• मंसिर १७ २०८१, सोमबार

औषधीको झोला फालेर बन्दुक टिपेका चे

फाल्गुन १२ २०७९, शुक्रबार

दोस्रो विश्वयुद्धपछि सन् १९५४ तिरको कुरा हो । एक दिन २८ वर्षिय क्युवाली क्रान्तिकारी युवानेता फिडेल क्यास्ट्रो दक्षिण अमेरिकास्थित मेक्सिकोको एउटा दूरदराजमा रहेको गाउँतिर जाँदै गरेको थोत्रो र पुरानो रेलमा यात्रा गरिरहेका थिए ।

उनी निर्वासित थिए र निकै सोचमग्न अवस्थामा थिए । रेल निरन्तर अघि बढिरहेको थियो । रेलका हरेक डिब्बामा गरीब दुःखीहरू खचाखच बसिरहेका थिए । रेलको एक डिब्बाबाट अर्को डिब्बामा जानका लागि हिंड्ने ठाउँसम्म पनि थिएन ।

क्यास्ट्रो जत्तिको सोचमग्न थिए, त्यत्तिकै ती गरीबको दुर्दशा देखेर एकाग्र बनिरहेका थिए । क्युवामा बहुभाषी मानिसको बसाइ भएकाले उनले मेक्सिकोमा बोलिने भाषा पनि जान्दथे । उनले ती गरीबका सुखदुःखका कुरा सुनिरहेका थिए ।

घाइते तथा गम्भीर बिरामी रोइरहेका थिए । कतिपयले भगवानलाई दोष दिइरहेका थिए भने अरू कतिपयले आफ्नो कर्म र पूर्खालाई श्रापिरहेका थिए ।

त्यत्तिकैमा एकजना मेडिकल डाक्टर आए । उनको पिठ्युँमा औषधिको ठूलो झोला थियो । हातमा औषधिका पोका र सिरिञ्ज थिए । रोइरहेका मानिस ती डाक्टरको गोडामा घोप्टिए । रेल निरन्तर चलिरहेको थियो । ती डाक्टरले रोगीको स्थिति हेरेर जाँच गर्न सुरू गरे ।

तिनको ठेगाना सोधे, उमेर र गर्ने कामबारे पनि विवरण लिए । उनले हरेकलाई जाँचपछि रोगको निदानसहित औषधि हात पारिदिए । औषधि हातमा लिएकाहरू फेरि उनको गोडामा घोप्टिएर पुकार गरे– ‘हे भगवान ! तिमी साक्षात रूपमा डाक्टर बनेर आयौ, हाम्रो उपकार भयो ।’

रेलको एउटा सिटको कुनातिर बसेका युवा नेता फिडेल क्यास्ट्रोले यी सबै गतिविधि नियालिरहेका थिए । डाक्टरको बोलीको लवजबाट यी अर्जेन्टिनी हुन् भन्ने उनलाई लागिसकेको थियो । उनी हुलिया र कर्मका आधारमा ती डाक्टर चे ग्वेभारा नै भएको निष्कर्षमा पुगिसकेका थिए ।

उनलाई मनमा लागिरहेको थियो, जीर्ण शरीर भएका यी विरामीले त्यति ‘हाइ डोज’का औषधि कसरी पचाउलान् ? उनीहरूको घरमा सन्तुलित आहारा त पक्कै पनि छैन । दूध, फलफूल र भिटामिनको कुरै नगरौं ।

बिरामी निको होऊन् भन्ने उद्देश्यका साथ चे ग्वेभाराले महंगा र राम्रा खालका औषधी दिइरहेका थिए । त्यो पनि निशुल्क । जब चे ग्वेभाराले रेलको त्यो डिब्बामा बसेकालाई जाँच गरिसके तब उनको आँखा एक्कासी कुनामा बसेको अग्लो शरीरमाथि पर्न गयो ।

