फागुन २५ गते हुँदै गरेको नयाँ राष्ट्रपतिको निर्वाचन स्वदेशी र विदेशी शक्ति तथा शक्ति केन्द्रहरूका लागि ‘अवसर’ बनेर उभिएको छ । यो अवसरले सायद अबका ५ वर्षभित्र ‘नयाँ केन्द्र’ को काम गर्नेछ । हालसम्म विद्यमान राजनीतिक सङ्क्रमणले एक निस्चित ‘कोर्स’ लिनेछ ।
यसैको अभिव्यक्ति पहिले लबिङ र गठबन्धनको आवरणमा देखा परेको रस्साकस्सी अहिले आएर पात्र छनौटको विशिष्ट मोडमा पुगेको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गरेसँगै यो मूर्तिकरणको दिशामा सोझिएर जान थालेको छ ।
देशमा सङ्घीय सम्विधान बनेसँगै यसको कार्यान्वयनमा श्रृङ्खलाबद्ध अबरोध खडा हुँदै आएको हो । यसका बारेमा साधरण जनता पनि अनभिज्ञ छैनन् । सङ्घीयता कार्यान्वयनका लागि पहिलो सिङ्गो आवधिक निर्वाचन र यसबाट चुनिएका जनप्रतिनिधिको शासन काल पनि सकियो ।
तर दुर्भाग्य ! संघीय कानुन पनि निर्माण हुन सकेनन् । कार्यान्वयनको त कुरै छाडौं । त्यसैले ती सबै संसदमा विधेयकका रूपमा थाती छन् । भखैरै सम्पन्न दोस्रो आवधिक निर्वाचन पछि बनेको सरकारका गति, मति र इच्छाशक्तिमा बौडिने वा मर्ने अवस्थामा छन् ती सबै !
यसको चाबी राष्ट्रपतिको ओहदा र जिम्मेवारीसँग छ । सके अन्तिम स्वीकृति दिन अस्वीकार गर्ने, नभए त्यसलाई लामो समय अल्झाइरहने अधिकार छ राष्ट्रपतिसँग ! जमाना अविश्वास, भय र त्रासदीको छ । प्रतिनिधिले राम्रो काम गर्लान् भन्ने होइन, के के बिगार्दैछन्, के के शक्तिकेन्द्रहरूलाई सुम्पदै छन् र के के उनीहरूका वैयक्तिक स्वार्थका लागि प्राप्त गर्दैछन् भन्ने जनतामा आशङ्का व्यापक छ ।
सायद संसद र सरकार जता पनि ढलपल गर्नसक्ने असन्तुलनको अवस्थामा छ । यो भनेको जसले पनि आआफ्नो स्वार्थमा ढल्काउन सकिले अवस्था छ । यसरी ढल्काउँदा दुध आआफ्नो भाँडोमा खसोस् भनेर यसको मुखरूपी राष्ट्रपतिको ओहदा अहिले आआफ्नो अनुकूलको ‘पात्र छनोट’ को अववस्थामा पुगिसकेको छ ।
यसको लबिङ राष्ट्रिय खेलमैदानदेखि अन्तर्राष्ट्रिय चलखेल मैदानसम्म पुगेको छ । यसको दायरा फराकिलो हुँदै गएको छ । यस अर्थमा यो त्यति हानिकारक छैन पनि । तर नेपालको आफ्नो सीमा छ, सार्वभौमसत्ता छ र आफ्नो विशिष्टतासहितको स्वार्थ र मौलिकता पनि छ ।
एउटा मृगलाई पाटेबाघ, सिंह र चितुवाले ‘मतिर आऊ’ भनी तानातान गर्न थाले भने मृगको प्राण वा अस्तित्व रहला वा नरहला, यो मृगरूपी नेपाल र यहाँका शासन सत्तामा हर्ताकर्तारहेकाहरूले सोच्ने र विचार पुर्याउने कुरा हो । यो गम्भीरताको बोध नेपाली जनताले पनि जनस्तरसम्म गरिसकेका छन् ।
नेपालका राष्ट्रपतिको पात्र छनौट विदेशी सिद्धहस्त कुटनीतिज्ञहरूले फेसबुक र ट्वीटरमार्फत् सार्वजनिक गर्न थालेपछि अब यो कुनै नवौं आश्चर्यको विषय रहेन । नेपालमा हालसम्म ‘आलङ्कारिक’ रहेको भनिएको राष्ट्रपतिको पद अब कार्यकारी बन्दै पनि गइरहेकोमा कुनै आशङ्का छैन ।
तर दुःखको कुरा यही हो कि नेपाली जनताले राष्ट्रपति कार्यकारी बनाउने भन्दा पनि विदेशी शक्तिले कार्यकारी बनाएर देखाउने अवस्था सिर्जना हुन गयो । विज्ञहरूका अनुसार राष्ट्रपति को बन्ने भन्ने विषय देशभित्र पारदर्शी रूपमा छलफल हुन नसक्दा विदेशी शक्तिले खेल्ने मौका आएको हो ।
राष्ट्रपति अरू देशले मनोनयन गरिदिने होइन । यो नेपालको आन्तरिक मामला पनि हो । यो काम देशका प्रतिनिधिहरूले गर्ने हो । तर अवस्था भने अहिले ‘यसो गर र उसो गर’ भन्नेसम्म पुगेको छ । यो नेपाली शासकहरूको नालायकीपन हो । खेद यही कुरामा छ ।
नेपाली राजनीतिक दल आफैँले निमन्त्रणा गरेपछि विदेशी शक्तिको चलखेल उनीहरूका लागि अस्वभाविक हुने कुरा पनि भएन । कुन विदेशी शक्ति बोल्दा नेपालको कुन राजनीतिक शक्तिलाई स्वाद लाग्छ, त्यसैमा रमाउने र ‘खुच्चिङ’ भन्ने प्रवृत्तिले यसो हुन गएको हो ।
कुरा गर्न हाम्रा नेताहरू खप्पिस छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा रूसले चासो राखेको र हालका जो वाइडन हुँदा चीनले चासो राखेका कुरा खुब सुनाउँछन्, तिनका पार्टी कार्यकर्तालाई ! पार्टीका कार्यकर्ता यस्ता कुरामा बानी परिसकेका छन् । सजिलै पचाउन खप्पिस छन् ।
जनताको तहमा यो स्वीकार्य छैन । हुन सक्दैन पनि । तर देश अभिषप्त छ । यसरी विस्तार बिस्तारै आफ्नो सार्वभौम अधिकार गुमाउँदै गएपछि भोलि आफ्नो भन्नु केही पनि बाँकी रहने छैन ।