्रोमा ‘बराह’ शब्द प्रचलनमा आएको बुझिन्छ । तिनै बाह्रभाई र बाइस बहिनी पितृहरू नै म्याग्दी, बागलुङ, पोखरा, गुल्मी, दाङ आदि स्थानतिर बराह, बराही, भरानी आदि नामले पुजिने गरेको जनविश्वास र मान्यता रहेको छ । मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढामगरका अनुसार रोल्पाको जलजलास्थित ‘बज्यूबराह’ रुकुमको मैकोट बुकी (लेक) बाट रोल्पाको जलजला लेकमा पुगेका थिए भन्ने किंवदन्ती पाइन्छ ।
रुकुमको मैकोट क्षेत्रलाई मगर जातिको पुर्खाको उत्पत्ति भएको स्थलको रुपमा समेत विश्वास गरिन्छ । माइकल ओपित्ज सन् १९८३ का अनुसार रुकुमको हुकाम र टाका गाउँमा प्रचलित मगरहरूको उत्पत्ति सम्बन्धी किंवदन्ती अनुसार उनीहरूको पुर्खाको उत्पत्ति स्थल उत्तरगंगा र पेल्मा उपत्यकालाई छुट्याउने उत्तरी डाँडानेरको पिमाछारे भनिने चट्टाने गुफा हो । पेल्मा गाउँबाट तीनघण्टा हिँडाइको दुरीमा अवस्थित उक्त भगवानको विचरण स्थल गुस्ताङ खोला र कयामडाँडोबीचको भिरालो चट्टानलाई मानिएको छ ।
किंवदन्तीहरूका आधारमा बाह्र भाई बाज्यू अर्थात ‘बराह’नै मगरहरूको मूल पुर्खा (पितृ) भएको बुझिन्छ । बाह्रभाई बराहहरू कैलु, कुजे, सहदेउ, हाँसु, सेर्तु, एक्ले, भिराखानी, ढोर, खैलु, मैलु, छारे र चितु थिए । कैलु र सतदेवको थान जलजलामा रहेको छ । सतदेवलाई सिद्ध पनि भन्ने गरिन्छ । बागलुङको ताराखोला गाउँपालिका क्षेत्रका मगरहरूले सतदेउलाई आफ्ना कुलदेवताका रुपमा पुज्ने गर्दछन् । पाल्पाका चितौरे राना, बराल, गाहा आदि उपथरका मगरहरूले पनि बराहलाई कुलदेवताका रुपमा पुज्छन् । (बराल मगर, २०६८, १३०० ।
ढोरबराहको थान बागलुङको ढोरपाटनमा रहेको छ भने कुजे बराहको पूजा दाङस्थित बराहक्षेत्र बाह्रकुनेमा गरिन्छ । बाइस बहिनी बज्यूहरू पूव्र्यानी, रानी, चतुरमाला, शेकमाला, परमीमाला, औतानी, लुली, कुजी, सेती, काली, पहेँली, सिद्धवन्ती, रङ्माला, गङ्गामाला, पानीमाला, शङ्खमाला, गौमाला, भीउमाला, लिङ्ङुमाला, पीङ्ङुमाला, मालङ्गेनी र चालङ्गेनी थिइन् । (घर्ती मगर) २०७१, ६४ र ६९) । बाइस बहिनी बज्यूमध्ये सात बहिनी बज्यूको पूजा अगेनामा गरिन्छ ।
जसलाई चुल्होपूजा वा बज्यूपूजा भनिन्छ । शिशुको न्वारान संस्कारमा बज्यू परङ्गीको पूजा गरिन्छ । बाइस बहिनी बज्यू अर्थात् महिला पितृहरूलाई बराही र बाराही (बराहको स्त्रीलिङ्गी शब्द) कोरुपमा पनि पुज्ने गरिएको पाइन्छ । म्याग्दीमा भरानी नामले समेत पुज्ने गरिन्छ । खयर भरानी, फेरी भरानी, नाक्चे भरानी, मंगले खानी बराही, रिगात बराही, दहखर्क बराही, ठूली धुरी बराही, रुवा चउर काली बराही, रुवा चउर पाताल्नी बराही, श्रीखर्क बराही, निस्कोट बराही, गुर्जा बराही आदि म्याग्दी क्षेत्रमा पुजिने बज्यूहरू हुन् ।
