• मंसिर ११ २०८१, मंगलवार

श्रीस्वस्थानी व्रतकथाको सार के हो ?

माघ २० २०७९, शुक्रबार

हरेक वर्ष पौष शुक्लपूर्णिका दिनदेखि माघ शुक्लपूर्णिमासम्म एक महिना साँखुको शाली नदीमा आदिशक्ति श्रीस्वस्थानी माताको व्रत बस्ने र कथा भन्ने परम्परा रहिआएको छ । त्यहाँस्थित माधवनारायण देवताको पूजा गर्ने र जात्रा पनि गरिन्छ ।

साँखुको नारी नदीलाई नादी नदी, शाली नदी, शैले नदी, नालन्दी र नारायणी पनि भन्ने गरिन्छ । यो शालीनदी कोही साल महाराज मणिचुड बसेको स्थान मणिचुड दह माणिशैलबाट बगेर आइरहेको हो भनिन्छ । यो साँखु देश बज्रयोगिनी देवीको आज्ञा अनुसार राजा शंखदेव र पुजारी जोगदेव बज्राचार्य मिलेर कलिगत सम्वत १८०१ मा नौवटा दह, नौवटा विहार, चारवटा खाल, चारवटा कुण्ड र चारवटा ढोका समेत निर्माण गराएर स्थापना गरिराखेको हो भनिन्छ ।

महिनाभरी श्रीस्वस्थानी माताको कथा भन्ने क्रममा स्वस्थानी परमेश्वरीको पूजा गरेर श्री सत्यनारायणको पनि व्रत बसेर महादेव र नारायणको पनि पूजा गर्ने गरिन्छ । महिलाहरूले महिनाभरी व्रत बसेर नुन समेत नखाई दिनहुँ फलाहार मात्र खाई त्यहीँ बस्ने गर्छन् । पुस माघ जस्तो जाडो समयमा दिनहुँ बिहान सबेरै शाली नदीमा नुहाएर दिनहुँ रात्री पनि यहीँ स्वस्थानीको भक्तिभाव गरी कथा सुनेर बस्ने गर्दछन् । व्रत बस्ने महिलाहरुले रातो फरिया लगाउने गर्छन् ।

श्रीस्वस्थानीको कथामा यो संसारको श्रृष्टि भएदेखिका कुरालाई लिएर मधुकैटभको वध विष्णु भगवानले गरिसकेपछि ती दैत्यको शरीरबाट पहाड र जमिन बनेको अनि दक्ष प्रजापतिलाई ब्रम्हाले श्रृष्टि गरेर मानिसहरुको श्रृष्टि चलाएको कुरा रहेको छ । दक्ष प्रजापतिकी ठूली छोरी सतिदेवी सहित धेरै संख्यामा छोरीहरू भएकाले सबै छोरीहरूको विवाह भगवान विष्णुका साथै तेत्तिसकोटी देवताहरूसँग गरिदिए ।

सतिदेवी एउटी मात्र दक्ष प्रजापतिलाई मन नपर्ने महादेवसँग विवाह भएको रहेछ । भाङ, धतुरो खाने, नन्दी, भृंगी, भूतप्रेत, पिशाच पछि लगाएर हिंडने, बाघको छाला बेरेर जथाभावि हिंड्ने, हेर्दै अघोरी जस्ता महादेवले छलकपट गरेर सतिदेवीसँग विवाह गरेकाले दक्ष प्रजापतिलाई मन नपरेको हो भन्ने कुरा पनि श्री स्वस्थानीको कथामा रहेको छ ।

दक्ष प्रजापतिले कोटीहोम गर्दा मन नपर्ने ज्वाईं महादेव र छोरी सतिदेवीलाई मात्र नबोलाई अन्य सबै छोरी ज्वाईंका साथै तेत्तिस कोटी देवता, नाग, नागिनी, यक्ष र किन्नर सबैलाई बोलाए । यो कुरा थाहा पाई सतिदेवीले आफ्नो र महादेवको अपमान भएको ठानी माइतीमा गई होम गरिरहेको स्थानमा धेरै रिसाएर आदि शक्ति स्वरूप उग्ररूप लिंदा देवताहरु त के कोही पनि अगाडि बस्न सकेनन् ।

भयंकर प्रलय जस्तै भइरहेको उक्त समयमा स्वयम् महादेव पनि सतिदेवीको उग्ररुप सामु बस्न नसकेर भाग्नु पर्यो । महादेव जहाँ जहाँ भागे त्यहीँ त्यहीँ विभिन्न रूप लिएर सतिदेवीले छेक्न गइन् ।

यसरी छेक्दाछेक्दै दश स्थानमा अर्थात् दश दिशामा दशवटा रूप, काली, तारा, छिन्नमस्ता, धुमावती, बंगलामुखी, कमला, भुवनेश्वरी, त्रिपुरासुन्दरी र मातंगी हुन गए । यसैलाई दश महाविद्या भनियो । यो कुरा महाभागवतको कथामा उल्लेख गरिएको छ । यसरी भाग्दा भाग्दा केही सिप नलागि जब महादेव भूइँमा उत्तानो पारिदिन्छन्, तब त्यही बेला डरलाग्दो कालीरूप लिइरहेकी सतिदेवीको पाइला महादेवको छातीमा पर्छ ।

