काठमाडौं । नेपाली माओवादी जनयुद्धले आज २७ वर्ष पुरा गरी २८ वर्षमा प्रवेश गरेको अवसरमा संसार भर क्रियाशील क्रान्तिकारी पत्रकारहरुको साझा संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनयुद्धबाट प्राप्त भएका उपलब्धिप्रति एक्यबद्धता जनाएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीद्वारा आज एक विज्ञप्ति जारी गर्दै यस्तो ऐक्यबद्दता जनाएका हुन् ।
जनयुद्धको २८औं वर्षगाँठ नेपाल भर धुमधामका साथ मनाइएको छ । खासगरी विभिन्न माओवादी घटकहरुले यो दिवस मनाएका छन् । विज्ञप्तिमा केसीले ‘जनयुद्धमा सहादत प्राप्त अमर शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते अपाङ्ग तथा बेपत्ता योद्धाहरुप्रति सहानुभूति सहित सम्मान व्यक्त गर्दै २८औं जनयुद्धप्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छ ।’ भनेका छन् ।
‘नेपाली सशस्त्र जनयुद्ध नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक हरक्षेत्रको समग्र युद्ध थियो । त्यसले नेपाली समाजमा ठूलो परिवर्तन पनि ल्यायो तर जनयुद्धको नेतृत्व गरेको मुख्य शक्तिले देशी-विदेशी प्रतिक्रियावादीहरुका सामु लम्पसार परेर प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेपछि नेपाली क्रान्तिले धक्का खानुका साथै जनयुद्धका उपलब्धिहरु पनि धरापमा पर्न गएको ठहर हाम्रो संगठनले गरेको छ र नेपाली जनयुद्धका बाँकी कार्यभार पूरा गर्नका लागि त्यही महान दशवर्षे जनयुद्धको जगमा सशस्त्र जनविद्रोह मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने सामरिक कार्यदिशाका साथ क्रान्तिको तयारी गरिरहेका नेपालका क्रान्तिकारी माओवादी पार्टीहरुले नेपाली क्रान्तिका लागि मुख्य बाधकको रुपमा खडा हुन पुगेको दक्षिणपन्थी संशोधनवादीहरुलाई वैचारिक रुपमा ध्वस्त पार्दै दृढतापूर्वक अपचलित रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै नेपाली नयाँ जनवादी क्रान्ति विषयप्रति अगाध विश्वास रहेको दृढता प्रकट गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र आम मुक्तिकामी जनसमुदायप्रति साथ र सहयोग रहिरहने हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले दृढता व्यक्त गर्दछ ।’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।