• असार २२ २०८१, शुक्रबार

अचम्म लाग्यो ! गोरखाका विद्यार्थीका हात-हात डस्टविन

माघ २४ २०७९, मंगलवार

दाङ ।  एक जनाले कागजको कप दिए, अर्कोले चिया खन्याए । गत पुस १७ गते दिउँसोको मौसम धमिलो र चिसो थियो । मिठो मानेर चिया खाएँ, सकिने बेला अब गिलास कता राख्ने भन्ने चिन्ता बढ्यो । ‘चिया त पिइयो अब गिलास कहाँ राख्ने ?’ नजिकै बस्नुभएका मित्रलाई सोधेँ, उहाँले जवाफ दिनुभयो ‘यतै राख्नुहोला अहिलेलाई, अनि व्यवस्था हुन्छ ।’

मैले कुर्सी मुनी बसालेँ । एक छिनपछि रातो बाल्टी बोकेर एक जना छात्रा फोहर उठाउँदै आउनुभयो । म हर्षित हुँदै उहाँको बाल्टीमा राखेँ । मलाई यति धेरै खुशी लाग्यो, गोरखा इन्टरनेश्नल पब्लिक स्कुलको २५औँ वार्षिक उत्सव थियो । त्यो अवस्थामा पनि विद्यार्थीहरु अतिथिका फोहोर सकलन गर्दै हिंडेका देखिए । उपस्थितिमध्ये आधा बढि अभिवावक थिए । अतिथि, अभिवावक र विद्यार्थीका लागि अलग अलग बस्ने व्यवस्था थियो । डोरी लगाएर, हिंड्ने बाटो र बस्ने स्थल छुट्याइएको थियो । तर मञ्चका गतिविधि सबैले देख्न सक्थे, आपसी अवस्था थाहा पाउन सक्थे र तिनै थरिका बारेमा जान्न सक्थे । यसैले बृहत सभामा पनि सुविधा सम्पन्न हुने गरी कार्यक्रम मिलाइएको थियो ।

‘श्रम गर्न लगायो भने मैले पढ्न पठाएको हुँ, काम गर्न होइन भन्छन् । अभिवावकले गुनासो गरेपछि केहि गर्न लगाउँदैनौँ ।’ शौचालय सफा गर्न, करेसावबारी बनाउन, चउर बढार्न, कक्षा कोठामा झाडु लगाउन सिकाउनुस् भनेपछिको केही निजी विद्यालयका प्रिन्सिपलले भन्ने गर्नुहुन्छ ।

तर, गोरखाका विद्यार्थीले अभिवावककै सामुन्य काम गरे । आफ्नै अभिवावकलाई चिया बिस्कुट तातो चिसो पानी खुवाए । उनीहरुले उत्पादन गरेका फोहोर संकलन गरे । फोहोर टिप्दै हिंडे । फाले फोहर हुन्छ, टिपे सफा बन्छ यो सामान्य नियम हो । तर अहिलेसम्म हामीले फोहोर फालेर बडापन देखाउँछौँ । फोहोर जथाभावी फाल्ने व्यक्ति पढेलेखेको र विद्धान मानिन्छन् । लेखकले केही लेखेपछि कागज च्यात्छ र बसेकै ठाउँमा थुप्रो लगाइदिन्छ । चोखो भनेर कागजको कपमा चिया पिउँछ त्यसलाई डस्टविनमा हाल्दैन । बसेकै ठाउँमा बसाल्छ । एवम् तरिकाले भोला खाने गाडीको चालक, सहचालक, कपाल काट्ने नाई, कुनै ठाउँमा काम गर्ने कामदारले पनि त्यसरी नै खोस्टा फाल्ने गर्छ ।