समुद्र सतहदेखि ४,६३० मिटर उचाईमा अवस्थित म्याग्दीको खयर तालमा पुजिने खयर भरानी यो क्षेत्रको निकै चर्चित धार्मिक स्थल हो । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं १४ (साविक केशवटार–७) कुलुङ गाउँमा रहेको छाब्दीबाराही प्रसिद्ध धार्मिक स्थलकोरुपमा स्थापित भएको छ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं ६ स्थित रौतामाई र खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं १ स्थित बराहपोखरीलाई दिदीवहिनी हुन् भन्ने किंवदन्ती पाइन्छ ।
राना मगर पुजारी रहेको रौतामाई धार्मिक स्थलमा नेपालका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट समेत भक्तजन आउने गर्दछन् । मगर जातिको पितृपूजा परम्पराबाट स्थापित बज्यूबराह अर्थात् बाराही एवम् बराह देवस्थलहरूमा नेपालका हिन्दू तथा बौद्ध समुदायले पनि आ–आफ्नै धार्मिक मान्यता र विश्वासका आधारमा पूजा गर्दै आएको पाइन्छ । काठमाडौंका बौद्ध बज्रयानी नेवार समुदायले छाब्दीबाराहीलाई इष्टदेवीको रुपमा मान्ने गर्दछन् ।
काठमाडौं उपत्यकामा चार दिशामा चार बाराही बज्रबाराही, स्वेतबाराही, नीलबाराही र धुमबाराही रहेको पाइन्छ । बज्रयोगिनी, बज्रबराही, बज्रभैरब आदि बौद्ध धर्मका बज्रयानी सम्प्रदायका देवीदेवता भएको संकेत मिल्दछ (मनुकर्मी, २०४६, १०० । यस अर्थमा पनि बौद्ध बज्रयानी सम्प्रदायका नेवारहरूले छाब्दीबाराहीमा पूजा गर्न आउने गरेको पाइन्छ । बौद्ध बज्रयानी नेवारहरूले रक्सी र मांसयुक्त प्रसाद चढाउने गर्दछन् ।
यसैगरी नेपाली हिन्दू समुदायले पनि मगर पुजारी रहेका बज्यूवराह देवस्थललाई शास्त्रीय मान्यताका आधारमा ‘बराह’र ‘बराही’को रुपमा व्याख्या गरेको पाइन्छ । संस्कृत भाषामा सुंगुर वा बनेललाई बराह भनिन्छ । विष्णु भगवानका दश अवतारमध्ये मत्स्य अवतार र कच्छप अवतार पछिको तेस्रो अवतारलाई बराह अवतारको रुपमा पुराणमा वर्णन गरिएको छ । व्यासद्वारा रचित अठार पुराणमध्ये एक बराह पुराणमा बराह–अवतारको महात्म्य वर्णन गरिएको छ । यसैगरी हिन्दू धर्मशास्त्रमा तान्त्रिक देवीदेवतामा अष्टमातृका गण बह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी (भद्रकाली), बाराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मीको वर्णन गरिएको पाइन्छ । यी मध्येकी बाराहीदेवीको रुप र ध्यान यस प्रकार उल्लेख गरिएको छ ।
