• फाल्गुन २७ २०८२, बुधबार

उत्तर कोरियाले दियो अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफ

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौं । उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा शनिबार प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । त्यसको ४८ घण्टामा दोस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

जापानको रक्षा मन्त्रालयले आज प्रक्षेपण गरिएका दुवै मिसाइल ५० देखि १०० किलोमिटरको उचाइमा उडेका र आफ्नो विशेष आर्थिक क्षेत्रबाहिर खसेका जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र प्रक्षेपण बारे राष्ट्रसंघीय सुरक्षा परिषदको आपत्कालीन बैठकका लागि अनुरोध गरेका छन् ।

दक्षिण कोरियाका प्रधानसेनापतिले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसको निन्दा गरेका छन् । साथै, उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिए । दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ ।

सुरक्षा विश्लेषकहरूले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्दप्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमान्ड सेन्टरलाई निसाना बनाएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई उत्तेजक कार्य तत्काल बन्द गर्न आह्वान गरेका छन् । उनले कुनै पनि किसिमका उत्तेजक गतिविधि नगर्न उत्तर कोरियालाई आह्वान गरेको महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले बताए ।