• मंसिर ११ २०८१, मंगलवार

वास्तवमा शिवरात्रीमा महादेवलाई किन पुजा गरिन्छ ?

फाल्गुन ३ २०७९, बुधबार

शिव महापुराणमा मुख्यरुपले शिव शक्ति र शिव महिमाको विशेष रुपमा वर्णन गरिएको छ । पराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणाको मूर्तिको रुपमा लिइएको छ । शिव चाँडै सहजरुपमा प्रसन्न हुने र मनोवाञ्छित फल दिने देवता हुनुहुन्छ । शिव पुराणमा शिवको जीवन चरित्रका साथै रहनसहन शुभ विवाह र पुत्रहरुको उत्पत्ति भएको विषयमा पनि विशेष रुपमा वर्णन गरिएको छ ।

भगवान शिव सदा कल्याणकारी लोकापकारी र हितकारी हुनुहुन्छ । त्रिदेवता शिवलाई संहारका देवताका रुपमा पनि मानिन्छ । शिवको उपासना अत्यन्तै सजिलो मानिन्छ । अन्य देवताहरुलाई जस्तै शिवलाई बास्ना आउने फूलको माला मीठा—मीठा परिकार र मिठाईहरु पनि चढाउनु पर्दैन । शिवलाई त चोखो जल बेलपत्र काँडैकाँडा भएको कसैले नखाने रुखको धतुरो चढाएममा उहाँ धेरै प्रसन्न हुनुहुन्छ । भगवान शिवलाई राम्रा—राम्रा पोशाक र गहना पनि चाहिँदैन । उहाँ त औघड बाबा नै हुनुहुन्छ । जटा भएका घाँटीमा नागले बेरिएका रुद्राक्षका माला पहिरिएका, शरीरमा बाघको छाला बेरेर बसेका, शरीरभरि मसानको खरानी घसेका अनी हातमा त्रिशुल समाएका शिवले सारा संसारलाई नै आफनो पदचाप र डमरुको कर्णभेदी ध्वनीले नचाइरहेको हुनुहुन्छ । त्यसैले भगवान शिवलाई नटराजको संज्ञा पनि दिइएको हो । भगवान शिवको ताण्डव नृत्य अत्यन्तै भयावह डरलाग्दो भए पनि नृथ्यनाथ नाटेश्वर नास : देवताको सौम्य रुपले नृत्यको प्रादुर्भाव भएको हो । जुन आज आएर विश्वमा नृत्यका विभिन्न किसिमका विद्याहरु विकसित भई नयाँ—नयाँ किसिमले प्रदर्शन भइरहेका छन् ।

भगवान शिवको भेषभूषाले जीवन र मृत्युको बोध गराइराखेको छ । शिरमा गंगा र चन्द्रमा रहेको जीवन र कलाको प्रतीक हो । शरीरमा मसानको भष्मले मृत्युको प्रतीक दशाइरहेको छ । यो जीवन गंगाको धारजस्तै बग्दै—बग्दै गएर अन्त्यमा मृत्युको सागरमा लीन हुन पुग्छ । रामवरित मानसमा तुलसी दासले भगवान शिवलाई ‘अशिव वेपधारी’ र ‘नाना वाहन नाना भेष’ वाला गणहरुका अधिपति भन्नुभएको छ । भगवान शिवलाई जनसुलभ र आडम्रविहीन भेषधारण गर्ने पनि भनिन्छ ।

भगवान शिवलाई निलकण्ठ पनि भनिन्छ । यसको कारणमा समुद्र मन्थनको समयमा जब देवगण र असुरगणहरु अदभूत र बहुमूल्य सामानहरु हात पार्न व्याकुल भइरहँदा कालकुट विष निस्कियो । यसले गर्दा त्यहाँ उपस्थित सबैजना झस्के । उक्त विष ग्रहण गर्न कोही पनि तयार भएनन् । उक्त महाविनाशकारी विष देखेर सबैजना त्राहिमाम भए । अनि भगवान शिवले जगत कल्याणका लागि उक्त महाविष पिएर आफनो घाँटीमा अडकाइदिनु भयो । उक्त विषको प्रभावले शिवको घाँटी निलो हुन पुगेकाले भगवान शिवलाई निलकण्ठ भन्ने गरियो । यस्ता परोपकारी र कल्याण्कारी शिवको चरित्र वर्णन गर्न नै शिवपुराणको रचना गरिएको हो यो पुराण खास गरेर पूर्णरुपले भक्ति ग्रन्थ हो । यो पुराणमा कलियुगका पापकर्मले ग्रसित मानिसहरुको मुक्तिका लागि शिवभक्तिको मार्गदर्शन गरिएको छ ।