ततोध्यायेद घनश्यामां त्रिनेत्रा मुन्न तस्तनीम । कोलास्यां चन्द्रमालां च दष्ट्रिध्दृ तव सत्रुन्धराम ।।
खडगाङ कुशी दक्षिण योर्वाम योश्र्वर्म पाशको । अश्वारुढां भीषणास्यां नानालङ्कार भूषिताम् ।।
घोडामाथि चढेकी, चारबाहुमा दाहिने हातमा खड्ग र अंकुश तथा बायाँमा ढाल र पाश समातेकी बँदेल मुख भएकी, डरलाग्दो अनुहार भएकी, अनेक प्रकारका गहनाहरूले सिंगारिएकी, स्तन उठेकी दाह्राले पृथ्वी बोकेकी, घनश्याम वर्ण (खैरो) भएकी, तीन आँखाले सुशोभित भई जगतका मालिक बनेकी देवी हुन् (मनुकर्मी, २०४६, १०० ।
मगर समाजमा लौकिक एवम् तान्त्रिक विधिबाट पुजिने पितृहरू बज्यूबराहलाई बहुलवादी नेपाली सामाजिक संरचना अनुरुप सबै समुदायका भक्तजनले आ–आफ्नै मान्यता र विश्वासका आधारमा सम्मान जनाउनुलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको उत्कृष्ट नमूनाको रुपमा बुझ्न सकिन्छ । सामाज साँस्कृतिक अन्तरघुलन र समन्वयका कारण मगर जातीय चाडबाड तथा धार्मिक स्थलहरू वर्तमान समयमा नेपाली राष्ट्रिय संस्कृतिको रुपमा परिचित हुन पुगेको देखिन्छ ।
प्राचीन समयमा हाम्रा पुर्खाहरूले पानीको स्रोतयुक्त लेकाली पाटनहरूमा पशुपालन गरेर जीवन निर्वाह गरेकाले नै बज्यूबराहका थानहरू उच्चभेगमा रहेका ताल एवम् झरनाहरूमा स्थापित भएका हुन् । उच्च लेकाली भेगका बराह वा बाराहीका थानहरूमा अहिले पनि सोही भेगका गाउला मुखिया (नाइके गोठाले) कुमार केटो पुजारी बन्ने परम्परा रहेको छ । तिनै पुर्खाहरूले स्थापना गरेर आफ्ना सन्ततिहरूलाई हस्तान्तरण गरेका बुकीका भेडीगोठका साँढहरू सम्मान स्वरुप बलि चढाइन्छ । तिनै बज्यू बराहहरूले उत्पादन गर्न सिकाएका अन्नहरू प्रसादका रुपमा चढाइन्छन् । पशुधन, अन्नबाली र पारिवारिक सुख–शान्तिको निम्ति हरेक वर्ष श्रावण पूर्णिमाको दिन बराह अर्थात पितृहरूको आराधना गरिन्छ ।
पितृ पूजा परम्परा र डस्याक्के (दसैं) :
उन्नाइसौं शताब्दीदेखि धर्मको उत्पत्ति बारे विस्तृत विश्लेषणात्मक अध्ययन शुरु भएको देखिन्छ । प्रसिद्ध मानवशास्त्री एडवर्ड टेलरको अध्ययनलाई नै धर्मको उत्पत्ति सम्बन्धी पहिलो मानवशास्त्रीय अध्ययन मानिन्छ । उनले प्रकृतिपूजक विश्वाससँग सम्बन्धित पूर्खापूजा परम्परालाई पहिलो धर्मको रुपमा व्याख्या गरेका छन् । यो परम्परामा दिवंगत पूर्वजहरूलाई पनि आफ्नो परिवारको सदस्यको रुपमा लिइन्छ तथा उनीहरूको आत्माले जीवितहरूको कार्यमा हस्तक्षेप गर्न सक्ने क्षमता राख्ने कुरामा विश्वास गरिन्छ ।
