• मंसिर १२ २०८१, बुधबार

नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका समस्याहरु

फाल्गुन ६ २०७९, शनिबार

विश्वमा पुँजीवादी व्यवस्थाको प्रार्दुभाव भएपछि मजदुर वर्ग र पुँजीवादी वर्गबीचको संघर्षले प्रत्यक्ष रुप ग्रहण गर्नु पुगेको हो । मजदुर वर्ग शोषित वर्गको रुपमा र पुँजीपति वर्ग शोषक वर्गको रुपमा एक अर्काका विरुद्ध वर्ग विरोधी पक्षको रुपमा उदय भएपछि पुँजीवादको विश्व विरुद्ध समाजवादी आन्दोलनको आवश्यकता टड्कारो रुपमा देखापर्यो ।

पुँजीवादी उत्पादन पद्धतिले विकासको गति पक्डिएपछि मजदुर वर्गको संख्यामा आएको बढोत्तरी संगठित मजदुर आन्दोलनको रुप ग्रहण गर्न थाल्यो र मजदुर आन्दोलनले पुँजीवादी शोषणविरुद्ध आर्थिक र राजनैतिक अधिकार प्राप्तिका मागहरु अघि सार्न थाले । यसै क्रममा संगठित मजदुर आन्दोलनको रुपमा चार्टिस्ट आन्दोलनको उदय भयो ।

पूँजीवादी वर्गको नेतृत्वमा हुने आर्थिक, राजनैतिक आन्दोलनले मजदुर वर्गको वर्गीय अधिकार प्राप्ति नहुने चेतना मजदुर वर्गमा विकास भएपछि मजदुर वर्गले आफ्नो अधिकार प्राप्तिको आन्दोलनको नेतेत्व आफैले गर्नुपर्ने आवश्यकतालाई पूरा गर्ने प्रयास स्वरुप समाजवादी आन्दोलनको पार्दुभाव भएको हो ।

कम्यु्निष्ट आन्दोलनको इतिहास कोट्याउँदै जाँदा सर्वप्रथम कम्युनिजम शब्दको पहिलो प्रयोग फ्रान्समा भएको पाइन्छ । फ्रान्समा कम्युनिजमको प्रयोग १८३०-४८ सम्म त्यहाँका गोपनियतावादीहरुले गरेका थिए । त्यसपछि सन् १८४० मा बेलायतबाट प्रकाशित भएको ‘न्यू मोरल वल्र्ड’ नामक पत्रिकाको लेखमा कम्युनिष्ट शब्दको प्रयोग भएको थियो । सन् १८४१ पछि बेलायतमा कम्युनिष्ट शब्दको प्रयोग लगातार हुँदै आएको पाइन्छ । सन् १८४८मा कार्ल मार्क्स र फ्रेडरिख ऐंगेल्सले लेखेको कम्युनिष्ट घोषणा पत्रको प्रकाशनपछि यसको विस्तार विश्वव्यापी रुपमा भएको हो । यसको मूल अर्थ राज्यविहिन, शोषणविहीन, वर्गविहीन, समानताको समाज भन्ने बुझाउँछ ।

यो नै समाज विकासको अन्तिमचरण भएको मानिन्छ । सन् १८६४ मा कार्ल मार्क्सकाे नेतृत्वमा गठन भएको अन्तराष्ट्रिय मजदुर संघको गतिविधिपछि विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनको विकासमा तिव्रता आएको थियो । सन् १८७० मा भएको पेरिस कम्युन, सन् १९१७ मा रुसमा भएको अन्टोबर क्रान्ति, सन् १९४९ मा भएको चिनियाँ जनक्रान्ति, भियत्नाम, कोरिया र क्युवामा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका क्रान्तिहरु कम्युनिष्ट आन्दोलनका कोसेढुङ्गाहरु हुन् ।

