• असार २२ २०८१, शुक्रबार

राजा त्रिभुवन शालिकको ठाउँमा सहिद लखन थापाकाे शालिक स्थापना

फाल्गुन २ २०७९, मंगलवार

घोराही दाङ । नेपालका प्रथम सहिद लखन थापामगरको पूर्ण कदको शालिक घोराही–१४ लखनपार्कमा प्रतिस्थापन गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मंगलवार अनावरण गर्नुभयो । त्यहाँ रहेको राजा त्रिभुवनको शालिक लोकतान्त्रिक आन्दोलनका क्रममा हटाइएको थियो । घोराही बजारको करिब करिब मध्येभागमा पार्क सहितको क्षेत्रमा राजा त्रिभुवनको शालिक थियो ।

त्यसलाई त्रिभुवन पार्क नामकरण गरिएको थियो । गणतन्त्र आएसँगै त्यो शालिक हटाइएको थियो । पछि निशानाको रुपमा लखनको शालिक राखियो । जसलाई लखनपार्क भन्न थालियो । पछि नेपाल मगर संघले थापाको पूर्णकदको शालिक ठड्याएको थियो । सहिद थापा सहित सातजना विद्रोहीलाई विसं १९३३ फागुन दुई गते गोरखाको बुङकोटको काउले भङ्गारमा झण्ड्याएर मृत्युदण्ड दिइएको थियो । थापाले जंगबहादुरको शासन खत्तम गर्न भित्रभित्रै हतियार र सेना तयार गरेका थिए ।

त्यसबेला थापाको उमेर ४२ वर्षको थियो । नेपालमा लोकतन्त्र स्थापना पछि उनलाई प्रथम सहिद घोषणा गरिएको हो । थापा मारिएको १४औँ दिनमा श्री ३ जंगबहादुरको पनि भारतको पत्थरघट्टामा विसं १९३३ फागुन १६ गतेका दिन मृत्यु भएको थियो । फाँसी दिनु अघि थापाले जंगबहादुरलाई सात दिनमा मर्नेछ भनेका थिए । आदिवासी विद्रोहको इतिहास पुस्तकमा लेखिए अनुसार थापाले सम्बोधन गरेका थिए ।

जसमा भनेका थिए, ‘म मरेको ७ दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुण्ड्याइएको बेला कोही पनि नरुनु र पीर नगर्नु, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो सानो भई झुण्ड्याइएको डोरीमा शरीर बिलाएमा लखन थापा जीउँदै छ भनेर बुझ्नु । मलाई झण्डयाएको डोरी सुरक्षित राख्नु, म एक दिन फर्केर आउने छु ।’

आदिवासी विद्रोहको इतिहास पुस्तकको पृष्ठ ७६ मा उल्लेख गरिएको छ । तिनै थापाको स्मृतिमा मगरहरुले भव्यरुपमा मनाए । शालिकको चारैतिर पानीका फोहरा उठेका थिए । आफ्नै भेषभुषामा सहभागी मगर महिलाहरुले टिक्टक बनाउनेदेखि फोटो सेसन पनि गरे । गाजाबाजा झाँकी र जुलुस सहित जम्मा भए । औपचारिक कार्यक्रम गरेर थापालाई सम्झिए ।

नेपालका प्रथम सहिद बाँकावीर हुन् भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलेका छन् । बाँकावीरलाई आफै भित्रका सुराकीले हत्या गरेका थिए । थापालाई भने राणाका सेनाले गिरफ्तार गरी बाँसको पिँजडामा हालेर काठमाडौं लगेका थिए । यसरी लगिएका १२ जनामध्ये अरुलाई निर्दोष ठहर्याई छोडियो तर थापा सहितका सात जनालाई फाँसी दिइयो । त्यसैले पनि थापा नै प्रथम सहिद भएको बलियो प्रमाण मानिन्छ ।