अर्का मानवशास्त्री मेयर फोर्टस्ले प्रसिद्ध फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिमको उपयोगितावादी र आवश्यकतावादी सिद्धान्तको आधारमा अफ्रिकी तालेसी समाजमा प्रचलित पितृपूजा परम्पराको विश्लेषण गरी पितृपूजा जस्ता आदिधार्मिक भावनालाई संस्कारगत गर्दा लोकधर्मको जन्म भएको निष्कर्ष निकाले । मनोविश्लेषक फ्रोएडको विचारमा अभिचार तथा पितृपूजा नै मानव सभ्यताको आदिधर्म हो । अभिचारका माध्यमबाट मानिसले आफ्नो तनावलाई नियन्त्रण गरी सहज अवस्थामा आउने प्रयास गरेको हुन्छ ।
मेलफिटको विचारमा धार्मिक भावनाले मत्र्य र अदृश्य संसारबीच निकट सम्बन्धको परिकल्पना स्थापित गरायो । परिवारका कुनै सदस्यको भौतिक अवसान हुनु परिवारकै लागि ठूलो क्षतिको घटना हो । आदिमानवले यसलाई ज्यादै गम्भीरताका साथ लियो । यस क्षतिले दैनिक क्रियाकलाप मात्र होइन, सामाजिक व्यवस्था, सामूहिक क्रियाकलाप, योजना र कार्यक्रममा समेत अचानक संकट पर्यो । अतः मरेपछि पनि त्यस पुर्खाको देनलाई उसका सन्ततिले बिर्सन सकेनन् । फलत पितृ वा पुर्खाको पूजाको चलन शुरू भयो । पितृहरू पारिवारिक वा सामुदायिक एकता र ऐक्यवद्धताका प्रतीक बन्न पुगे । भौतिकरुपमा नरहे पनि उनीहरू अध्यात्मिक रुपमा परिवारका सदस्य रहिरहे ।
पितृ शब्दले माता–पिताका अतिरिक्त सम्पूर्ण पूर्वज वा पुर्खाहरूलाई जनाउँदछ । आमाबाबाले कुनै फलको आशा नगरी निस्वार्थरुपमा आफ्ना सन्तानको पालनपोषण गर्दछन् । त्यसैले सन्तान माथि आफ्ना पुर्खाको ऋण तिर्ने दायित्व हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । आमाबाबा तथा बाजेबजै आदिको जीवनपर्यन्त आदर एवम् स्नेह भावका साथ सेवा गर्नु र उनीहरूले देखाएको मार्गमा हिंड्नु तथा मृत्युपर्यन्त उनीहरूलाई देवतुल्य स्थानमा राखेर पूजा गर्नु असल सन्तानको कर्तव्य मानिन्छ । पुर्खापूजा गर्ने प्रवृत्ति र परम्परा विश्वव्यापी रुपमा एसिया, अफ्रिका, युरोप तथा नेटिभ अमेरिकामा रहेको देखिन्छ ।
चीन, जापान, ग्रीस, रोम, मिश्र आदि प्राचीन सभ्यतामा यो परम्परा धेरै सशक्त थियो । चिनियाँ कन्फुसियन, बुद्धिष्ट र लोक अवधारणामा पनि पुर्खापूजाको अभ्यासलाई प्राथमिकता दिइएको पाइन्छ । अहिले पनि पितृपूजालाई धेरैजसो संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कार मानिन्छ । पितृ वा पुर्खापूजाका थान वा देवस्थलहरू घरपरिवार भित्रको, कुलवंशज समूहभित्रको र नाता कुटुम्ब समूह भित्रको गरि तीन प्रकारका हुन्छन् भने कतिपय पितृपूजाका देवस्थलहरू सार्वजनिक अर्थात् सबैको साझा आस्थाका देवताकोरुपमा पनि विकास भएको पाइन्छ ।