प्रथम विश्वयुद्धपछि भएको अक्टोबर क्रान्तिले विश्वको ६ भाग मध्ये १ भाग कम्युनिष्टहरुको नियन्त्रणमा ल्याउन सफल भएको थियो भने दोस्रो विश्वयुद्धको पछि विश्वमा आएको स्पाधिनताको लहरले झण्डै दुई तिहाई विश्वका जनता समाजवादी प्रभावमा आएका थिए । विश्व कम्युनिष्ट आन्लोलनमा आएको त्यहि लहरको बाछिटा नेपालमा समेत परेको हो । नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीहरू नेकपाको संस्थापक नेताहरु हुन् । उता मोतीदेवीको सन्दर्भमा भने विवादास्पद कुरा आएको छ । पार्टी गठन प्रक्रिया पुरा भएपछि मात्र मोतिदेवी पुगेकाले उनलाई संस्थापक सदस्यका रुपमा लिन हुन्न भन्ने मत पनि रहेको छ । अर्धसामन्ती, अर्धऔपनिवेसिक शोषणको जंजालमा फसेको नेपालमा कम्युनिष्ट पार्टीको गठन हुनु राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै एउटा ऐतिहासिक घटना हो । नेपाली सर्वहारा तथा श्रमजीवी वर्गको मुक्तिको उद्धेश्यले कम्युनिष्ट पार्टी गठन हुुनुले नेपाली शोषित र उत्पीडित वर्गमा क्रान्तिकारी भावनाको विजारोपण हुन पुगेको थियो । नेपाली राजनैतिक आन्दोलनलाई समाजवादी आन्दोलनतर्फ अघि बढाउन समेत मद्धत पुगेको थियो ।

विश्व कम्युनिष्ट आन्दोलनको विकासक्रममा उग्रवामपन्थी र उग्रदक्षिणपन्थी भड्कावको खतरा निरन्तर रहँदै आएको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका पलायनवादी र विसर्जनवादी भड्कावको खतराबाट टाढा रहन सक्ने कुरा भएन । त्यसैले नेपाल कम्युनिष्ट पार्टीभित्र पनि दक्षिणपन्थी अवसरवादी र उग्रवामपन्थी विसर्जनवाद विरुद्धको संघर्ष निरन्तर चल्दै आएको छ । त्यो संघर्षको अवस्था हालसम्म पनि रहिरहेको कुरा हाम्रो सामु प्रष्ट छ । विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति र विसंगतीहरको दुष्प्रभाव नेपाल कम्युनिष्ट आन्दोलनभित्र प्रारम्भिक कालदेखि नै अंकुरित भएको पाइन्छ ।

कार्ल मार्क्स नै बर्नस्टिन, प्रुंधो, ब्लाङ्की, लासाल जस्ता दक्षिणपन्थी र उग्रवामपन्थी दार्शनिकहरुको विचार विरुद्धको संघर्षलाई निर्ममतापूर्वक अघि बढाउनु भएको थियो । अन्तराष्ट्रिय मजदुर संघको गठन भैसकेपछि जसलाई पहिलो अन्तराष्ट्रियको रुपमा चिनिन्छ । त्यसभित्र देखा परेका विभिन्न भड्करावहरु विरुद्ध पनि कार्ल मार्क्स र ऐंगेल्सले दृढतापूर्वक संघर्ष गर्नुभएको थियो । कार्ल मार्क्सको जीवनकालपछि ऐंगेल्सको नेतृत्वमा गठन भएको दोस्रो अन्तराष्ट्रियमा पनि यस्तै प्रकारका विविध खाले सैद्धान्तिक विचलनहरु विद्यमान थिए । पुँजीवादी संशोधनवाद पक्षधर र उग्रवामपन्थी अवसरवादी पक्ष दुवैथरी वैचारिक विचलनले दोस्रो अन्तराष्ट्रियको अस्तित्व माथि धावा बोलेको थियो । दोस्रो अन्तराष्ट्रिय भित्रका दक्षिणपन्थी धारको नेतृत्वले कष्टकर संघर्ष गर्नुपरेको थियो ।

