नेपालका सात प्रदेशहरू मध्ये बागमती प्रदेश पनि एक हो । बागमती प्रदेशका १३ जिल्लाहरू मध्येको एक हो काभ्रे । यो जिल्लाको पूरा नाम काभ्रेपलाञ्चोक हो । काठमाडौँ उपत्यकाको पूर्वपट्टी महाभारत श्रृंखलामा पर्ने मध्येपहाडी जिल्ला काभ्रे हो । यो जिल्ला घुलिखेलको काभ्रे कोट र पलाञ्चोक गरी त्यतिखेरको प्रसिद्ध थुमको संयुक्त नामबाट काभ्रेपलाञ्चोक भएको हो ।
यो जिल्लाको पूर्वमा रामेछाप र सिन्धुली, पश्चिममा काठमाडौं उपत्यका, उत्तरमा सिन्धुपाल्चोक र दक्षिणमा मकवानपुर पर्दछन् । यस जिल्लाका प्राचीन सात बस्तीहरू बनेपा, नाला, पनौती, साँगा, धुलिखेल, श्रीखण्डपुर र चौकोट कला संस्कृतिका लागि प्रख्यात छन् । भाषा वंशावली अनुसार यी बस्तीहरु, आनन्ददेवले विसं ११५३ मा काभ्रेका सातवटा शहरहरूलाई व्यवस्थित गरेको र देशको रूपमा बनाएको देखिन्छ । देश भन्नाले नेवारीमा व्यवस्थित शहरको रूपमा बुझ्नु पर्दछ ।
यी सातवटा व्यवस्थित शहरहरुमध्ये चौकोट पनि एक हो । अझ स्पष्टरूपमा भन्नु पर्दा यस शहरलाई पृथ्वीनारायण शाहले आफ्नो कब्जामा लिनलाई गोरखाली फौजका १३१ जना सिपाही गुमाउनु परेको थियो भन्ने इतिहास छ । त्यहाँ झण्डै १५ दिनसम्म लडाइँ चलेको कुरा इतिहासमा अंकित छ ।
चौकोटमा विभिन्न जात्राहरु रहेका छन् । हिजोआज यो शहर निकै नै खुम्चिए पनि यसको आफ्नै वैभवशाली इतिहास छ । श्रीखण्डपुर भन्दा थोरै दक्षिणमा रहेको चौकोटबाट त्यहाँको इतिहास बोकेका नागरिक आआफ्नो सुविधाको लागि अत्यन्त्र सरेकाले शहर सुनसान देखिन्छ । पुनौती नगर भित्र परेको चौकोटलाई सो नगरपालिकाले पनि त्यहाँका ऐतिहासिकता, साँस्कृतिक सम्पदाहरूलाई जीवन्त पार्ने खासै काम गरेको देखिंदैन ।
चौकोटका विभिन्न जात्राहरु :
क) गणेश जात्रा
गणेश जात्रा चौकोटबासीको मुख्य जात्रा हो । यो जात्रा चार दिनसम्म मनाइन्छ । हरेक वर्ष चैत्र महिनाको अन्तिमका चार दिन अगाडिदेखि शुरु भई सञ्चालन गरिन्छ । चौकोट शहरलाई चारैतिरबाट गढ (पर्खाल) घेरिएर राखिएको थियो भन्ने स्थानीय बुढापाकाहरूले बताउँछन् । शहरभित्र छिर्न चारतिरबाट चारवटा कलात्मक ध्वाका (ढोका) थिए । तिनै ध्वाका भित्रका टोलहरूमा गणेशको जात्रा भव्य रुपमा मनाइन्छ ।
जात्राको शुरुको दिन गुठीयारहरु उपस्थित भई गणेश मन्दिरमा एउटा भाले भोग दिइन्छ । त्यसपछि समयबजी बनाई सबैलाई दिएर प्रसादको रुपमा खान्छन् । यसलाई नेवारी भाषामा ‘द्यो क्वहँ बिज्याइगु’ भनिन्छ । उक्त दिनभरि गणेशको भजन गाउने चलन छ । चैत्रको मसान्तमा गणेशको मूर्ति मन्दिरमा रहेको होइन घरमा रहेको धातुको मूर्ति मन्दिरमा राखिन्छ । सबै शहरका मानिसहरूले पूजाआजा गर्ने र आफ्ना इष्टमित्रहरुलाई पाहुनाको लागि बोलाई भोज ख्वाउने गरिन्छ ।
