काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए । उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई बिनास गर्ने बताए । उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरुको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए ।
उनले भने, ‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन् । विदेशीहरुका दलालहरु छन् । यी हाम्रा शत्रुहरु हुन् । यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन् । यो उनीहरुको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा हामी संस्कृतिककर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ । हाम्रा सहयोगी मित्रहरु पनि छन् । यी साथीहरुसँग आलोचना र समर्थनको दृष्टिकोणले हेर्नुपर्छ । नराम्रालाई मैत्रीपूणर् आलोचना र राम्रालाई समर्थन गर्नुपर्छ । हामीले समाजवादी संस्कृतिको निर्माण गर्ने सिलसिलामा नयाँ कविता रच्नुपर्छ । नयाँ कथाहरु बनाउनुपर्छ । नयाँ उपन्यास, महाकाव्य लेख्नुपर्छ र साँस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ ।’
खनालले समाजवादी साँस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए । तर ३ वर्षअघि खनालले नै सर्प पाल्नका लागि राज्यकोषबाट ७२ करोड लिएका कारण उनको चर्को विरोध भएको थियो । अघिल्लो वर्षपनि उपचारका लागि २५ लाख रकम खनालले लिएको समाचार आएको थियो । यी समाचारको कतैपनि खण्डन गरिएको छैन । २ वर्षअघि खनालले भारतमा गएर उपचार गरेर फर्किएका थिए ।