आफ्नो पाइताला मुनी के पर्न आयो भनि कालीरूप सतिदेवीले हेर्दा त महादेवलाई देख्ने बित्तिकै झस्केर त्यसपछि शान्त भई आफ्नो वास्तविक सतिदेवीको रूपमा पालित भई यज्ञमा गई आफैले आगोको ज्वाला प्रकट गरेर आपको प्राण त्याग्छिन् । आगोले पनि हुन नसकेको सतिदेवीको मृत शरिर बोकेर महादेव विभिन्न स्थानमा गइरहँदा सतिदेवीको विभिन्न अंग सडेर खसेको ठाउँमा विभिन्न शक्तिपीठ बनेका हुन् भन्ने मान्यता रही आएको छ ।

श्रीस्वस्थानी कथामा लेखिए अनुसार ती शक्तिपीठमध्ये काठमाडौंमा रहेको गुह्यश्वरी शक्तिपीठ एक हो । पछि पर्वतराज हिमालय र मेनकाको गर्भबाट पुत्रीको रूपमा पार्वतीले जन्म लिएपछि महादेव पति पाउँ भनि श्री स्वस्थानीको व्रत बसी महादेव पति प्राप्त गरेकी हुन् भन्ने कथा छ । श्रीस्वस्थानीको व्रत बसेको प्रभावले नै महादेव पति प्राप्त भएको र संसारका दुःखहरुको उद्धार गर्न महादेवको आज्ञा लिइ पार्वतीले रसातल, पाताल र मत्र्यलोकमा श्रीस्वस्थानीको प्रचार गरेको कुरा कथामा उल्लेख गरिएको पाइन्छ । त्यसैको स्मरण स्वरूप यो परम्परा हालसम्म पनि चल्दै आइरहेको हो भनिन्छ ।

काठमाडौंमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलको तारिणी बहालमा छ । महादेव सहितको त्यस मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल सम्वत ७९४ का स्थापना गरेको कुरा मूर्तिको खुट्टामा उल्लेख गरिएको छ । हरेक वर्ष साँखुमा श्री विद्या भवानीको व्रत बस्ने महिलाको संख्या सय भन्दा बढी हुने र त्यो संख्या हरेक वर्ष बढ्दै गइरहेको देखिन्छ । व्रत बस्नेहरु भक्तपुरको चाँगुनारायण, पनौतीको त्रिवेणीघाट, काठमाडौंको पशुपति र फर्पिङको शेषनारायणसम्म नाङ्गै गोडाले हिंडेर गई ती स्थानहरुमा एक एक दिन बास बहने परम्परा छ । यसरी जानुलाई परदेश जाने भनिन्छ ।

देशका विभिन्न स्थानमा विभिन्न किसिमले श्रीस्वस्थानीको व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्दा महिलाहरुलाई लायक, सुन्दर र असल पति प्राप्त हुने र मनका सम्पूर्ण इच्छा पूरा हुने अनि विवाह भैसकेका महिलाका पति र घर परिवारमा शुभ भै घरमा राम्रो हुने जनविश्वास छ । देशैभर यसरी श्रीस्वस्थानीको व्रत बसेर कथा सुन्ने र सुनाउने गरेमा घरमा शान्ति हुन्छ भन्ने पछि जनविश्वास छ ।

साँखुमा केटाहरूले पनि व्रत बसेर अष्टमातृका देवीको आरधना गर्ने र महिलाहरुले सहस्रधारा बगाउँदै बज्रयोगिनी देवीलाई क्षमा पूजा गर्दछन् । माघ महात्म्य गर्ने भन्दै टोलैपिच्छे सहस्रधारा बगाउँदै तीर्थमा नुहाएर परिक्रमा गर्दछन् । तर अब यो परम्परा कम भैसकेको छ । तर साँखुमा भने यो परम्परा कायम रहेकै छ ।
त्यस्तै पाटनको थेचोमा भने यो परम्परा अझै बाँकी छ । थेचोमा माघ महात्म्य परिक्रमा गर्दा दश अवतार प्रदर्शन गरेर सवा लाख सहस्रधारा बगाउँदै जात्रा मनाउने परम्परा छ । श्रीस्वस्थानीको कथा भन्ने सुरु भएदेखि नै माघ महात्म्य जात्रा सुरु हुन्छ । यो दिन थेचोवासीहरुले कुलदेवता पूजा, वृहस्पतिको जात्रा र माघ महात्म्य एकैचोटी मनाइनाले यसको विशेष महत्व रहेको छ ।

विहानैदेखि मनाइने यो जात्रामा जल बगाउन जाने भनी व्रत बस्ने महिलाले आफ्नो शरीरमा पाल्चा (दियो) बालेर थेचोका ब्रम्हायणी, बालकुमारी, नवदुर्गा, सत्यभैरव परिक्रमा गरेर अति नै श्रद्धाभक्तिका साथ थेचोका ज्यापूहरुले पात्रा चलाउँदै आएका छन् । यो जात्रामा लश अवतार साथ मनाइने भएकोले अत्यन्तै रमाइलो हुन्छ । देगु, पूजा, माघ महातम्य र वृहस्पति जात्रा पनि भएकोले यो थेचो जात्रालाई एक थेचो तीन जात्रा पनि भनिन्छ । यो पात्रा कहिलेदेखि चल्दै आएको हो भन्ने ठोस प्रमाण नभएपनि मल्लकालदेखि मनाइँदै आएको हो भन्ने गरिन्छ ।