काठमाडौं । पशुपतिमा राष्ट्रपतिको सवारीले अन्य भक्तजनलाई सास्ती खेप्नु परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् । उनको सवारी त्यहाँ पुग्दा अन्य भक्तजनले भने सास्ती खेप्नु परेको छ ।
सवारी आउनु अगावै त्यहाँ सुरक्षार्थ खटिएका टोलीहरुले सुरक्षाका लागि भन्दै अन्य भक्तजनलाई बाहिरी गेटदेखि नै प्रवेश निषेध गराएका थिए भने भित्र रहेका भक्तजनलाई लाइन लगाएरै रोकिएको थियो । यसले घण्टौ लाइन लागेर पशुपति दर्शनका लागि आएका भक्तजनलाई सास्ती खेप्नु परेको छ । घण्टौ लाइन लागेर बल्ल दर्शनका लागि प्रवेश गर्न लागेको बेला सवारी आएको छ भन्दै प्रवेश निषेध गरेको भक्तजनको गुनासो छ ।
दर्शनका लागि आएका भक्तजनहरुले भने-`हामी ५/६ घण्टा लाइन लागेर दर्शन गर्न आउँदा पनि राष्ट्रपतिको सवारी भनेर दर्शनमा रोक लगाइयो ।´
एक -दुई घण्टासम्म प्रवेश गर्न नदिइएको भनेर भक्तजनले गुनासो गर्दै सो सवारीको विरोध गरेका थिए ।
महाशिवरात्रिमा अवसरमा राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा रहेको छ ।
यसअघि पनि राष्ट्रपतिको सवारीको विरोधमा वीर अस्पतालका चिकित्सक कुटिएका थिए ।