काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवान्युगिनिया (पीएनजी)विरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। टस जितेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि गुल्सन झाले अर्को विकेट लिएका हुन्।
पीएनजीका किल्पिन दोरिगा ५९ बलमा २९ रन बनाएर झाको बलमा करण केसीबाट क्याचआउट भए। यसअघि पहिलो विकेट बलर सोमपाल कामीले लिएका थिए। उनले तेस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन्।
दुबईको इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा २०औं ओभर सकिँदा दुई विकेटको क्षतिमा पीएनजीले जम्मा ६८ रन बनाएको छ।
नेपाल यो सिरिजका सबै खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। अब हुने ८ खेलमा ७ वटा जितेमा नेपाल उत्कृष्ट तीनमा पुग्दै विश्वकप टनोट खेल्नेछ। एक दिवसीय मान्यता जोगाउनका लागि कम्तिमा पाँच खेल जित्नुपर्ने चुनौती नेपालसामु छ।