• मंसिर १२ २०८१, बुधबार

म्याच फिक्सिङ गराउने मतियारको आरोपमा वीरगञ्जका साह पक्राउ

माघ २४ २०७९, मंगलवार

काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप एकजनालाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) कमल थापाले बताए ।

१८ वर्षीय नितेश वीरगञ्जमा नितेश साह भनेर चिनिन्छन् । ब्युरोले यसअघि माघ ९ मा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

स्पट फिक्सिङमा नितेश गुप्ता बिचौलियाको भूमिकामा देखिएका छन् । नितेशले राष्ट्रिय टिमका एकजना खेलडीलाई फिक्सिङ खेल्न आग्रह गरेका थिए तर, ती खेलाडीले सो प्रस्ताव अस्वीकार गरेर एन्टी करप्सन युनिटलाई जानकारी समेत गराएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

नितेश क्रिकेट प्रेमी हुन् । १२ कक्षासम्म अध्ययन गरेका उनले स्थानीय स्तरमा क्रिकेट खेल्ने गरेको प्रहरीलाई बताएका छन् । सिआईबीका एसपी कमल थापा भन्छन्-‘फिक्सिङमा नितेशको भूमिका मतियारको रुपमा देखिएको छ ।’

स्पट फिक्सिङको प्रस्ताव ३ जना खेलाडीले अस्वीकार गरेका छन् । तिनजना क्रिकेटरले त्यस्तो अफर गर्नेलाई मेसेज र फोन ‘नो’ मात्रै भनेनन्, उनीहरूलाई ब्लक गरेर एन्टी करप्सन युनिटलाई जानकारी गराएका थिए ।

नेपाल टी-ट्वान्टी क्रिकेट लिगमाा भएको स्पट फिक्सिङमा संलग्न आरोपमा मेहबुव र आदिल अन्सारी १५ दिनदेखी ब्यूरोको हिरासतमा छन् । ब्युरोका डिएसपी सुन्दर तिवारी सहित ५ जनाको टिमले फिक्सिङबारे छानबिन गरेका थिए ।