घरपरिवारबाट कुलवंशज समूहको स्तरहुँदै नाता–कुटुम्ब सञ्जालभित्र विशेष महत्वपूर्ण स्थान पाउन थालेपछि यस्ता पितृपूजा परम्पराबाट विकसित राजकीय देवस्थलहरू साझा आस्थाका केन्द्रमा रुपान्तरित हुनपुगेको देखिन्छ । प्राचीन कालदेखिको पितृपूजा परम्पराले जापान, चीन, कोरिया लगायत पूर्वी एसियामा आजसम्म पनि लोकप्रियता कायमै राखेको पाइन्छ । जापानमा प्राचीनकालदेखि उजी गोत्र समूहको पितृपूजामा आधारित लोकधर्मले लोकप्रियता पाएको देखिन्छ ।
यो समूहले कालान्तरमा धार्मिक एवम् राजनीतिक एकाइका रुपमा सक्रियहुँदै राजकीय मान्यता पाएको थियो । पछि चीन र कोरियाबाट कन्फुसियस, ताओ, शिन्तो, बौद्ध आदि संगठित धार्मिक मतहरू जापान प्रवेश गरे पनि पितृपूजामा आधारित जापानी लोकधर्मले ती संगठित धर्महरूलाई प्रभावित गरेको देखिन्छ । चिनियाँ कन्फुसियस धर्म पनि पितृपूजामा आधारित धर्म नै हो । जापानीहरूले मृत्यु संस्कारको क्रममा निर्मित स्मारक चक्कीहरूलाई शुद्धिकरण प्रक्रिया अन्तर्गत बौद्ध देवस्थलबाट शिन्तो देवस्थलमा सार्ने गर्दछन् ।
जसको तात्पर्य मृताआत्माले अपवित्रताबाट पवित्रता वा देवत्व प्राप्त गरिसकेको भन्ने हो । अर्थात् पितृपूजाको मुख्य उद्देश्य पितृलाई बुद्धत्वबाट देवत्वमा पुर्याइ प्रतिष्ठापित गर्नु देखिन्छ (खत्री, २०५५,१४५) । हिन्दू आर्य समाजमा पितृतिथिमा वार्षिक श्राद्ध गर्ने, पितृकार्य गरिने गया, ब्रह्मकपाली आदिमा पितृतीर्थ जाने, श्राद्ध वा औंसी तिथिमा पितृदान गर्ने, पितृपक्ष अर्थात् आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र दिन श्राद्ध गर्ने चलन पाइन्छ । हिन्दू समुदायमा पुजिने ब्रह्मा, विष्णु, महेश्वर, कृष्ण, राम आदि देवताहरू पनि तत्कालीन शक्तिशाली गोत्र समूहका पितृ नै हुन् । धार्मिक एवम् राजनीतिक एकाइका रुपमा सक्रिय समूहका पितृहरूलाई कालान्तरमा सिङ्गो समाजले देवत्व प्रदान गरेको हो ।
नेपालको राप्ती–गण्डकी प्रश्रवण क्षेत्रको मगरात सभ्यतामा विकसित भएको पितृपूजामा आधारित लोकधर्मले बाइसी–चौबीसीकालमा राज्य स्तर र नेपाल एकीकरणपछि राष्ट्रिय स्तरमा प्रभाव पारेको देखिन्छ । उनीहरूका गोत्यारका पुख्र्यौली देवता नै पछि राज्यका संरक्षक देवता तथा सम्पूर्ण राज्यशक्तिका महत्वपूर्ण स्रोतका रुपमा रुपान्तरित भएको पाइन्छ ।
