• मंसिर ११ २०८१, मंगलवार

दक्षिण कोरिया गएका नेपाली : ‘उद्योगमा काम गर्नेले कृषिमा काम गर्नेलाई हेप्नी’

माघ २८ २०७९, शनिबार

 हरिराम भण्डारी ।
सियोल । कोरियामा नेपालीहरु भेटिए पछि शुरु हुने कुराकानीमा परिचय भएपछि एउटा प्रश्न सोधिन्छ । त्यो प्रश्न हो तपाईं ‘खोङ्जाङ’मा हो कि ‘नोङजाङ्मा’ हो ? दुईजना बिपरित क्षेत्रका परे भने एक्कासी कुराकानीमा ठुलो भड्खालो आइपर्छ । नोङ्जाङवालाको स्वर मलिनो हुँदै जान्छ ।
यसको कारण खोङ्जाङ भनेको उद्योग क्षेत्र अंग्रेजीमा मेनुफेक्चरिङ र छोटकरीमा मेनु भनिन्छ । अर्को नोङ्जाङ भनेको कृषि क्षेत्र हो । एग्रिकल्चरलाई छोटकरीमा एग्री भनिन्छ ।

खोङ्जाङ र नोङ्जाङको खाडल खासै गहिरो नभएपनि मनोवैज्ञानिक खाडल गहिरो छ । यो नेपालबाटै बिरासतमा ल्याएको हो । नेपालमा कृषि क्षेत्रलाई गरिएको उपेक्षा र किसानलाई हेर्ने दृष्टिकोणसँग समेत यसको साइनो हुनसक्छ । बिडम्वना ! तिनै किसानका छोराछोरी द.कोरियामा मेनुमा आएपछि कृषिक्षेत्रका आफ्नै साथिलाई दुःखी किसान सम्झन्छन् ।

उनले आफ्नो क्याटोगरी नै फरक भएको गफ मात्रै गर्दैनन् । नेपालमा समेत गफ चुट्न भ्याइसकेका हुन्छन् । कोरियामा भएका साथिलाई त तनाव दिन्छन् । नेपालमा भएका परिवार र आफन्तजनमा समेत हिनताबोधले ग्रसित बनाइदिन्छन् ।

जुनसुकै विषयमा पनि सामाजिक विभेदको अभ्यासले थला परेको यथार्थले पिल्सिएका हामी उही चरित्र देखाइहाल्छौं । सबै काम सानो ठुलो हुँदैन बराबर हो । मान्छे पनि बराबर हो । मानिसले गर्ने कामका आधारमा समाजले विभेद गर्ने मुलुक नेपाल हो भन्दा धेरै लाज लाग्छ । कामको प्रकृति अनुसार राज्यले गर्ने सेवा सुविधा फरक हुन सक्छन् । प्रतिघन्टा कामको मूल्य एग्री होस् या मेनु एउटै हो । ईपिएसको नीति-नियम पनि एउटै हो तर किन टिमुर्किन्छन् दाजुभाईहरु ?

परदेशको ठाउँमा कामकै आधारमा त्यो देशका नीति-नियम र कानूनको परिधिमा रहेर केही प्रावधान फरक हुनु स्वभाविक हो । यसैलाई आधार मानेर आफ्नै दाजुभाईहरुले हेपेको देख्ता साह्रै मन दुख्तो रहेछ । मेनुको र एग्रीको धर्ति र आकाशको फरक त केही छैन । मेनुका सबै होइन । उम्लेर पोखिने हालतका केही उरन्ठेउलाहरुको सोच दयनीय छ । एग्रीका दुखी उखु किसान र मेनुका उद्योगपति हुनकी झै गर्छन् । दुवै एउटै प्रक्रियाबाट अर्काको देशमा आएका मजदुर हौं भन्ने हेक्का नै राख्तैनन् । आक्रोसित हुँदै नाम नबताउने शर्तमा एक गाई फर्ममा काम गर्ने दाङका भाईले बताए ।

