काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरुबाट ऋण लिन नपाउने भएका छन् । केन्द्रीय बैंकले बुधबार लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
साथै, एउटा व्यक्तिले एउटा लघुवित्तबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । ‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ’ निर्देशनमा भनिएको छ, ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैन ।’
अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीले स्वघोषणा गर्नुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने बैंकले जनाएको छ ।