• मंसिर २० २०८१, बिहीबार

सबैलाई सर्वमान्य हुने राष्ट्रपति चुन

फाल्गुन ९ २०७९, मंगलवार

नेपालको राष्ट्रपति पद सेरेमोनियल हो । यो पदको मर्यादा र गरिमा छ । राष्ट्रपति जस्तो सम्मानित पदमा पुग्नका लागि दलका नेताहरु प्रतिस्पर्धामा उत्रिरहेका छन् । यो क्रम अबको केही दिन अझै देखिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन केही समय बाँकी रहँदै निर्वाचन आयोगको कार्यतालिका अनुसार आउँदो फागुन १३ गते राष्ट्रपतिका लागि मनोनयनको दिन तोकिएको छ ।

नयाँ जनप्रतिनिधिले फरकफरक मतभारका आधारमा देशका लागि तेस्रो राष्ट्रपति निर्वाचित गर्नु पर्ने कार्यभार नजिक आउँदैछ । पहिलो राष्ट्रपति डा. रामवरण यादवले जस्तै दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुई कार्यकाल पूरा गर्दैछन् । दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने हाम्रो संवैधानिक प्रावधान र व्यवस्था छ । पहिलो राष्ट्रपति मधेसी समुदायबाट डा‌ यादवले बन्ने सौभाग्य प्राप्त गरे भने । दोस्रो राष्ट्रपतिमा महिलाबाट भण्डारी बनिन् । यादव र भण्डारीले राष्ट्रपतिमा अभिलेख सुरक्षित गरिसकेका छन् । अबको राष्ट्रपति को भन्ने विषयमा गरम बहस भइरहेका बेला सबैलाई सर्वमान्य राष्ट्रपति चुन्न अबको आवश्यकता हो ।

सबैलाई सर्वमान्य राष्ट्रपति अबको आवश्यकता किन पनि हो भने हिजो कुनै दलको रबर स्ट्याम्ब बन्दा संविधान मिचिएका कुरा देखि विवादमा आएका कतिपय विषयले अहिले दलहरुलाई झस्काइदिएको छ । दुवै राष्ट्रपतिका कार्यकाल भने विवादित रहे, जो गणतन्त्रका लागि दूर्भाग्य थियो । संवैधानिक राष्ट्रपतिको सीमा, मर्यादा र गरिमालाई दलीय स्वार्थको पूर्वाग्रहले मिचेको पुष्टि हुने घटना भए ।

डा. यादवको भूमिका ‘प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरण’ मा विवादित बन्यो । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले कारबाही गरी बर्खास्त गर्न चाहेको सेनापति कटवाललाई राष्ट्रपति यादवले जोगाई दिए । यो घटना नेपाली राजनीतिमा सधै प्रभाव बनिरह्यो । राष्ट्रपतिले प्रमुख कार्यकारी प्रधानमन्त्रीको कुरालाई अनदेखा गरे र आफ्नो मर्यादा भुले । दोस्रो राष्ट्रपति भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई अनुमोदन गरिन् । संसद विघटनको अनुमोदन गर्दा बिचार गर्नुपर्थ्यो तर, त्यसो गरिनन् । यि परिदृश्यका कारण पनि अबको राष्ट्रपतिमा सबैलाई सर्वमान्य हुनु जरुरी छ ।

अबको राष्ट्रपति संविधानको अक्षरस पलना गर्ने व्यक्तिको आवश्यकता छ । त्यसैले दलहरुले निसन्देह सबैलाई स्वीकार्य र सर्वमान्य व्यक्तिलाई राष्ट्रपति बनाउन सक्नुपर्छ । कुनै व्यक्तिको चाहनामा हुने रबरस्ट्याम्प राष्ट्रपतिले संविधान मिच्ने र व्यक्तिको इशारामा चल्ने मात्रै होइन हिजोको राष्ट्रपतिले गरेको गल्तीलाई नजिर बनाएर अगाडि बढ्न सक्छन् । त्यसैले पनि हिजोको नजिर र घटनाबाट पाठ सिकेर सबैलाई सर्वमान्य हुने राष्ट्रपति हुनु पर्दछ ।