१. ऋगवेद :
ऋगवेदमा ‘मनुर्भव’ अर्थात् मान्छे बन्न सिक भन्ने छ । यसमा भगवान वा राक्षसको कुनै स्थान छैन । मानवको जीवन अति सुन्दर र अनुपम छ, किनकि मृत्यु अवश्यंभावी छ । यो मूलतः आमाले गर्भधारणदेखि शिशुसम्म गर्ने ममतामयी वात्सल्यको भूमिकामा आधारित छ ।
ऋगवेदका मण्डल र ऋचाहरू यसैको वरिपरि सौर्यमण्डलका ग्रह र चन्द्रमाले अविश्राम परिभ्रमण र परिक्रमण गरिरहे झैं फनफनी घुमिरहन्छन् । मानिसभित्र आत्मिक रूपमा उत्पन्न हुने अहंकारको वाल्यकालदेखि नै विजारोपण हुन नदिन जोड दिइएको छ ।
यो भौतिकवादी पञ्चमहाभूत तत्वको ज्ञान र पारिवारिक शिक्षादीक्षासँग घनिष्ठ रूपमा जोडिएको छ । यसमा वर्णित सन्जीवनी बुटी र सोमरस मानवको रसाइरहने लोभी ग्रन्थीका लागि चित्ताकर्षण बनेर रहेको छ ।
२. यजुर्वेद :
यजुर्वेदमा कर्म अर्थात् मनुष्यले गर्ने काममा जोड दिइएको छ । यज्ञलाई कर्मका रूपमा परिभाषित गरिएको छ । यज्ञ कार्यमा गुरू र बाबुको भूमिका सबैभन्दा माथि छ ।
ज्ञान, सुरवीरता, पराक्रम, प्रतिज्ञा, प्रतिबद्धता र कार्यसिद्धिमा निरन्तरतालाई कर्म मानिएको छ । सही कर्मका लागि बलिदानलाई सर्वश्रेष्ठ कोटीमा राखिएको छ ।
३. सामवेद :
साम वेदमा संगीत, साथीसंगी, प्रेम र गृहस्थ जीवनलाई सुन्दर ढंगले उन्न खोजिएको छ । यसका मण्डल र ऋचाहरू मानिसका राग र अनुरागका माधुर्य अभिव्यक्तिका रूपमा माला झैं सुन्दर, स्पर्शी, कोमल, अनुभूत हुने गरी जीवनलाई रसमय, ग्राह्य र अविस्मरणीय बनाउन ज्ञान फिंजाइएको छ । यसमा वस्तु वा मानव रूपान्तरणमा जोड दिइएको छ ।
४. अथर्व वेद :
अथर्व वेदमा मानिसको शरीर रूपी अस्तित्व र जगत बीचको तादाम्यता, उत्पन्न विसंगति, रोग, ग्रन्थी, अर्थ संकलन, अपचलन, प्रयोग, दुरूपयोग, औषधि तथा तान्त्रिक वा मायावी ऋचाहरू समिश्रित हरेक मण्डलमा भेटिन्छन् ।
सार्थक जन्म, सही कर्म, आनन्दित जीवन र रोगरहित शरीर र अत्याचाररहित जगतको उन्नयन, रक्षा र गुणात्मक निरन्तरता चारै वेदमा पाइन्छ ।