बैशाख १ गते गणेशको मूर्तिलाई रथमा राखेर बाजागाजाका साथ हर्षोल्लास गरि जात्रा गरिन्छ । जात्रा चौकोटको चार ध्वाका भित्र मात्र गरिन्छ । आआफ्नो टोलमा जात्रा आए पछि पूजा गरिन्छ । जात्राको चार दिन पछि ‘द्यो थंह विज्याईगु’ भनेर गणेशलाई पूजा गरी लशकुश गरि घरमा लगिन्छ र जात्रा समाप्त हुन्छ । यस जात्रामा उहिले पनौतीको आँचाजु (कर्मचार्य) र भक्तपुरको बाहुन (नेवा बाजे) आई पूजा गर्ने गरिन्थ्यो । हिजो आज यस्तो परम्परा बन्द भएको छ ।
ख) गाई जात्रा :
गाईजात्रा चौकोट शहरमा पनि गाईजात्रा मनाइन्छ । चौकोटका कुनै पनि मरेको मानिसको घरबाट ताहासा, गाई अथवा मरेको मानिसको फोटो राखी सानो रथ बनाई घुमाउने गरिन्छ । यो घुमाउँदा पनि चौकोटको चारवटा ध्वाका भित्रमात्र घुमाउने चलन छ l विभिन्न बाजागाजा बजाई गाईजात्रा मनाइन्छ ।
ग) कृष्णको जात्रा :
कृष्णाष्टमीको दिन यो जात्रा गरिन्छ । यो जात्रा एक दिन मात्र मनाइन्छ । भगवान कृष्ण जन्मनु भन्दा एक दिन अगाडि कृष्णको मूर्तिलाई छोपेर राखिन्छ र भोलीपल्ट छोपेको हटाएर सबैले पूजाआजा गरिन्छ । कविप्रसाद गौतमले स्थापना गरिएको धर्म खम्बामा कृष्णको मूर्तिलाई प्रदर्शन गरिन्छ । कृष्णको कुनै पनि मन्दिर बनाइएको छैन । स्थानीयको घरमा नै मूर्ति राखिन्छ । कृष्ण जन्माष्टमीमा रथमा राखी बाजागाजाका साथ भक्तहरूले हात हातमा धूप बाली चार वटा ध्वाका भित्र कृष्णको जात्रा गरिन्छ ।
घ ) भीमसेनको जात्रा :
यो जात्रा बडादशैंमा गरिन्छ । नवमीको दिन, घरबाट भिमसेनको मूर्तिलाई मन्दिरमा लगिन्छ । त्यसपछि चौकोटवासीहरु यसलाई पूजा गर्दछन् । दशमीको दिनमा तल्लोटोलका बासीले भिमसेनलाई बोका बली दिन्छन् । दशमी कै दिनमा भिमसेनलाई रथमा राखि चौकोट चार ध्वाका भित्र जात्रा गरिन्छ । जात्रामा बाजागाजा बजाई निकै हर्षोल्लासका साथ परिक्रमा गरिन्छ । यो भीमसेनको मूर्ती चोरी भैसकेको छ l
ङ ) नवदुर्गा जात्रा :
यो जात्रा भक्तपुरबाट हरेक साल ल्याउने देवी नाच हो । मुकुट लगाएर बाजाको तालमा नाँचिन्छ । यो एक किसिमको गण नृत्य हो । नेपालको सबैभन्दा लामो समय लगाएर विभिन्न स्थानमा नाँचिन्छ । काभ्रेमा नाला, बनेपा, धुलिखेल, साँगा, पनौती, श्रीखण्डपुरमा पनि फरक फरक समयमा नाचिन्छ । चौकोटमा नवदुर्गा गणहरु मध्ये गणेश, कुमार, सिम्ह, दुम्ह गरी चारजना आउने र दिनभरि पूजाआजा तथा नृत्य गरिन्छ । ।
चौकोटमा यी जात्राहरू बाहेक दशैँ, तिहार, जस्ता चाडपर्वहरू पनि मनाइन्छ । हिजो आज यहाँ विशेष गरी नेवार समुदायका सदस्यहरू विभिन्न स्थानमा बसाई सरेको हुनाले विभिन्न जात्राहरूमा रौनकता कमी हुँदै गएको महशुस हुन्छ । पनौती नगरपालिकाले पनि यस क्षेत्रको लागि ध्यान दिएको पाईंदैन । वास्तवमा यहाँका समुदायले अबका दिनमा फेरि एक पटक जागरण ल्याई यसक्षेत्रको साँस्कृतिक सम्पदालाई बचाउन आजको आवश्यकता हो ।
बनेपा–४ नाला, काभ्रे हाल, गोंगबु काठमाडौं ।