काठमाडौं । फागुनसम्म बैंकको ब्याज नघट्ने भएको छ । नेपाल बैंकर्स संघले आउँदो फागुन महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेपछि ब्याज नघट्ने भएको हो । संघको बिहीबार बसेको बैठकबाट फागुनमा पनि ब्याजदर यथावत राख्ने निर्णय गरिएको हो ।
बैंकहरूले माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका थिए । माघ अगाडिसम्म एकवर्षे मुद्दति निक्षेपको ब्याजदर नै १२ प्रतिशतभन्दा बढी पुगेको थियो । अहिले बैंकहरूले एक वर्षको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिने गर्छन् । संस्थागततर्फ भने ९ प्रतिशत ब्याजदर तोकिएको छ ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजदर घटाएका छैनन् । माघदेखि घटेको निक्षेपको ब्याजदरले चैत मसान्तमा बैंकहरूको बेसरेट घट्ने छ । जसले वैशाखमा पुराना ऋणिको ब्याजदर केही घट्ने देखिएको छ ।