२ जना काम गर्ने भए पनि तँ भन्दा म हाकिम हुँ भन्ने पाराले सुख होला ? खरानीका लागि जोगी लडे झैं नेपाली यो अवस्थामा गुज्रिरहेका छन् । कुरै गर्ने हो भने मेनु कृषि झैं फलदायी छैन । दिर्घकालिन सोच्ने हो भने कोरियन एग्रीकल्चर नेपालमा धेरै लागु गर्न सकिन्छ ।
केही प्रशित मात्रै व्यवहारमा उतारे मात्रै जीवनस्तरमा आमूल परिवर्तन मात्रै होइन कुल ग्राहस्थ उत्पादनमा प्रभाव पार्ने हैसियत राख्छ । कोही अर्को पिबिटी सिबिटीको तयारी गरिरहेको अवस्थामा गाउँमा एग्रिबाट फर्किएकोले फार्म खोलेर साजाङनिम भैसकेको हुन्छ ।

जति मच्चिए पनि मेनु र एग्रीको फरक भनेको ५ वर्षमा तेहि १०/१५ लाख नेपाली रुपैयाँ हो । के त्यतिले मेनु भन्दा एग्रि कम हो ? कदापि होइन । पैसामा तुलना नगर्ने हो भने कृषि क्षेत्र नेपालको लागि बरदान हो । फर्किएका नेपालीको जीवनस्तर तुलना गरौं । यहीँ आत्महत्या वा अवैधानिक हुने अनुपात विश्लेषण गरौं । औद्योगिक दुर्घटनामा पर्नेमा कृषि कामदार कम छन् ।

आत्मनिभरर्ताको सूचाङ्कलाई हेर्ने हो भने कृषि अब्बल छ । सन् २०११ मा ८४ प्रतिशत भन्दा कम नम्बर ल्याउनेलाई कृषि क्षेत्रमा ल्याएपछि विभेद बढेको हो । अहिले भने एग्रीको लागि छुट्टै कोटा रहेको छ । खासमा मेनुमा ओभरटाईम काम गर्न पाइन्छ । सेवा सुविधा नियम अनुसार पाइन्छ । छुट्टी महिनाको ४ दिन पाइन्छ । सार्वजनिक विदामा काम गरेमा पैसा पाइन्छ ।

कृषिमा श्रम मन्त्रालयले तोकेको निश्चित तलव हुन्छ । छुट्टी प्राय २ दिन हुन्छ । नहुन पनि सक्छ । मेनुतिरका सेवा सुविधा प्रायः हुदैनन् । धेरै कम कामदार हुने फर्ममा साहु साहुनीको निर्भर हुन्छ । उनीहरु दयालु परेमा कोरियाको जीवनयापन स्वर्ग पनि हुन्छ ।
नत्र कृषिको काम रमाइलो नभए बडो गाह्रो पनि छ । बानी परेपछि भने सधै एउटै काम गर्नुपर्ने भएकोले सजिलो महसुस हुन्छ । हिउँपर्ने मौसममा साहुले कामबाट निकालीदिने समस्या बढ्दो छ ।

विषयगत भिन्नतालाई स्विकार गरौं । उद्योगतिरका दाजुभाईले सकभर नेपालमा गएर केहि गरौं । हजुरहरुसँग विदाको समय हुन्छ । त्यो अवधिमा पैदल घुमफिर गरेमा व्यवसायिक कृषिका धेरै कुरा जानिन्छ । कृषिमा भएकाले नेपालमा गएपछि यो गर्छु भन्ने प्रायः निश्चित नै हुन्छ ।

मेनुमा भएका साथ सहयोगले एग्रीले गाउँमा फर्म खोलेर स्वरोजगारको अवसरको साथै साजाङनिम हुने सपना देखौं । मेनुमा भएकोहरु संसारै जिते झैं मात्तिने र कृषिमा हुनेहरु सर्वस्व हारे झैं आत्तिने गर्नु भएन । अन्तिममा हिरोले जिते झैं कृषि नै सबै व्यवसायमा उत्तम हो । ‘कृषि मुलश्च्य जीवनम्’ हाम्रो आदर्श हो । भविष्य हाम्रो हातमा छ ।