आलमदेवी, कास्कीकोट, लमजुङकोट, गोरखकाली, सल्यानकोट, मनकामना, मुसीकोट, चित्रीपाटन महाकालीमाई, बल्ढेङ्गढी कुवारीदेवी, थन्थापीमाई, उलुक छत्रकोट, ढोरबराह, जलजला बजुबराह, खयर भरानी, छाब्दी बाराही, बराहक्षेत्र बाह्रकुने, रौतामाई, सत्यवती बज्यै, बज्यूबराज्यू, मण्डली, बूढासुब्बा, देवचुली बड्चुली मायू (घाँटुदेवी), अकलादेवी, रैनादेवी, करवाकेली, ज्वालादेवी आदि देवस्थलहरू कुनै गोत्यार समूहको पितृपूजा परम्पराबाटै स्थापित भएर कालान्तरमा क्षेत्रीय तथा राष्ट्रियस्तरमा चर्चितहुँदै सबै नेपालीको साझा आस्थाको केन्द्र बन्न पुगेका हुन् । यी सबै देवस्थलहरूमा मगर पुजारीको परम्पराले निरन्तरता पाइरहेको देखिन्छ । मगर समाजको कुल वा गोत्यार समूहमा पुजिने पितृहरूको पूजा शुक्लपक्ष तिथि पारेर गरिएको पाइन्छ ।
खासगरी आश्विन शुक्लपक्षमा डस्याक्के –थालनी) गरेर माघमा समापन गरिन्छ । दसैंको षष्टी तिथि (आश्विन शुक्लपक्ष षष्टी तिथि), अष्टमी र नवमीमा पितृपूजा गरिने परम्पराका कारण मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरूमा पनि सोही समयमा विशेष पूजाआजा हुने गरेको पाइन्छ । आश्विन शुक्लपक्षमा एकाघर परिवारमा पितृपूजा गरेपछि मंसिर शुक्ल पञ्चमी वा दशमी वा पूर्णिमा तिथि पारेर गोत्यार समूहमा कुलपूजा गर्ने परम्परा रहेको पाइन्छ । यसका अतिरिक्त माघे सङ्क्रान्ति वा श्रीपञ्चमीमा पनि कुलपितृ पूजा गर्ने चलन रहेको छ । बागलुङ, गुल्मी, अर्घाखाँची आदि भेगका ‘चारनाल–तीनघर–बाह्रखाल’ समूहका मगर (साइँरसाही, खाइँ, दगाइँ र भलाइँ अन्तर्गतका पुन, श्रीस र घर्ती) ले आश्विन शुक्लपक्ष षष्टी तिथि (दसैंको षष्टी) का दिन पितृपूजा गर्ने परम्परा रहेको छ ।
यसैगरी रुकुम र रोल्पा (रुमा मैकोट, महत, खलंगा, कोल, रुघा, काँडा आदि स्थान) का पुन, घर्ती, राना, बुढा आदि थरका मगरहरूले पनि दसैंको समयमा कोटपूजा, पिटरपूजा र कुलामी नामले कुलपितृ पूजा गर्दछन् । (मगर अध्ययन केन्द्र, २०६३, २५० । यो क्षेत्रको मगर समाजमा दसैंको अष्टमीका दिन नौलादेवीको पूजा गरी कुलको जेठो व्यक्तिलाई सिरतु पुर्याउने र दवारा–जम्जित्या र तिहार) मा बजाइने बाजा खोलिन्छ (घर्ती मगर, २०७१, ७१ र ८४० । असोज महिनामा यो भेगको मुख्य अन्नबाली मकै भित्र्याइने भएकाले नै पितृपूजा गरेर टीका जमरा लगाउने, मारुनी नचाउने र पिङ खेल्ने चलनको थालनी गरिएको बुझिन्छ ।
पितृपूजाको परम्परा खासगरी बालीनालीको राम्रो उत्पादन र घरपरिवारको सुस्वास्थ्य एवम् संवृद्धिको कामनासँग अन्तरसम्बन्धित रहेको हुन्छ । त्यसैले वर्षभरिको मुख्यबाली भित्र्याउँदा पितृ र प्रकृतिलाई धन्यवाद दिन र उनीहरूबाट आशीर्वाद लिनका लागि घरघरमा पितृ, प्रकृति र कृषि औजारको पूजा गर्ने चलन बसालिएको बुझिन्छ । यो समयमा फूल उपलब्ध नहुने भएकाले हिउँदे बाली जौं (मकै स्याहारेपछि लगाइने बाली) को जमरा उमारेर फूलको रुपमा प्रयोग गर्न थालियो ।