दोस्रो अन्तराष्ट्रिय भित्रका दक्षिणपन्थी धारको नेतृत्व कार्ल काउत्स्की, प्लेखानोभ, नौरस र मिलेराँहरुले गरिरहेका थिए भने क्रान्तिकारी धारको नेतृत्व लेनिन, रोजा लक्जेम्वर्ग, लिष्ट नेख्त, गेस्डेहरुले गरेका थिए ।

सर्वहारावादी क्रान्तिलाई कुन धारबाट अघि बढाउने भन्ने विषयलाई आधार मानेर नै दक्षिणपन्थी र वामपन्थी धारमा दोस्रो अन्तराष्ट्रिय विभाजित भएको थियो । अर्थवादी, ट्रेडयुनियनवादी, अन्धराष्ट्रवादीहरु र संसोधनवादीलाई वर्गसंघर्षलाई दक्षिणपन्थी मार्गबाट अघि बढाउन चाहन्थे र पुँजीवादी नेतृत्वसँग मिलेर अघि बढ्न चाहन्थे भने वामपन्थीहरु मार्क्सवादी क्रान्तिकारी धारबाट पुँजीवाद विरोधी मार्गबाट अघि बढाउन चाहन्थे ।

दोस्रो अन्तराष्ट्रियको नेतृत्वमा दक्षिणपन्थी संसोधनवादीहरुको बहुमत भएकोले दोस्रो अन्तराष्ट्रियलाई वैचारिक र व्यवहारिक रुपमा भ्रष्ट बनाइएको थियो । कार्ल मार्क्सकै नेतृत्वमा गठन भएको प्रथम अन्तराष्ट्रिय समेत दक्षिणपन्थी संसोधनवाद र उग्रवामपन्थी अवसरवादबाट पीडित हुन बाध्य थिए भने दोस्रो अन्तराष्ट्रियलाई पनि तिनै रोगले पिरोलिएको थियो । प्रथम अन्तराष्ट्रियलाई वर्नस्टिन, प्रुंधो र लासालहरुको दक्षिणपन्थी संसोधनवादी विचारबाट र ब्लाङ्की र बाकुनिनहरुको मार्क्सले जीवन पर्यन्त संघर्ष गरिरहे । दोस्रो अन्तराष्ट्रियको विघटन पश्चात् सन् १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तराष्ट्रियको गठन भएको थियो ।

जसले विश्व कम्युनिष्ट आन्दोलनलाई साम्राज्यवाद विरोधी क्रान्तिकारी मार्गबाट अघि बढाउने काम गरेका थिए । विश्व कम्युनिष्ट आन्दोलनका यिनै पृष्ठभूमिबाट नेपाल कम्युनिष्ट पार्टीको पनि गठन भएको हो । नेपालको शोषित र पीडित वर्गको मुक्तिकोखातिर साम्राज्यवाद र सामन्तवाद विरोधी आन्दोलनलाई अगाडि बढाउँदै मुलुकमा शोषणरहित समाजको स्थापन गर्ने उद्धेश्यका साथ गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा समेत प्रारम्भिक कालदेखि नै क्रान्ति विरोधी विचारहरुको चलखेल भएको ययथार्थ सबैले देखेकै कुरा हुन् ।

विश्व कम्युनिष्ट आन्दोलन भित्र देखा परेका सबैखाले चिन्तन र चरित्रको दुष्प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा पनि पर्नु स्वभाविक नै थियो । विश्व कम्युनिष्ट आन्दोलनको प्रारम्भिक कालमा गठन भएको प्रथम अन्तराष्ट्रिय र द्वितीय अन्तराष्ट्रिय भित्र देखा परेका पुँजीवाद परस्त दक्षिणपन्थी विसर्जनवाद र उग्रवामपन्थी भड्काव तथा वैदेशिक तावेदारवादी व्यवहारको कारण छिन्नभिन्नको अवस्थामा पुर्याएको छ ।

