भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप फुटबल–२०७९ को दुवै सेमिफाइनलका खेलहरू बिहीबार हुँदै छ ।
पहिलो खेल आयोजक भक्तपुर युवा टीमकाविरूद्ध द हेलिङ होम एफसी र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच हुने जानकारी म्याच कमिसनर अनिल सुकुपायोले दिए ।
क्वाटर फाइनल खेलअन्तर्गत बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए ।
त्यस्तै बुधबार नै सम्पन्न सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सीओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ ।
खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरूण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सीओबी युथ क्लबका मदन पौडेल उदयीमान खेलाडी घोषित भए ।