सरसफाई चेतनाका स्तरबाट यी दुवैलाई एउटै दर्जा दिनुपर्छ । यसैगरी पुस २९ गते अल्फा इङ्लिस बोर्डिङ स्कूल घोराही १४ ले ३४औँ वार्षिकोत्सव मनाउँदै थियो । त्यहाँ पनि शिक्षकहरु नास्ता बाँड्दै गर्थे, कार्टुन बोकेका विद्यार्थी फोहोर संकलन गर्न जान्थे । केहीले भाँडोमै राखिदिए भुइँमा फालेको विद्यार्थीले उठाए । नास्ता खाई सकिँदासम्म फोहोर थिएन । भव्य समारोहमा फोहोर टिप्दै हिंडेको दृश्य असाध्यै आदर गर्न मन लाग्यो । यसै मार्फत् अभिववाक, शिक्षक विद्यार्थीको फोहोर उठाउने विद्यार्थीलाई सलाम छ ।

गत पुस २६ गते माउन्टभ्यू इङ्लिस बोर्डिङ स्कूल घोराही–१८ ले नवलपुर खेल मैदान घोराही–१८ को फोहोर टिप्यो । मेयर कपका अवसरमा भएको फोहोरका बोराका बोरा फोहोर संकलन गरेर प्रशंसा पायो । त्यसै विद्यालयले २९ गते आफ्नै प्राङ्गणमा भव्य समारोहको आयोजना गरेको थियो । अभिवावक र विद्यार्थीको संख्या मोबाइलमा अटाई नसक्नु थियो । त्यहाँ भने नास्ता खाएका खोल तथा खोस्टा रद्धछद्ध फालेको देख्दा कटक्कै मन खायो । त्यसदिन पनि सरसफाई स्वयंसेवक ग्रुप राखेरै भएपनि भुईंमा खस्न नदिएको भए अति उत्तम हुने थियो ।

आफै फाल्छौं, आफै त्यही फोहोर टिप्न झाडु बोकेर सडकमा निस्कन्छौँ । फोटो खिच्छौँ र समाचार बन्छौँ । म दाउरा बोक्न पुस १५ गते बसन्त हरियाली सामुदायिक वन घोराही–१८ मा गएको थिएँ । संयोगले नेपाली सेनाको फाइरिङ रेञ्ज स्थलमा परेको थियो । त्यो क्षेत्रमा पुगेपछि सेनाप्रतिको धारणापनि बदलिएको छ । सडकमा छँदा त्यही सेनाले थुक्नेलाई पुछ्न लगाउँछ भन्ने सुन्छु । सेनाको व्यारेक आउँदैछ कसैले न थुक्नु, बाहिर कुनैपनि कुरा नफाल्नु भनेर गाडीका चालकले उर्दी लगाउँछन् ।

त्यही सेनाको फाइरिङ् रेञ्ज आसपासमा प्लाष्टिकजन्य र सिसा जथाभावी फालेको देखियोे । त्यसरी जंगलभरी प्लाष्टिक र सिसा फाल्नु सेनाको कमजोर पक्ष हो । त्यसले दाउरा र घाँस गर्ने किसान आमा बुवालाई दिर्घकालसम्म असर गर्नेछ । त्यहाँका बोटविरुवामा समस्या आउने छ । बगाएर ल्याए भने खेत खलियानमा आउने छ । यसै हो भने सरसफाइमा साँच्चै सचेत वर्गको छ त ? प्रश्न जागेको छ । सिकाई समूहले निकालेका पुस्तकमा भेटेको थिएँ, जापानमा बच्चाहरुलाई खान दिएको कुरा आधा बचाए भने शिक्षकले खाइदिन्छन् । फोहोर खसाले भने टिप्छन् ।

सकभर बच्चाले नै डस्टविनमा हाल्छन् । शिक्षक र विद्यार्थी साथी जस्तै हुन्छन् । जहाँ पुगेपनि भुईंमा फोहोर फाल्दैनन् । मैले गोरखाका बच्चाहरुले डस्टविनहरु अतिथि अभिवावकको नजिक नजिक लगे, भुईंमा राखेको आफै टिपेर हाल्थे, केही सभ्य अतिथि एवम् अभिवावकले आफ्नो फोहोर दिन्थे । बृहतसभा समापन हुँदासम्म पनि चौरमा फोहोर देख्न पाइएन । मलाई लाग्यो अबको पुस्ता पक्कै विकसित र सफा हुन्छ । करीब दुई तिन वर्षअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको कार्यक्रममा पुगेको थिएँ ।