चेले यी मानिस पक्कै फिडेल क्यास्ट्रो हुन् भन्ने लख काटेर नजिक गई कानमा खुसुक्क सोधे– ‘यदि म भ्रममा छैन भने तपाई फिडेल हो ?’ फिडेलले स्वीकार गर्दै टाउको हल्लाए ।

फिडेलले भने–‘यी मानिस त्यसै पनि मर्ने नै हुन्, किन यति महंगो औषधि बाँडिरहनु भएको ?’ यो क्रान्तिकारी युवाले किन यसो कुरा गरेको होला भनेर चे तीन छक परे । उनले सोधे, ‘किन ?’ फिडेलले जवाफ दिए– ‘किन कि यति हाइ डोजको औषधि पचाउन उनीहरूलाई सन्तुलित भोजन कसले देला, सन्तुलित आहारा विनाको यो औषधिले त उनीहरूलाई थप जोखिममा पुर्याउँछ ।’ चे नाजवाफ भएर उभिइरहे ।

चेले औषधिको गह्रुंगो झोला फिडेलको अगाडि राखेर सोधे, ‘यी औषधि फालिदिऊँ त ?’ फिडेलले भने, ‘के काम सबै फालिदिनूस् ।’ चेले आफूले दिएको हाइ डोजको औषधि पचाउन गिलासभरि दूध, कचौराभरि मासु, थालभरि भात, दाल र हरियो तरकारी अनि टोकरीभरि फलफूलको परिकल्पना गरे । नत्र त पाँच सय र हजार एमजीका औषधि ती जीर्ण शरीरले कसरी पचाउने ? निकै बेर घोरिएर चे खुइय गरे ।

अघि भर्खरैसम्म संसारमा रहेका मानिसमध्ये सबैभन्दा परोपकारी, सबैभन्दा सन्तुष्ट र पुज्य मानिस चे अब दुविधामा फसे । उनले सोचे, मैले गरेको काम के अपूर्ण र व्यर्थ छ त ? फिडेलले उनको दुविधा चिर्दै भने, ‘तपाईले गरेको काम परोपकारको कोटीमा त पर्छ नै, तर मानव जातिको कल्याण गर्ने महायज्ञको कोटीमा पर्दैन ।’

फिडेलको आशय थियो मानव जातिको कल्याणका लागि औषधि प्राप्त गर्नुपूर्व अर्को कुरा प्राप्त गर्नु जरूरी छ, त्यो हो ती दुःखीगरीब जनताको सेवामा प्रतिबद्ध जनताको शासन व्यवस्था । जसले ती गरीबका थालमा दाल, भात, तरकारी, कचौरामा मासु, टोकरीमा फलफूल राखिदिने अवसर जुटाइदिओस् ।

फिडेलको यो आशय बुझेपछि चे ग्वेभारा निशुल्क औषधि वितरण गरिरहेको औषधिको झोला भिर्न छाडेर फिडेलसँग क्युवाको मुक्ति र क्युवाली जनताको स्वतन्त्रताका लागि जीवनमरण संघर्षको यात्रामा सदा समर्पित भए । क्युवा मुक्त भयो, त्यहाँका गरीब जनता थालमा दाल, भात, तरकारी, कचौरामा मासु, टोकरीमा फलफूल राखेर स्वस्थ, उन्नत र शिक्षित जीवन जीउने हैसियतमा पुगे ।

क्युवा आजको २१औं शताव्दीको विश्वमा ‘टप टेन’ स्वस्थ, जीवन्त, शिक्षित तथा भ्रष्टाचारमुक्त मानवीय संस्कृतियुक्त देशमा दर्ज भएको छ ।
त्यसैले सक्छौ र आँट छ भने उत्साह र स्वतन्त्रता आफूभित्रै खोज ! मात्र बाहिर हेर्यौ भने माथि केवल अनन्त खुल्ला आकाश छ र मुनि क्षितिज परसम्म फैलिएको गोलो पृथ्वी ! तर स्वतन्त्रता केवल तिमीभित्र छ ।