काठमाडौं । प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु भएको छ । सेना दिवसका अवसरमा आयोजित सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।
प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ । सेनाले विसं २०७२ देखि स्थापना दिवसका अवसरमा यो प्रतियोगिता गर्दै आएको छ ।
उक्त प्रतियोगिताअन्तर्गत आयोजना गरिएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा सहभागी हुनेछन् । उक्त वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति सहभागी हुनेछन् ।
प्रतियोगिताअन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला, गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् । प्रतियोगिताअन्तर्गत २१ किमी हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सात सय ५० धावक सहभागी छन् ।
सैनिक सहचारी र सेनाका महाविद्यालयमा अध्ययनरत छात्रछात्रा सम्मिलित १० किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १० हजार, सात हजार र पाँच हजार नगर प्रदान गरिने सेनाले जनाएको छ । प्रतियोगितामा पाँच सय धावक सहभागी छन् । नेपाली सेनाले यस पटक आफ्नो स्थापनाको २६० औँ स्थापना दिवस मनाउने क्रममा छ । सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाउँदै आएको छ ।