काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा जारी त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया जितबिहीन रहँदै घर फर्केको छ ।
नेपालमा खेलेका सबै चारवटै खेल हारेको नामिबियाका सहायक प्रशिक्षक एलबी मोर्केलले श्रृंखला हालसम्मकै निराशाजनक भएको बताए । ‘यो श्रृंखला सोचेको भन्दा निकै खराब रह्यो । ब्याटिङ निकै खराब रह्यो,’ सोमबार भएको आफ्नो चौथो खेलमा स्कटल्याण्डसँग ४३ रनले पराजित भएपछि उनले भने । लिग टू मा हालसम्म खेलेका श्रृंखलामा नामिबियाले एउटा पनि खेल जित्न नसकेको यो पहिलो श्रृंखला हो । उनले आफूहरु यस्तो नतिजाको अपेक्षा गरेर नेपाल नआएको बताए ।
‘हालसम्मकै निराशाजनक रहयो यो श्रृंखला हाम्रो लागि । यस्तो नतिजाको हामीले अपेक्षा गरेका थिएनौं,’ उनले भने । नामिबियाले राम्रो ब्याटिङ गर्न नसकेर नै हार बेहोर्नु परेको उनले बताए । मोर्केलले नेपालमा खेल्न आफूले सोचे भन्दा सहज भएको प्रतिक्रिया पनि दिए ।
‘नेपालमा हामीले अपेक्षा गरेभन्दा सहज भयो खेल्नलाई, तर हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं । आगामी ४ खेलमा यो गल्ती सुधार गरेर मात्रै हामी शीर्ष तीनमा पर्ने सम्भावना बाँकी रहन्छ,’ उनले थपे ।
लिग टूमा २ खेल खेल्न बाँकी रहेको नामिबियालाई नेपाल र यूएईले उछिन्ने संभावना बाँकी छ । २ खेल खेल्न बाँकी रहेको नामिबिया ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । उसले यूएईसँग अब मात्र २ खेल खेल्न बाँकी छ । सबै ३६ खेलेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको यूएईको २६ खेलबाट २७ अंक र छैटौं स्थानमा रहेको नेपालको २७ खेलबाट २४ अंक छ ।