ने.क.पाको गठनको समय नै विश्व कम्युनिष्ट आन्दोलन भित्र चरम अन्तर्विरोध पैदा भैरहेको समय थियो । दोस्रो विश्वयुद्धमा सोभियत संघको विजय र जर्मनी हिटलरको पराजयसँगै समाप्त भएको थियो । त्यसपछि सोभियत सेनाको बलमा एसिया र युरोपका कयौं देशहरुले स्वतन्त्रता प्राप्त गरेका थिए । यसको सँगसँगै सोभियत कम्युनिष्ट पार्टीभित्र दक्षिणपन्थी चलखेल पनि बढ्दै थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनले भर्खरै स्वतन्त्रता प्राप्त गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पनि दुई लाइन संघर्षले तिव्र रुप ग्रहण गरिरहेको थियो भने सोभियत कम्युनिष्ट पार्टीको र चिनियाँ कम्युनिष्ट पार्टी बिचको अन्तरविरोधको आगो पनि सुस्तरी बढ्दै गएको अवस्था थियो । विश्व कम्युनिष्ट आन्दोलनभित्र विकास भइरहेको यस प्रकारको बेमेल र अविकासको वातावरणमा नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको थियो ।

अर्कोतर्फ नेपालमा राजनैतिक चेतनाको अवस्था अत्यन्त कमजोर रहेको र नेपाली समाजका वर्ग विश्लेषण समेत सहिरुपमा नभइसकेको अवस्था विद्ययमान रहेको थियो । जहानियाँ राणा शासनले सदियौैँदेखि नेपाली जनतालाई पाशविक यातानाद्धारा दमन गरेर राखेर र विश्व राजनैतिक मान्यता पनि औपनिवेशक शासकको होड्बाजी चलिरहेको तत्कालिन अवस्थामा केही सूचनाको आधारमा विकास गरेको क्रान्तिकारी विचार बोकेको केही युवाहरुको सक्रियतामा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले परिपक्क ढंगले राजनीतिक गतिविधिलाई अघि बढाउन नसक्नुलाई स्वभाविकै मान्नु पर्दछ ।

एकातिर भारतीय शासक वर्गकाे स्वार्थसिद्ध गर्ने उद्धेश्यले गठन भएको नेपाली राष्ट्रिय कांग्रेसको भारतपरस्त गतिविधिले नेपालको भन्दा पनि भारतीय स्वार्थको सेवा गरिरहेको अवस्था र अर्कोतर्फ राजतन्त्रको जनविरोधी ब्यवहारलाई जरैबाट उखेलेर फाल्ने नेपाली क्रान्तिकारी युवाहरुको चाहनाकोबिचबाट जन्मेको नेपाल कम्युनिष्ट पार्टीले प्रारम्भिक कालमा लोकजनवादी शासन स्थापना गर्ने लक्ष्य बोकेको थियो ।

पार्टीको प्रथम अधिवेशन विसं २०१० मा प्रस्तुत दस्तावेजमा ‘राज्यको प्रधानलाई विशेष अधिकार नदिने’ प्रस्तावबाट अप्रत्यक्ष रुपमा पार्टी दक्षिणपन्थी पक्षमा ढल्केको मानिन्छ । त्यसपछि पार्टीभित्र राजावादी र कांग्रेसवादी गुटको नाममा दुई धारमा संघर्ष तिव्र हुँदै गएको देखिन्छ ।

सामन्तवाद र साम्राज्यवादको विरुद्ध जनमतको विकास गरेर वर्गीय मुक्ति आन्दोलनलाई तीव्र पार्दै लानुपर्ने देखिएबाट पर हटेर राजावादी र काँग्रेसवादी गुटको नाममा कम्युनिष्ट पार्टीको नेतृत्वदायी व्यक्तिहरु पार्टी नेतृत्व आफ्नो पक्षमा पार्ने होडमा लाग्दा कम्युनिष्ट विरोधीशक्तिहरुले फाइदा उठाउने मौका पाएका थिए ।

