• फाल्गुन २७ २०८२, बुधबार

प्रगतिशिल नेपाली समाज भारतको बैठक सकियो, के-के भए निर्णय ?

फाल्गुन ९ २०७९, मंगलवार

नयाँदिल्ली । नेपाल समाजवादी पार्टी निकट प्रगतिशिल नेपाली समाज समिति भारतको दशौं पूर्ण बैठक सम्पन्न भएको छ । भारतको बहादुरगढमा सो बैठक सम्पन्न भएको हो । सो संगठनका केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पालीको अध्यक्षता र नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रवास इन्चार्ज जिएस गुरुङको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले संघीयता, धर्मनिपेक्षता, समावेशी समानुपातिक प्रणालीको रक्षा र देशमा बढ्दै गैरहेको भूराजनीतिक जटिलता समाधान गर्न हिजोका परिवर्तनकारी शक्तिहरु एकताबद्ध भएर लाग्नु पर्ने बताए ।

साथै बैठकले बृहद समाजवादी ध्रुविकरण र एकता प्रक्रियाको अभियानलाई सफल बनाउन लागि पर्ने र यसका लागि भारतमा भएका विभिन्न संगठनहरुसित पनि छलफल चलाउने निर्णय पनि गरेको छ ।

साथै बैठकले डा.बाबुराम भट्टराईले ल्याएको राजनीतिक प्रतिवेदनलाई सर्वसम्मतिले समर्थन गरेको छ । बैठकले सांगठनिक जिम्मेवारी पनि हेरफेर गरेको छ । जसअनुसार विभागहरुमा निम्न व्यक्तिहरुलाई जिम्मेवारी दिएको छ । जसअनुसार महिला इन्चार्जमा तुलसी विक र संयोजकमा सरिता रोकाय, खेलकुद विभागमा प्रकाश थापा र विद्यार्थी विभाग प्रमुखमा अमित खनाललाई जिम्मेवारी दिइएको छ ।

यस्तैगरि केही राज्य इन्चार्जहरुमा पनि हेरफेर गरेको छ । जसअनुसार पञ्जाब राज्यको इञ्चार्जमा राजेश सोनी, कर्नाटक राज्यको इञ्चार्जमा राजेश सिंह, गोवा राज्यको इञ्चार्जमा अर्जुन कार्की, गुजरात राज्यको इञ्चार्जमा एचएलाई जिम्मेवार दिइको छ । बैठकले संगठनको केन्द्रीय सदस्यहरु पनि थप गरेको छ । बैठकले अध्यक्षको प्रतिवेदनलाई परिमार्जन सहित पास गरेको छ ।

बैठकमा संगठनको आर्थिक आय–व्यय कोषाध्यक्ष गोकुल भुजेलले प्रस्तुत गरेका थिए भने विभिन्न राज्यका अध्यक्ष र विभाग प्रमुखहरुले आआफ्नो सांगठनिक प्रतिवेदन पेश गरेका थिए । बैठकको सञ्चालन महासचिव राजेशकुमार रावलले गरेका थिए भने बैठकमा नेसपाका केन्द्रीय सदस्य प्रेम घताने, प्रवास समिति उपाध्यक्ष दुर्गा ददेल पनि उपस्थित थिए ।

कार्यक्रममा सहभागीहरुलाई रतन महरले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । बैठकमा स्थानीय कलाकारले नृत्य र गीत प्रस्तुत गरेका लाेकेन्द्र सेर्पालीले जानकारी दिए ।