मंसिरमा धान बाली भित्र्याइने र गहुँ, जौं जस्ता हिउँदे बाली लगाइने हुँदा राम्रो उत्पादनको कामना गर्दै मंसिर शुक्लपक्ष पञ्चमी वा दसमी वा पूर्णिमा तिथि पारेर समूह–समूहमा कुलपूजा (गोत्यार समूहको पितृपूजा) गर्ने चलन बसालियो । असोज र मंसिरमा गरिने पितृपूजालाई उँधौली पितृपूजा र माघमा गरिने पितृपूजालाई उँभौली पितृपूजा भन्ने गरिन्छ । उँभौली यामको प्रारम्भ माघे सङ्क्रान्ति र श्रीपञ्चमीको समयमा रुकुम रोल्पातिरको मगर बस्तीमा विशेष रुपमा पितृपूजा गर्ने परम्परा पाइन्छ । माघे सङ्क्रान्तिका दिन कुलपितृका प्रतीक घरको मयन खाँबो (धुरी खाँबो) मा दही–चामलको टीका र जमरा लगाउने गरिन्छ ।
माघको बिहीवार पारेर मृतक पुर्खाहरूको नाममा स्थापित बिसौनीका लिखिनदुङ र मौलाहरूमा दही–चामलको टीका र जमरा लगाइदिएर कुखुरा, जाँड–रक्सी, भात, रोटी, दूध, दही आदि पितृसास (प्रसाद) चढाउने गरिन्छ । पितृपूजाको लागि गोत्यार समूहको जोठो व्यक्तिले पोन (पुजारी) को भूमिका निभाउने गर्दछन् । (घर्ती मगर, २०७१, ६२० ।
वर्षेबाली (मकै) भित्र्याउने समय आश्विन शुक्लपक्षमा पितृपूजाको थालनी (डस्याक्के) गरेर हिउँदेबाली (तोरी) भित्र्याउने समय माघमा समापन गर्ने परम्पराबाट दही–चामलको टीका र जमराको प्रयोग, मारुनी नाच, देउसी–भौलो, पिङ र कोट–मौला पूजाको उत्सव विकास भएको बुझिन्छ ।
पितृपूजाको थालनी अर्थात् ‘डस्याक्के’भन्ने सन्दर्भमा डसैं (दसैं) उत्सवको उद्भव भएको हो । बालीनाली लगाउने र स्याहार्ने समयमा आवश्यक पर्ने कृषि औजार पुज्ने चलनबाट नै कोटपूजा र सरायँ नाचको परम्परा विकास भएको हो । कोट भनेको हतियार (हँसिया, बन्चरो, कोदालो, फाली, भाला, खन्ती, खुँडा, तरवार आदि) भण्डार हो । बाइसी–चौबीसी कालमा सुरक्षा किल्ला र गढीहरूमा राखिएका खुँडा, खुकुरी, भाला आदि हतियारहरूलाई पनि आश्विन शुक्लपक्षमा पितृपूजाको समयमा पुज्न र प्रदर्शन गर्न थालियो ।
यसैक्रममा कोटपूजा र सरायँ नाचको थालनी भयो भने नेपाल एकीकरण (कब्जा) ताका कोटपूजा नै देवीपूजामा रुपान्तरण हुन पुग्यो । मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरू आलमदेवी, गोरखकाली, कास्कीकोट, लमजुङकोट, सल्यानकोट, मनकामना, मुसीकोट, बुढासुब्बा आदि पितृपूजा परम्पराबाटै विकसित भएकाले नै आश्विन शुक्लपक्ष अर्थात् दसैंमा पितृ प्रतीक मौला पुज्ने, दही–चामलको टीका र जमरा चढाउने तथा सुंगुरको बलि दिने गरिन्छ ।