कम्युनिष्ट पार्टीको अधिवेशनबाट नै वैधानिक राजतन्त्रको पक्षमा निर्णय गर्न पुगेपछि पार्टीले त्यतिबेलाबाट नै दक्षिणपन्थी मार्ग अवलम्बन गरेको थियो भन्न सकिन्छ । प्रतिबन्धित पार्टीलाई फुक्का गर्ने नाममा पार्टीको महासचिव मनमोहन अधिकारीद्धारा प्रधानमन्त्री टंकप्रसाद आचार्यमार्फत् राजालाई विन्तीपत्र हाल्ने जस्ता ऐतिहासिक गल्ती तत्कालीन नेतृत्वले गरेको थियो ।

वर्गीय मुक्ति आन्दोलनमा प्रमुख वर्ग दुश्मन विरुद्ध धावा बोल्नुपर्नेमा वर्ग दश्मनसँग नै घाँटी जोड्न पुगेपछि वर्गीय मुक्ति आन्दोलनले कसरी गन्तव्य प्राप्त गर्न सक्थ्यो र ? लक्ष्यप्राप्तिको निम्ति हिँड्नु पर्ने क्रान्तिकारी बाटो छोडेर दक्षिणपन्थी बाटो समातेकोले नै पार्टीले सही गन्तव्य भेट्न नसकेको निर्क्याेल गर्नुपर्ने हुन्छ । शोभियत कम्युनिष्ट पार्टीको २०औं अधिवेशनमा निकिता ख्रुश्चेवको शान्तिपूर्ण सहअस्तित्वको लाईन पास भएर आएपछि विश्व कम्युनिस्ट आन्दोलन घोषित रुपमै दुई धारमा विभाजन हुन पुग्यो ।

शोभियत कम्यु्निष्ट पार्टी पक्षधर र चिनियाँ कम्युनिष्ट पक्षधर गरी दुई भागमा विभाजित भएपछि विश्वभरी नै त्यसको प्रभाव पर्न गयो । नेपालको कम्युनिष्ट पार्टीभित्र पनि शोभियत पक्षधरले राष्ट्रिय प्रजातन्त्रको लाईन बोकेर अघि बढेपछि नेपालमा दुई धारका कम्युनिष्ट आन्दोलनको विकास हुन गएको थियो । यसरी कम्युनिष्ट आन्दोलनमा दुईओटा धारको विकास भएपछि विश्वव्यापी रुपमै कम्युनिष्टहरुकाबिचमा शत्रुतापूर्ण व्यवहार हुन थाल्यो ।

नेपाल कम्युनिष्ट पार्टी गठन हुँदा मजदुर, किसान र उत्पीडित वर्गको मुक्तिको उद्धेश्यका साथ भएको भएपनि कम्युनिष्ट पार्टीको नेतृत्व पक्तिभित्रको आपसी टकरावका कारण कम्युनिष्ट पार्टी लक्ष्य प्राप्तिको मार्गमा इमानन्दारिताका साथ अघि बढ्न नसकेको दृष्टान्त इतिहास हेर्दा देखिन्छ ।

पार्टी गठन पछिको पहिलो सम्मेलनबाट नै पार्टीको संस्थापक महासचिवलाई हटाउनु, पार्टीको पहिलो अधिवेशनमा नै संवैधानिक राजतन्त्रको पक्षमा विचार आउनु, राजवादी सोँच भएको व्यक्तिहरुको हातमा नेतृत्वको बागडोर सुम्पनु र पार्टी महासचिवलाई जेलबाट मुक्त गर्ने र पार्टीको प्रतिबन्ध फुकुवा गर्ने नाममा पार्टीको घोषित नीतिभन्दा बाहिर गएर राजा समक्ष विन्तिपत्र बुझाउने तथा पार्टीको मूल लक्ष्य विरुद्ध सामन्तवादी शक्ति समक्ष निरन्तर घुँडा टेक्दै जानु जस्ता गतिविधिले पार्टीको नेतृत्व निरन्तर दक्षिणपन्थी भड्कावको शिकार भएको प्रष्ट रुपमा देखिन्छ ।

