महंगीको चर्को मारमा परिरहेका उपभोक्ताहरू अब क्रमशः सिलिण्डर बमको सिकार हुँदै जाने क्रममा छन् । आफूले खानाजस्तो अति आवश्यक उपभोग्य भोजन तयार गर्नका लागि इन्धनका रूपमा प्रयोग गर्दै आएको ग्यास सिलिण्डर अहिले ‘बम’ बनेर भान्सामा ठिङ्ग उभिएको छ ।
यसले आगलागी र अन्य दुर्घटना मात्र बढाइरहेको छैन, उल्टै उपभोक्ताको ज्यान लिइरहेको छ । घटना, दुर्घटना दिनहुँ घट्ने र सुनिने गरिरहेका छन् । पछिल्लो समयमा सांसद चन्द्र भण्डारी र उहाँकी ममतामयी आमा यसको सिकार हुन पुगेका छन् ।
भण्डारीकी आमालाई यही दुर्घटनाले सदाका लागि भण्डारीबाट खोसेर लगिसकेको छ । स्थिति भयाबह देखिन थालेको छ । तर बजार कसैको पनि नियन्त्रणमा छैन । अराजक पुँजीबजार पनपनाइरहेको छ ।
न नियन्त्रण छ, न त अनुगमन नै ! थोत्रा जहाज, थोत्रा बस, थोत्रा सिलिण्डरको जगजगी छ सबैतिर ! जहाँ पनि म्याद सकिएकाहरूको हाइहाइ छ । कान नसुन्ने र आँखा नदेख्नेहरू सत्तामा छन् ।
उर्जा सदुपयोगको विकल्प पनि छैन । जहाँ पनि म्याद गुज्रिएको सिलिन्डर प्रयोगमा छन् । यिनै म्याद गुज्रिएको सिलिन्डर बेलाबेलामा ‘बम’ बनेर पड्कने गरिरहेका छन् । उपभोक्ताले सतर्कता अपनाउने पनि कसरी ?
लाइन पर्खिएर, पालो कुरेर मुस्किलले ग्यास सिलिण्डर पाइन्छ । पुराना थोत्रा सिलिण्डर डेन्टिङपेन्टिङ गरेर बजारमा चम्काइएको छ । उपभोक्ताले पनि कसरी थाह पाउने ? सतर्कता अपनाउने कुरा यसैमा निर्भर छ ।
म्याद गुज्रिएका सिलिन्डरको लेखाजोखा र मापन कसले गर्ने हो ? थाह छैन । जिम्मेवारी कसले लिने थाह छैन ! सरकार र सरकारी निकाय अब जेसुकै व्यापार, प्रयोजन र आयोजनका लागि केवल सहजकर्ताको भूमिकामा छन् । आधिकारिक निकायभन्दा पनि फ्यासिलिटेटर’ को भूमिकामा ओर्लिइसकेका छन् ।
उपभोक्ता आफैमा विज्ञ छैनन् र होइनन् पनि । सिलिन्डरको म्याद छ कि छैन भनेर जाँच्न तिनीहरूसँग साधन र स्रोत पनि छैन । उपभोक्ताले ग्यास विक्रेताबाट जुन दिन सिलिन्डर पाउँछन्, त्यही दिन ‘नयाँ सिलिण्डर लिएको’ भन्छन् ।
के हो नयाँ, के हो पुरानो ! त्यही सिलिन्डर भान्सामा प्रयोग गरेर ज्यान लिने खतरा निम्त्याइरहेका छन् । सिलिन्डरको म्याद सकिएको नसकिएको परीक्षण अब दुर्घटना भएपछि मात्र थाह हुने भएको छ ।
यस्तो अभिषाप, यस्तो छ विडम्वना ! म्याद सकिएको वा नसकिएको परीक्षण भान्सा कोठामा हुन दुर्घटनाले सूचित गर्छ । सम्वेदनशील हुने भनेको को हो ? एमसीसी, ओबिओआर, बिप्पाको म्याद नेता तथा सरकारलाई कण्ठस्त छ ।
तर सिलिण्डरलगायत दैनिक उपभोग्य पदार्थको म्याद कसले हेर्ने, जाँच्ने र नियन्त्रण गर्ने को हो थाह छैन । मात्र ‘गोहीको आँशु’ चुहाएर पुग्ने देखिदैन । चुहाइएको आँशुले ढोक्सरूपी सिलिण्डर बमले निम्त्याएको संवेदनशीलतामा कमी ल्याउँदैन । कमी ल्याउन सहयोग पनि पुर्याउँदैन ।
सिलिन्डरको माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको पनि मेटिइसकेको हुन्छ । मुस्किलले पाइएको सिलिण्डर, गठबन्धनमा बनेको सरकार जस्तै हुन्छ ! कति बेला के हुन्छ, के हुन्छ ?
ग्यास उद्योगीहरूलाई पैसा कमाउनु मात्र छ । सामाजिक तथा नैतिक दायित्व छैन । उनीहरू पनि आआफ्नो ठाउँमा सरकारजस्तै मैमत्त छन् । सिलिण्डर निर्माण भएको १० वर्षपछि भारवहन क्षमता रहँदैन ।
कहिल्यै पनि सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर हाइड्रोलिक परीक्षण गरेको भन्ने सुनिएकै छैन । त्यसैले पनि जहिलेसम्म सिलिन्डर फेल हुँदैन, तबसम्म प्रयोग गरिहन उपभोक्तालाई बाध्य बनाइएको छ । यसै कारणअहिले यसले बमको रूप धारण गरिरहेको छ ।
सिलिन्डर प्रयोग गर्ने उपभोक्तालाई सिलिन्डरको रेगुलेटर रहने माथिल्लो सतहमा म्याद उल्लेख गरिएको हुन्छ भन्ने प्रशिषण दिन पनि जरूरी छ । यो भनेको भान्सा सुरक्षित राख्ने एउटा उपाय पनि हो ।
तर सम्बन्धित पक्षबाट यी सबै कुराको वेवास्ता गरी आँखा चिम्लनु भान्सामा सिलिण्डर बमको ढोक्सा थाप्नु बराबर हो ।