त्यहाँ डाक्टर र चिकित्सकले खाजा खाएर भुईंमै खोल बसाले । प्याकिङ खाजाको खोलले उनीहरु कार्यक्रम समापन गरेर उठ्दा सोत्तर लाग्यो । उनीहरुको त्यो शैलीले मलाई दिक्क बनायो । डाक्टरले के सिके र विरामीलाई कस्तो काउन्सिलिङ गर्लान् ? आफैमा प्रश्न गरेँ । हाम्रो पत्रकार महासंघमा पनि पटक पटक फोहोरका यस्तै समस्या आएका हुन्छन् । अरुलाई सिकाउने सभ्य वर्ग नै खराब आनिबानीको छ । म ढुक्क भएँ कम्तिमा त्यो फोहोर उठाउने ती बच्चा जति नै ठुलो पदमा पुगेपनि फाल्ने छैनन् । आफनो घर अफिस सफा राख्ने छन् ।

त्यस स्कूलका अभिवावक तथा गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयका घोराही–१७ चौघेराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यले स्कूलको खुबै प्रशंसा गर्नुभयो । अभिवावक वुद्धिजीवी, समाजसेविको तर्फबाट बोल्नु भएका आचार्यले भन्नुभयो ‘म असाध्यै सन्तुष्ट छु । मलाई बच्चा यहाँ भर्ना गराउँदा कुनै पछुतो छैन ।’

उहाँका दुई भाई छोरा त्यसै विद्यालयमा अध्यनरत हुनुहुन्छ । आचार्यले पनि यसक्षेत्रको प्रतिष्ठित विद्यालय चौघेरालाई हाँक्नुभएको छ । सायद थप ऊर्जा मिल्यो होला । किनभने सबैलाई प्रेरणा दिने कार्यक्रम थियो । त्यस कार्यक्रममा आउनुभएका विशिष्ट अतिथि प्रज्ञा तथा वरिष्ठ संगितकार प्रदिप बम्जनले ‘म पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म शिक्षकलाई तालिम दिन जान्छु’ उहाँले थप्नुभयोे, ‘जहाँ जाने छु गोरखाको कुरा शेयर गर्नेछु र त्यो देशका लागि हुने छ ।’

उहाँले यस विद्यालयको उपलब्धीलाई पश्चिमका लाहुरेको कृति भन्नुभयो । यसको सिको पूर्वका लाहुरेले पनि सिकोस् भन्नुभयो । देशभरमा लाहुरेहरुले गरेको पहिलो, महत्वपूर्ण र अनुकरणीय काम भन्नुभयो । त्यसमा विद्यार्थीले डस्टविन बोकेर फोहोर उठाउँदै गरेको दृश्य अवस्य समेटिने छ । माइकमा खराबी आयो, एउटा नाचलाई रोक्नुपर्ने भयो । त्यसको साटो सञ्चालक समितिका सदस्य फाउन्डर जंगबहादुर पुनलाई मन्तव्यका लागि बोलाइयो ।

उहाँले ‘नानी बाबु केटाकेटीको सञ्चालन हुन लागेको कार्यक्रममा अवरोध खडा भयो असुविधाप्रति क्षमा याचना गर्न चाहान्छु’, उहाँले प्राविधिक कमजोरीमा पनि माफ माग्नुभयो । मानवीय कमजोरमा पनि यसरी नै संवेदनशील छ भन्ने देखाउनु भयो । त्यसैले सञ्चालक जिम्मेवार र जवाफदेही छन भन्ने बुझियोे । म अहिले ९३ वर्ष लाग्दैछु ।

