• असार २० २०८१, बुधबार

यसरी सफल भइन् अनुसुया

फाल्गुन ९ २०७९, मंगलवार

हिन्दु धर्मग्रन्थ कथा नै कथाका माला हुन् । यिनमा चित्रविचित्रका कथा उनिएका हुन्छन् । कति कथा उनिएका हुन्छन् त अरू कतिपय सुनिएका हुन्छन् । यीमध्ये रूचीकर एक कथा छ, अत्रि ऋषिपत्नी अनुसुयाको पतिव्रताको बारेमा ।

एक पटकको कुरा हो, अत्रि ऋषिपत्नी अनुसुयाको पतिब्रताको बारेमा निकै चर्चा हुने गरेको थियो । यो चार्चा तीन त्रिलोक तथा चौध भूवनमैं व्यापक हुन गएछ । विष्णुलोक, ब्रम्हलोक र शिवलोकमा अनुसुयाको चर्चा हुन थालेपछि देवताहरू पनि चकित भएछन् ।

विष्णुपत्नी लक्ष्मी, ब्रह्मापत्नी सरस्वती र शिवपत्नी पार्वती त अनुसुयाको पतिव्रताको प्रशंसा सुनेर डाह र इष्र्याले जल्न थालिसकेका रहेछन् । त्यसपछि तीनैजना देवीहरूले संयुक्त रूपमा सल्लाह गरी आआफ्ना पतिलाई पतिव्रता अनुसुयाको परीक्षा लिन पठाउने निर्णय गरेछन् ।

तीनवटी देवीले आआफ्नो पतिलाई बाध्य पारेपछि त्यसपछि ब्रह्मा, विष्णु, महेश्वर अनुसुयाको परीक्षा लिन गएछन् । साधुको भेष धारणगरी अनुसुयाको आश्रममा भिक्षा माग्न गएछन् ।

अनुसुयाले भिक्षा दिन ल्याउँदा साधु भेषमा आएका ब्रम्हा, विष्णु र महादेवले ‘हामीलाई यो भिक्षा चाहिंदैन, हामीले मागको दिने भए मात्र लिन्छौं नभए सराप दिन्छौं’ भनी डर त्रास देखाएछन् । अनुसुयाले ‘हजुरहरूले जे मागे पनि दिने भएँ’ भनी वचन दिइछन् ।

अनि तीनैजना साधुले अनुसुयासँग ‘सर्बाङ्ग नाङ्गो भई हामी तीनै जनालाई अँगालेर स्तनपान गराउनु पर्छ’ भनेछन् । सोच्दै नसोचेको यस्ता कुरा मागेकाले अनुसुयालाई ‘के गरूँ के गरूँ’ भएछ ।

‘एकै छिन पर्खनोस् है’ भनी ती साधुलाई पर्खाएर आफ्ना पति अत्रीकहाँ पुगी उनले आफूमाथि आइपरेको आपद् सुनाइछन् । अत्रिले यी साधारण मानिस हुन नसक्ने सोचेर अन्तरदृष्टिले हेरेछन् ।

यसरी हेर्दा ब्रम्हा, विष्णु र महेश्वर देखेपछि अत्रि ऋषिले आफ्नी अनुसुयालाई ‘तिमीले सोच विचार गरेर निर्णय लेऊ’ भनिदिएछन् । अनुसुया साधुसमक्ष आई संकल्प गरेर भनिछन्, ‘यदि मेरो पतिव्रत धर्ममा सत्यता छ भने यी तीनैजना साधु दूध पिउने बच्चाको रूपमा परिणत होउन् ।’

अनुसुयाको संकल्पसँगै तीनैजना साधुहरू बच्चाको रूपमा परिणत हुन पुगेछन् । अनि अनुसुयाले तीनैजना बच्चालाई काँखमा राखी स्तनपान गराएर पाल्न थालिछन् ।

लामो समयसम्म नफर्किएपछि लक्ष्मी, सरस्वती र पार्वती तीनै जनालाई पीर पर्न थालेछ । त्यसपछि उनीहरू पनि अत्रिआश्रममा झरेछन् । उनीहरूले तीनवटा बच्चा तीनवटा टोकरीमा खेलिराखेको देखेछन् ।

आफ्नो आश्रममा आएका तीनवटी देवी लक्ष्मी, सरस्वती र पार्वतीलाई अनुसुयाले नचिन्ने कुरै भएन । जति भेष बदल्न खोजे पनि केही सिप नलागेपछि आआफ्ना परिचय दिंदै उनीहरूले आफ्ना पति कहाँ छन् सिकाइदिन अनुरोध गरेछन् ।

अनुसुयाले ‘मैले स्तनपान गराएर पालिराखेकी छु, लिने भए आआफ्ना पति चिनेर लानुस्’ भनी जवाफ दिइछन् । अब उनीहरूलाई फसाद आइलाग्यो !

अन्त्यमा माफी मागेर तीन देवीले आआफ्नो वास्तविक रूपको दर्शन दिएर आआफ्ना भूल स्वीकार गर्दै अनुसुयाको पतिव्रताको प्रशंसा गर्दै क्षमा याचना गरेछन् । त्यसपछि अनुसुयाले ‘मेरा सन्तान छैनन्, यी तीनै देवलाई स्तनपान गराइसकेकी हुनाले मलाई पुत्र चाहियो’ भनी माग गरिछन् ।

त्यसैका आशीर्वादले तीनैजना बालकरूपी ब्रह्मा, विष्णु र महादेवको एउटै स्वरूपमा दत्तात्रयका प्रकट भएछन् । हाल भक्तपुरमा रहेको दत्तात्रय देवता यिनै हुन् भनिन्छ । मन्दिरमा साउन महिनाभरि सोमवारका दिन मेला लाग्छ ।

(पौराणिक कथाबाट)