• मंसिर १५ २०८१, शनिबार

गोंगबुँ भैरव बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा सम्पन्न

माघ २१ २०७९, शनिबार

काठमाडौं । काठमाडौंको गोंगबुँमा अवस्थित गोंगबुँ भैरव बहुउद्देश्यीय सहकारीको दोस्रो वार्षिक साधारणभा सम्पन्न भएको छ । सो सहकारीका अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष रामभक्त घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कृष्णबहादुर केसीलाई उच्चतम बचतकर्ता, दामोदर ढकाललाई असल ऋणि, रामभक्त घिमिरेलाई कृतज्ञता, मल्लिका राईलाई असल बाल बचतकर्ता र खिरबहादुर पौडेललाई असल बचतकर्ताको रुपमा सम्मान गरियो । साथै सो अवसरमा विभिन्न शेयर सदस्यहरुलाई सम्मानपत्र बाट सम्मान गरियो ।

सो अवसरमा सहकारीका अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठले देशको आर्थिक अवस्था तरलतामा गइरहेको बेला आफ्नो सहकारीले सरल तरिकाले ऋण दिने र बचत गर्ने गरिरहेको बताए । साथै उनले टोखा नगरपालिकासित सहकार्य गर्न चाहेको र त्यसका लागि ‘सहकारी मेरो साथी’ कार्यक्रम चलाउने मनसाय आफूहरुको रहेको बताए ।

सभामा ९ नम्बर वडाका अध्यक्ष रामभक्त घिमिरेले जनताको सानो सानो पूँजी संकलन गरेर स्थापना भएको यो सहकारीले आज स्थानीय जनताको समस्या टार्ने र व्यवसायमा टेवा दिइरहेकोमा खुशी व्यक्त गर्दै यस संस्थालाई आफ्नो र वडाकार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने वचन दिए । साहित्यकार दामोदर ढकालले गोंगबुँ भैरव सहकारी साहित्यकारहरुको प्रिय संस्था भएको बताए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्णबहादुर केसीले यो सहकारीको जम्मा झण्डै ९२ लाख बराबरको सम्पति रहेको र २०८० असार मसान्तसम्म शेयर पूँजी एक करोड, निक्षेप संकलन ६५ लाख र ऋण लगानी १ करोड ८५ लाख पुर्याउने लक्ष लिइएको जानकारी गराए ।