‘म सितका कमै होलान् । कुर्थी र काठको पाटीमा खरीले लेखेर कखरा सिकेको हुँ । नाङ्गा खुट्टा, झण्डैझण्डै नाङगो शरीर भनेपनि हुन्छ कुर्थी मात्रै लगाउने हो । म त कहीँ स्वर्गमा आइरहेको छु कि भन्ने भान भयो ।’ उहाँले भनेजस्तै मञ्चको रंगिन टेन्टदेखि हरेक कुरा व्यवस्थित थिए । विद्यार्थीका स्टलहरु पनि टेन्टहरुले व्यवस्थित पारिएका थिए । त्यति फराकिलो विद्यालय क्षेत्र ध्वाजा पताका तथा विद्यार्थीको प्रोजेकट वर्कका कलाकृतिले सजाइएको थियो । निकै शक्तिशाली साउन्ड सिष्टम थिए । एम्बुलेन्स सहितको स्वास्थ्य सेवा रहेको गोरखा हस्पिटलका प्रशासकीय प्रमुख दिनेश आचार्यले जानकारी दिनुभयो । थप सेवामा डाइटिसियन एक्सपर्ट ल्याउन लागेको सिइओ नौलासिंह जिएमले जानकारी दिनुभयो । ‘बच्चाको खानाको कमजोरी अभिवावकमा छ उहाँले भन्नुभयो जंकफुड धेरै खाएको देखिन्छ ।’

प्रिन्सिपल मानसिंह जिएमका अनुसार तिन सय ११ जनाबाट २५ वर्ष अघि स्कूल शुरु भएको हो । अहिले घोराहीको गोराखा स्कूलमा मात्रै दुई हजार आठ सय ४३ जना छन् । बाँकी तुलसीपुर, लमही र भालुबाङसहित नौ हजार बढि विद्यार्थी र एक हजार बढि शिक्षक कर्मचारी छन् । विद्यालयका शेयर सदस्य गोरखा आइडियल स्कूल लालमटियाका प्रिन्सिपल तथा लागु औषध विज्ञ वसन्त पुनले भन्नुभयो, ‘जुनसुकै डग सेवन गरेपनि आन्द्राको बोसोमा टाँसिन्छ । खाएको एक महिना पछिसम्म पनि रिजल्ट आउँछ ।

डग खानेले सत्य कुरा बोल्दैन । खाइस कि भनी सोधेर हुँदैन । जाँच गरेपछि मात्र पत्ता लाग्छ । पढाईमा कमजोर हुने वा हुँदै जानेछ भने, साँझ समयमा सुत्दैन र विहान समयमा उठेन भने, अनावश्यक साँझमा घर बाहिर बस्छ भने र दुब्लाउँदै जान्छ भने शिक्षकलाई भन्नुस्m गाँजा, हिरोइन, चरेस र कोकिन जे खाएपनि यसले देखाइदिन्छ । अब तपाईंको चिन्ता रहेन । एकपटक जाँच गराउनुस् सबै पत्ता लाग्छ ।’

यसबेला त्यहाँ उपस्थित अतिथि छिमेकी विद्यालकाय प्रिन्सिपलदेखि अभिवावक शान्त भएर सुने । उहाँ जस्तै धेरै विज्ञ विद्यालयले राखेको छ । यसैगरी पूर्वीय दर्शन तथा योगाका लागि रविन्द्र बस्नेत, हेण्ड राइटिङ वामदेव योगी, प्रोजेक्ट बेस लर्निङमा सुनिल पोखे्रेल र परिक्षा प्रणाली प्रभावकारी बनाउन गोरखा गु्रुप घोराही, तुलसीपुर, लमही र लामटिया स्कूलमा एउटै प्रश्न पत्र लागु गरेको छ । यस्तै कारणले हुनुपर्छ यातायात व्यवस्थापनमा गाहो भएको छ ।

घरमा नेपाली तथा खाम लगायत अन्य भाषा बोल्ने भएकाले अंग्रेजी बोल्ने वातावरण बनाउन गाह्रो छ र विद्यार्थी धेरै भएकाले अपेक्षित शिक्षण सिकाई क्रियाकलाप हुन सकेका छैनन् । तर भुईंमा फोहोर खस्न नदिने र विद्यार्थी आफैले टिप्ने दृश्यले भने मलाई सबै भन्दा हर्षित बनाएको छ ।