मजदुर, किसान तथा उत्पीडित सिमान्तकृत वर्गको हितको संरक्षणको लागि सामन्तवादी तथा वुर्जुवा वर्ग विरुद्ध क्रान्तिकारी कदम बढाउँदै वर्गीय शोषणविरुद्ध वर्गियमुक्ति आन्दोलनलाई तिव्रता दिनुपर्ने कम्युनिष्ट पार्टीको नेतृत्वपंक्ति कोही कांग्रेसको पछि लाग्नु बन्ने र कोही राजाको तलवा चाट्ने प्रवृत्तिको अगुवा बन्न पुगेपछि कम्युनिष्ट पार्टीको नेतृत्व त्यतिबेला नै असफल भैसकेको थियो भन्न सकिन्छ ।

तत्कालीन पार्टी नेतृत्वभित्र देखापरेका अन्तर्विरोध पनि वर्गीय दृष्टिकोणको आधारमा माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी सैद्धान्तिक आधारसिलामा वर्गीय मुक्तिको लक्ष्य प्राप्तिको उद्धेश्यले भन्दा पनि कसरी नेतृत्व हत्याउन सकिन्छ भन्ने मनोगतवादी सोंलाई केन्द्रमा राखेर गरेको देखिन्छ ।

सिंगै कम्युनिष्ट पार्टीको नेतृत्व अवसरवादी र सत्ताकेन्द्रित सोंचबाट निर्देशित भएको कारण डा.केशरजंग रायमाझी जस्ता वैधानिक राजतन्त्रवादी र ख्रुश्चेववादी व्यक्ति दोस्रो महाधिवेशनबाट पार्टीको महासचिव हुन सफल भएको देखिन्छ । सुरुदेखि नै पार्टीभित्रको अन्तरर्विरोध स्वस्थ्य ढंगबाट अघि बढेको देखिँदैन ।

यसो हुनुमा पार्टीको पहिलो पङ्क्ति प्रारम्भिक कालदेखि नै मार्क्सवादी वर्गीय दृष्टिकोणलाई आत्मसात गरेर अघि बढ्न नसकेको, विश्व कम्यु्निष्ट आन्दोलनभित्रको वैचारिक र सैद्धान्तिक अन्तरर्विरोधलाई सहि ढंगबाट पहिचान गर्न नसकेको नेपालको, वर्गीय संरचनाको सहि ढंगबाट निर्क्याैल गर्न नसकेको, नेपालको सामाजिक जनचेतनाको मूल्याङ्कन गर्न नसकेको, नेपालको भूराजनैतिक अवस्थालाई वैदेशिक आँखाबाट निर्धारण गर्न खोजेको, नेपालभित्रको राजनीतिमा भारतीय पक्षको हस्तक्षेपकारी भूमिकालाई देख्न नसकेको, पार्टी नेतृत्व ढंगबाट विदेश परस्त बनेको र आआफ्नै तरिकाले अन्तराष्ट्रिय केन्द्र रोजेको जस्ता कमजोरीहरुको कारण नेपालको कम्युनिष्ट पार्टी टुट्फुट विभाजन जस्ता दीर्घरोगको शिकार हुन पुगेको देखिन्छ ।