मनिसहरुले निष्काम भावले आफनो सम्पूर्ण कर्म भगवान शिवलाई अर्पण गर्नुपर्छ । वेद र उपनिषदमा प्रणाव ऊँ को जप मुक्तिको आधार हो भनिएको छ । प्रणवको अतिरिक्त गायत्री मन्त्रको जप पनि शान्ति र मोक्षकारकको रुपमा लिइएको छ । यो पुराणमा आठवटा संहिताहरु उल्लेख गरिएको छ । जुन संहिताहरु मोक्षकारक हुन् । यी संहिताहरु यस प्रकारका छन् । (१) विद्येश्वर (२) रुद्र संहिता (३) शतरुद्र संहिता (४) कोटी रुद्र संहिता (५) उमा संहिता (६) कैलास संहिता (७) वायु संहिता (पूर्व भाग ) (८) वायु संहिता (उत्तर भाग ) ।

यो संहिताको विभाजनका साथै सर्वप्रथम शिव पुराणको महात्म्य वर्णन गरिएको छ । यही प्रसंगमा चञ्चुला नामकी एउटी पतीत महिलाको कथा छ । उक्त महिलाले शिव पुराण सुनेर आफूले सदगति प्राप्त गरिसकेपछि आफना कुमार्गमा लागेका श्रीमानलाई पनि मोक्ष प्राप्त गरिदिन्छिन् । त्यसपछि शिव पुजाको विधि उल्लेख गरिएको छ ।
शिवको कथा सुन्नेहरुले उपवास अर्थात् भोकै बस्नुपर्दैन भनिएको छ । किनभने भोको पेटले कथामा ध्यान जाँदैन । साथै गरिष्ठ भोजन, बासी खाना, वायु विकार गर्ने दाल, भ्यान्टा, मुला, प्याज, लसुन, गाजर, मासु र रक्सी सेवन गर्नुहुँदैन भनिएको छ ।

शैव दर्शनले शिवलाई संहारकर्ताको रुपमा स्वीकार गरे पनि त्यसको कारकतत्व सृष्टि मानेकाले प्रकृति र पुरुषको संगम शिवलिंगमा देखाइएको हो । झट्ट हेर्दा शिवलिंग शैव सम्प्रदायका अनुयायीहरुले मात्र पूजा गर्ने देवता जस्तो लाग्दछ । तर शिवलिंगको माथिल्लो भाग रुद्रबीचको भाग विष्णु र सबैभन्दा तल्लो भाग ब्रम्ह हो । जलहरी स्त्री शरीरको प्रतीक हो । मुखरहित सादा वा पञ्चमुखी शिवलिंग पूजा गर्दा देवीसहित त्रिदेवको पूजा गरिने भएकोले पनि शिवलिंग स्थापना र पूजा व्यापक भएको भएको हो ।

पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको प्रतीककै रुपमा शिवका पञ्चमुख शिवलिंगमा कुंदिने विधान छ । तत्पुरुष (वायुतत्व ) सद्योजात (पृथ्वीतत्व) वामदेव (जलतत्व) र ईशान (आकाशतत्व)लाई क्रमशः पूर्व, पश्चिम, उत्तर, दक्षिण र आकाशलाई कुंदिन्छ । शिवलिंगको पञ्चमुखलाई महादेव मुख, नन्दी मुख, उमा मुख, भैरव मुख र सदाशिव मानेर पुजा गरिन्छ ।