काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुका किसानले पालेका बाख्रा तथा भेडाहरुलाई पिपिआर खोप लगाउने अभियान थाल्ने भएको छ । ‘पिपिआर खोप लगाऔं, भेडा बाख्राको हैजा भगाऔं’ भन्ने नारासहित सो खोप लगाउन थालिएको हो ।
साताव्यापी सञ्चालन हुने सो खोप कार्यक्रम फागुन १ देखि ७ गतेसम्म चलाइने छ । ललितपुरको लगनखेलमा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विज्ञ बासुदेव नाथका अनुसार सो अस्पतालबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका भेडा तथा बाख्राहरुलाई खोप लगाइने छ ।
उनका अनुसार प्रदेशका अन्य १३ वटै जिल्लाहरुमा पनि यो कार्यक्रम सञ्चालन हुनेछ । थप जानकारीका लागि बागमती प्रदेशको कृषि तथा पशुपंछी मन्त्रालयको वेबसाइट bagamati.gov.np हेर्न सकिनेछ । नाथका अनुसार पिपिआर नियन्त्रण गर्ने, यो रोग नियन्त्रणका लागि प्रदेश भर जनचेतना फैलाउने र भेडाबाख्रा पालनमा असल अभ्यासलाई प्रभावकारी ढंगले लागू गराउन सहयोग गर्ने यो अभियानको उद्देश्य रहेको छ ।
के हो पिपिआर रोग ?
भेडा तथा बाख्रामा विषाणुका कारणले लाग्ने रोग हो । यो नेपालमा ०५०-०५१ सालदेखि यो रोग देखा परेको हो । रोगी भेडा तथा बाख्राको सम्पर्कबाट यो रोग सजिलै सर्नसक्छ । ज्वरो आउने, झोक्राउने, थुतुनो सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छोड्ने यो रोगका लक्षणहरु हुन् । आँखा रातो भइ आँशु बग्ने, सिंगान बग्ने, गिजा र मुखमा घाउ आउने र छेरौटी लाग्ने यसका अन्य लक्षणहरु हुन् । त्यस्तै अत्यधिक रगत मिसिएको झाडापखाला लाग्ने र जलवियोजन हुने र स्वास फेर्न गाह्रो हुने यसका थप लक्षणहरु हुन् ।
उपचार कसरी गर्ने ?
यस्ता लक्षण देखिएका भेडा तथा बाख्रालाई अलग्गै राख्ने । रोगी पशुलाई ओसारपसार नगर्ने । रोगी पशुको हेरचाह गर्ने व्यक्तिले जुत्ता, चप्पल र कपडाहरु फेरेर मात्र गोठमा पस्ने । भेडाबाख्रालाई ३–३ वर्षमा पिपिआर खोप लगाउने । फार्ममा जैविक सुरक्षा कडाइपूर्वक लागू गर्ने ।