पार्टी नेतृत्वले तत्कालिक कार्यदिशा र दिर्घकालिन रणनीतिको निर्धारण नै सही ढंगबाट गर्न नसकेका कारण पनि पार्टीलाई क्रान्तिकारी मार्गमा अघि बढाउन नसकेको यथार्थलाई बुझ्न जरुरी छ । नेतृत्वले आत्मसुरक्षावादी सोंचका साथ प्रतिकृयावादी र पुनरउत्थानवादीको समक्ष आश्रय लिन पुगेपछि सर्वहारावादी वर्गीय मुक्ति आन्दोलनले गति पकड्न नसकेको कुरा कम्युनिष्ट पार्टीको नेतृत्वले आत्मसाथ नगरेको देखिन्छ ।

दिल्ली सम्झौताले राजा, राणा र कांग्रेस त्रिपक्षीय वर्गीय समन्वयवादी शक्ति निर्माण गरेर भारतीय विस्तारवादी शक्तिले नेपालमाथि राजनैतिक औपनिवेश खडा गरेको घटनालाई कम्युनिष्ट पार्टीले बुझेको र त्यसको विरुद्ध आवाज उठाएको भएपनि जनआन्दोलनकै रुपमा त्यसलाई उठाउन नसकेको र पछि कम्युनिष्ट पार्टीको नेतृत्वले समेत तिनै शक्तिहरुसँग काँध जोडेर हिँड्दा नेपाली क्रान्तिमाथि धोका भएको थियो ।

दिल्ली सम्झौंताबाट प्रवेश गराइएको संविधान सभाको मुद्धा नेपालको राष्ट्रियताको सुरक्षाको हिसाबले खतरनाक मन्द विष थियो भन्ने कुरा कम्युनिष्ट नेतृत्वले पनि बुझ्न नसकेको हो । भारतले नेपालको राणा सरकार, बृटिस साम्रज्यवादको दलाल राणा सरकारले भारतलाई सहयोग गर्दैन भन्ने नेहरु सरकारलाई थाहा थियो । नेपालबाट बृटिस साम्रज्यवादको दलाल राणा सरकारलाई विस्थापन गर्ने र नयाँ परिस्थितमा नेपाललाई आफ्नो कठ्पुतली सरकार स्थापना गर्ने बाटोको खोजीमा नेहरु लागि रहेकै अवस्थामा राजा त्रिभुवनलाई दिल्ली लाने नाटक मञ्चन भएको थियो ।

दिल्लीकै पालनपोषण र संरक्षणमा नेपालको तत्कालीन राजनीतिको मियो बनेका नेपाली कांगे्रस नेहरुसामु निरीह नै थियो भने राजा त्रिभुवन समेत दिल्लीको शरणमा पुगेपछि दिल्लीलाई राणा सरकारमाथि दवाब दिन सकिने सजिलो वातावरण बन्यो । यसैलाई हतियार बनाएर नेहरुले दिल्ली सम्झौताको तानाबिना बुने र नेपाललाई सधैँको लागि आफ्नो राजनीतिक दास बनाउन सफल भएका थिए ।

नेहरुले पछि राजा त्रिभुवन स्वदेश फर्किंदा राणाको प्रमुख सहयोगीको रुपमा आफ्ना मान्छे गोविन्दनारायण सिंहलाई राजा त्रिभुवनको काँधमा बोकाएर पठाएका थिए । यी सबै घटनाले दिल्ली नेपाललाई आफ्नो राजनैतिक उपनिवेश बनाउन चाहन्थे भन्ने कुरा प्रष्ट हुन्छ । यहि घटना परिघटना परिघटनाको सहि मूल्याङ्कन गरेर क्रान्तिकारी कार्यनीति तयार गरेर अघि बढ्नु पनि कम्युनिष्ट नेतृत्वले कांग्रेस परस्त र राजा परस्त सम्झौतावादी नीति अवलम्वन गर्न पुगेका कारण नेपाली कम्युनिष्ट आन्दोलनले बाटो बिराएको हो ।

