काठमाडौं । नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमण गरेर स्वदेश फर्किएका छन् । खास गरी परराष्ट्र सचिवस्तरीय बैठकमा आएका विदेश सचिव क्वात्रा गत सोमबार र मंगलबार दुई दिन सघन राजनीतिक भेटघाटमा व्यस्त देखिए ।
नेपालको राजनीतिमा जानकार क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत भइसकेका व्यक्ति हुन् । कुटनीतिक मामिलामा जानकार भएकाले नै यसअघि भारतले क्वात्रालाई राजदूत बनाएर पठाएको थियो । मोदीको विश्वासपात्र समेत रहेका क्वात्रालाई पछि विदेश सचिव बनाइयो ।
नेपालमा प्रचण्ड नेतृत्वमा नयाँ सरकार बने लगतै क्वात्राले टेलिफोन गरेर बधाई दिए । उनले नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न भारत तयार रहेको सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए । नेपाल भारतको विदेश सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका क्वात्रा दुई दिन सचिवस्तरीय बैठकमा भन्दा पनि राजनीतिक भेटघाटमा व्यस्त रहे । उनले दुई दिनमा नेपालको सबै राजनीतिक दलका नेताहरुको नाडि समाते । साथै सुझाव दिएर स्वदेश फर्किएका छन् ।
भारत नेपालमा आफू अनुकुलको सत्ता होस् भन्ने चाहन्छ । त्यसैले पनि क्वात्राको राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विदेश सचिव क्वात्राले पहिलो दिन प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटे । म्याराथुन भेटघाटमा उनले सबैसँग द्विपक्षीय सम्बन्ध विषयमा कुराकानी गरे ।
त्यसो त, नेपालमा दुई ठूला कम्युनिस्ट घटकसहितको सरकार गठनपछि उत्तरी छिमेकी देश चीनको प्रभावबारे बुझ्न पनि उनले राजनीतिक भेटघाट तीव्र बनाएका हुन् । उनको दोस्रो दिन राजनीतिक भेटघाटमै केन्द्रित रह्यो । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेतासँग भेटघाट गरेर उनी स्वदेश फर्किएका छन् ।
कूटनीतिक मामिलाका जानकारहरू क्वात्राको भ्रमणलाई आसन्न राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्छन् । राष्ट्रपति निर्वाचनलाई वर्तमान सत्ता गठबन्धनको भविष्यसँग जोडेर हेर्न थालिएकाले धेरै कुरा स्पष्ट भइसकेको,केही कुरा भारतीय विदेशसचिवको भ्रमणपछि प्रष्ट हुने उनीहरूको भनाई छ ।
दिउँसो खुलमखुल्ला साँझ सुटुक्क भेट
त्यसो त विदेश सचिव क्वात्राले सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग औपचारिक रुपमा भेट गरेका थिए । उनले औपचारिक रुपमा परराष्ट्र मन्त्री, राष्ट्रपति लगायत दलका नेताहरुसँग भेटघाट गरे । साथै उनले सोमबार साँझ गोप्य रुपमा प्रधानमन्त्री दाहालसँग भेट गरे । नयाँ राष्ट्रपतिको विषयलाई लिएर क्वात्राले प्रधानमन्त्री दाहालसँग गोप्य भेटघाटको छनक थाहा पाएपछि सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भत्कन सक्ने संकेत गरेका थिए ।
नेकपा एमालेको भातृसगठन अनेरास्ववियुको उद्घाटन सत्रमा उनले विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागि परेको कुरा घुमाउरो तरिकाले भनेका थिए । यसले के संकेत गर्दछ भने प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति दिन तयार नरहदाँ गठबन्धन भत्कन सक्ने संकेत गरेका हुन् ।
प्रधानमन्त्रीलाई यस कारण दिएन भारत भ्रमणको निम्तो
अहिलेको गठबन्धन कति दिनसम्म टिक्ने परिपक्व नभएकाले विदेश सचिव क्वात्राले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएनन् ।
नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो । ‘भोलिको राजनीतिक परिदृश्य के हुन्छ ?’ त्यो हेरेर मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत देखाएको छ । राष्ट्रपति विषयलाई लिएर अहिले सत्तारूढ गठबन्धन दल र प्रमुख विपक्षी नेपाली कांग्रेसबीचको टकराव भइरहेकै बेला भारत ‘यो सरकार कति दिन टिक्छ ?’ भनेर आ“कलन नगरी प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन चाहँदैन ।
क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आँकलन थियो । तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे । भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ ।
त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए । प्रचण्डले प्रधानमन्त्री नियुक्तिलगत्तै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट हुने बताउनुले पनि भारतीय पक्ष ढुक्क छ । यसअघि प्रचण्डले सन् २००८ मा प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनतर्फ गरेका थिए । त्यसपछि ‘भारत रिसाएको’ भन्दै आफ्नो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए ।
अहिले पनि दाहालले पहिलो भ्रमण भारतबाटै हुने प्रतिबद्धता जनाएका छन् । भारतसँग पहिलो भ्रमण नगर्दा राजनीतिक रूपमा अप्ठ्यारो पर्नसक्ने र सत्ता समीकरण बदलिन सक्ने भय कारण पनि नेपालबाट अधिकांश प्रधानमन्त्रीले भारत भ्रमण गर्ने गरेका छन् ।