नेपालमा भारतीय कठ्मुलाहवादी नेपाली कांग्रेस शक्तिमा भएकै कारण मातृका प्रसाद कोइराला सरकारले नेपालको उत्तरी क्षेत्रमा भारतीय सेनाको पोष्ट खडा गरेका थिए । भारतीयहरुको सल्लाहमा नेपालको २७६ हजार सेनालाई पजनी गरेर ६ हजारमा मारेका थिए । भिमदत्त पन्त जस्ता प्रगतिशिल किसान नेतालाई भारतीय सेनाको बलमा नेपाली कांग्रेस सरकारले मारेका थिए भने मातृका र वीपी काइरालाको सरकारले कोशी र गण्डक सम्झौता गरेका थिए । नेपालका कम्युनिष्टहरुको आपसी द्वन्द्व रहेको र एकृकित शक्तिको रुपमा विद्रोहमा उत्रन नसक्ने देखेर नै नेपाली कांग्रेसको नेतृत्वले यति ठूलो राष्ट्रघाट गर्न सकेको थियो । नेपाली कांग्रेसले नेपाल राष्ट्र र नेपाली जनताको हित गर्ने भन्दा पनि भारतलाई खुसी पार्ने काम त्यतिबेला नै गर्दै आएको हो ।

सन् १९४७ मा अमेरिकासँग दौत्य सम्बन्ध स्थापित भएपछि अमेरिकाको समेत नेपाली राजनीतिमा चासो बढ्दै गएको थियो । यसैक्रममा सन् १९६४ मा पिसकोरको नाममा अमेरिकाले नेपालमा अमेरिकी सेना भित्र्याउन सफल भएको थियो । जसको पराकाष्ठा हाल देखिँदैछ । नेपाल कम्युनिष्ट पार्टीको दास्रो महाधिवेशन पश्चात पैदा भएको तिव्र अन्तर्विरोधको फलस्वरुप तेस्रो महाधिवेशन सम्म आइपुग्दा पार्टी विभाजन भएर रायमाझी र तुल्सीलाल अमात्यको नेतृत्वमा दुईवटा कम्युनिष्ट पार्टी सतहमा देखा पर्न पुग्यो ।

यसपछि नेपाली कम्युनिष्ट आन्दोलन विघटन र विभाजनको अभियानमा प्रवेश गर्यो । पार्टीको तेस्रो महाधिवेशनपछि पुष्पलाल, मोहनविक्रम सिंह, सिपी मैनाली, रुपलाल विश्वकर्मा र निर्मल लामाहरुको नेतृत्वमा फरक फरक कम्युनिष्ट पार्टीहरु फरकधारबाट क्रियाशिल हुन पुगे ।

नेपाली कम्युनिष्ट आन्दोलन हालको मितिसम्म आइपुग्दा, संसदवादी, वैदेशिक तावेदारीवादी, उग्रवामपन्थी, अराजकतावादी, निम्नपूँजीवादी, दलाल, नोकरशाही र मनोगतवादी, उपाेक्तावादी तथा अवसरवादी चिन्तन र चरित्रका शिकार हुन पुगेको छ ।

मार्क्सवादी, लेनिनवादी, सर्वहारा अन्तराष्ट्रियवादी, साम्राज्यवाद र सामन्तवाद विरोधी शक्तिको रुपमा राष्ट्रपिताको संरक्षण र सर्वहारा मुक्ति आन्दोलनलाई लक्षमा पुर्याउन एउटा अजय शक्तिको रुपमा आफूलाई अघि बढाउनै पर्ने नेपाली शोषित, पीडित श्रमजीवी वर्गको भाग्य र भविष्य अनिश्चित र अन्यौलपूर्ण हुनपुगेको छ ।

अब नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी सारतत्वको संरक्षण गर्न नेपाली कम्युनिष्ट आन्दोलनलाई माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी शिक्षाबाट सिंचित गरेर अघि बढाउन आवश्यक पहलकदमी लिनुपर्ने वर्तमान समयको मागलाई बुझ्न आवश्यक भएको छ ।